सिद्वार्थ बैंक आइएमई पे वालेटमा आबद्ध

सिद्वार्थ बैंक आइएमई पे वालेटमा आबद्ध


आइएमई पेका सेवाग्राहीहरूले अबदेखि सिद्वार्थ बैंक लिमिटेडको खातामा लिंक गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । सिद्वार्थ बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिंक गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउने बताइएको छ ।

सिद्धार्थ बैंकका सेवाग्राहीले ‘आइएमई पे’मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन र अफलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफरसम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्ने सम्बद्ध पक्षले जनाएको छ ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिद्वार्थ बैंकबीच ‘आइएमई पे वालेट’मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता पत्रमा गत फागुनमा भएको हस्ताक्षरअनुसार यस्तो सेवा प्रदान गर्न लागिएको हो भने सिद्वार्थ बैंक लिमिटेड ‘आइएमई डिजिटल’को बैंकिङ साझेदार संस्था हो ।

तेह्र हजारभन्दा बढी एजेण्ट आउटलेट सञ्जाल भएको आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२’ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो भने आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी बनेको छ ।

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।