हर्षैहर्ष वर्षा होस् अनेक नयाँ वर्षमा,
सुख शान्ति समृद्धि फैलियोस् जीवन कर्षमा
सेवा भाव जागृत होस् हरेक पल अंशमा,
अनन्त अमृत बर्षियोस् वशिष्ठ कुल वंशमा ।।
झमक्क झम्के–साँझमा प्रसन्न जून लम्किऊँ,
प्रखर पौरख पसिना समुन्नत सृष्टि चम्किऊँ
हिमाल शैलपुत्री यी नेपाल आमा हँसाऊँ,
अमर दिव्य पुरमा परमात्मा वास बसाऊँ ।।
सुरम्य रमण रहर भो सुरभी शैलीशिरमा,
को पर्न खोज्छ विरही विरक्त लाग्ने भिरमा
रवि शशि तारापुञ्ज नृत्याङ्गना नागर,
उमङ्गका छालमा मङ्गल हुन् सातैसागर ।।
उनान्चास मरुदगणका आकाश देउसी भैलो भो,
सभ्यता सृष्टि शिरमा आरम्भ आँगन नेपाल यो
एऽ आमा लौ न उघार ज्योतिको दैलो घरक्क,
बिर्सेर जाने बैगुनी फर्केर आउन् फरक्क ।।
भन्छु जय नेपाल– हिरालाल तण्डुकार
मेरै सगरमाथा छैन मैले चढेको,
हिमालको हिउँ कस्तो हुन्छ ? छैन मैले छोएको ।।
मेरै नेपाल सकल छैन मैले घुमेको,
को कहाँ के–कस्ता छन् छैन मैले जानेको ।।
हिमाल, पहाड, तराई मैले बुझेको एकै,
यी अलग–थलग भएको छैन मैले देखेको ।।
के हो जनसेवा छैन मैले जानेको,
तथापि हिँड्छु सक्दो मद्दत गरी सबैको ।।
दुखाइनँ जस्तो लाग्छ देशहितमा कपाल,
तैपनि भन्छु म सबैलाई ‘जय नेपाल’ ।।
– थापाथली, काठमाडौं
प्रतिक्रिया