०४८ को महाधिवेशन र जनयुद्ध

०४८ को महाधिवेशन र जनयुद्ध


bicharइतिहास—अर्जुन मल्ल
०४८ मा भएको एकता महाधिवेशनमा प्रचण्डको राजनीतिक प्रतिवेदनमा फरक मत राख्नेहरूमा निर्मल लामा, रूपलाल विश्वकर्मा, श्याम श्रेष्ठ, गिरिराजमणि पोखरेल, रवीन्द्र श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, विनबहादुर कुँवर थिए । श्याम श्रेष्ठको कम्युनिस्ट पार्टी विघटन गरेर कम्युनिस्ट पार्टी तयारी केन्द्र बनाउनुपर्ने प्रस्ताव, गिरिराजमणिको जनवादी केन्द्रीयताको फ्युजन गर्नुपर्ने प्रस्ताव र विनबहादुरको प्रधान अन्तरविरोध भारतीय विस्तारवाद र घरेलु प्रतिक्रियावाद दुवैसँग हुन्छ भन्ने प्रस्ताव थियो ।
मुख्य विवाद भने क्रान्ति गर्ने तरिका कस्तो हुन्छ भन्ने विषयमा थियो । निर्मल लामाले अल्पकालीन सहरीया सशस्त्र विद्रोहको तरिका अर्थात् रुसी क्रान्तिको जस्तो नेपालका सहर र जिल्ला सदरमुकाममा एकैचोटि सशस्त्र विद्रोह गरेर सत्ता कब्जा गर्ने बाटो हुनुपर्ने दस्तावेज पेस गरे । रूपलालले चीनको जस्तो दीर्घकालीन जनयुद्धकै बाटो तर नेपालमा चीनको जस्तै आधारइलाका बन्न सक्दैन–अर्थात् आधारइलाकाबिनाको दीर्घकालीन जनयुद्धको बाटो पेस गरे । नारायणकाजीले अलग दस्तावेज पेस गरेनन् तर केन्द्रीय समितिको बैठकमा उनले नेपालमा क्रान्ति अल्पकालीन सशस्त्र विद्रोहको तरिकाबाट हुन्छ कि दीर्घकालीन जनयुद्धको तरिकाबाट हुन्छ, अहिले नै भन्न नसकिने हुनाले अहिले जनयुद्धको तरिकाबाट मात्र भनौँ, अल्पकालीन वा दीर्घकालीन के हुन्छ, गर्दै गएपछि थाहा हुन्छ भन्ने प्रस्ताव मौखिक रूपमा राखेका थिए । महाधिवेशनमा भने एकचरण छलफल भएपछि निर्मल लामा र नारायणकाजीहरूले आफ्ना मत फिर्ता लिएर रूपलालको आधारइलाकाबिनाको दीर्घकालीन जनयुद्धको बाटो (कार्यदिशा)लाई समर्थन गर्न पुगे ।
प्रचण्डको प्रस्ताव भने यस्तो थियो–‘अहिलेसम्म अन्तर्राष्ट्रिय सर्वहारा वर्गले दुई आधारभूत रूपले भिन्न परिस्थितिमा सशस्त्र सङ्घर्षका दुई आधारभूत रूपले भिन्न रणनीतिको सफलता र वैज्ञानिकता प्रमाणित भएको अनुभव गरेको छ । ती हुन्–१) पुँजीवादी र साम्राज्यवादी देशमा पहिले सहर एवम् केन्द्रीय सत्ता कब्जा गर्ने सशस्त्र विद्रोहको २) उत्पीडित अर्धसामन्ती, अर्धऔपनिवेशिक एवम् नवऔपनिवेशिक देशहरूमा गाउँबाट सहर घेर्ने दीर्घकालीन जनयुद्धको रणनीति । ….हाम्रो पार्टीले कमरेड माओद्वारा विकास गरिएको जनयुद्धको सिद्धान्तमा आधारित हुँदै गाउँबाट सहर घेर्ने रणनीति भएको दीर्घकालीन जनयुद्धको बाटोलाई अङ्गीकार गर्दछ ।… यसको विकासको पहिलो चरणमा रणनीतिक रक्षा र कार्यनीतिक आक्रमण जसमा अनिवार्यतः छापामार युद्धको रणनीतिक भूमिका हुन्छ, यो अवधिमा घोषित अथवा अघोषित रूपमा आधारइलाकाको विकास हुन्छ । दोस्रो चरणमा रणनीतिक सन्तुलन र तेस्रो चरणमा रणनीतिक आक्रमण र कार्यनीतिक रक्षा हुँदै अन्तिम विजयमा गएर पूरा हुन्छ । यो नयाँ जनवादी क्रान्तिको अवधिका लागि जनयुद्धको सामान्य कार्यदिशा हो । हामी के कुरामा पनि स्पष्ट रहनुपर्दछ भने यो सामान्य कार्यदिशाका आधारमा अगाडि बढेर मात्र हामीले नेपाली क्रान्तिका विशिष्ट नियमको उद्घाटन र अनुसन्धान गर्न सक्नेछौँ । किनकि क्रान्तिकारी युद्धका नियमहरू क्रान्तिकारी युद्धमा भाग लिएर मात्र पत्ता लगाउन सकिन्छ । …..विशिष्ट राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिस्थितिमा सशस्त्र विद्रोहको सम्भावनालाई पनि अस्वीकार गर्न मिल्दैन । त्यसअनुसार त्यो सम्भावनालाई सही किसिमले उपयोग गर्न पनि हामीले गाउँबाट सहर घेर्ने दीर्घकालीन जनयुद्धको कार्यदिशामा अगाडि बढ्दै सेना निर्माण गर्ने कामको थालनी गर्नैपर्दछ ।’ (ऐतिहासिक दस्तावेजहरू, पृष्ठ २०३)
महाधिवेशनमा प्रचण्डको मशाल समूहका भईकन पनि रवीन्द्र श्रेष्ठले प्रचण्डको प्रस्ताव र रुसी र चिनियाँ क्रान्तिहरूको व्याख्या र बुझाइ अधुरो र अस्पष्ट रहेको भन्दै फरक मत मौखिक रूपमा राखे । उनले रुसको अल्पकालीन युद्ध (विद्रोह) र चीनको दीर्घकालीन जनयुद्ध भनेर समयको हिसाबले अल्पकालीन र दीर्घकालीन भनेर छुट्याउन नमिल्ने कुरा राखे, किनभने कति वर्षसम्म युद्ध चल्दा अल्पकालीन भन्ने र कति वर्ष चल्दा दीर्घकालीन भन्ने ? रुसमा पनि केन्दी्रय सत्ता कब्जा गरेपछि ग्रामीण क्षेत्रमा तीन वर्षसम्म जनयुद्ध चलेको थियो । के तीन वर्षलाई अल्पकालीन भन्न मिल्छ ? निर्मल लामाले भनेजस्तो कम्युनिस्ट पार्टीको नेतृत्वमा देशैभरि सहर र गाउँहरूमा एकैचोटि अल्पकालीन सशस्त्र विद्रोहबाट सत्ता कब्जा रुसमा पनि भएको होइन, अन्त पनि भएको छैन र नेपालमा पनि हुनेवाला छैन । रुसी क्रान्ति अल्पकालीन सशस्त्र विद्रोहबाट केन्द्रीय सत्ता र ग्रामीण सत्ता देशैभरि एकैचोटि कब्जा भएको भन्ने व्याख्या नै गलत हो । रुसमा पनि जनयुद्ध नै भएको हो । तर, चीनमाभन्दा फरक तरिकाले भएको थियो । राजधानीमा सशस्त्र विद्रोह गरेर केन्द्रीय सत्ता कब्जा गरेपछि त्यसलाई आधारइलाका बनाएर जिल्ला र गाउँहरूमा तीन वर्ष जनयुद्ध गरेर सबैतिर कब्जा गरेका थिए । चीनमा पहिला गाउँहरूमा जनयुद्ध गरेर सत्ता कब्जा गरी आधारइलाका बनाएर सहर घेर्दै अन्तमा सहर र राजधानीमा सशस्त्र विद्रोह गरेर केन्द्रीय सत्ता कब्जा गरेक थिए । त्यसैले रुसी क्रान्तिमा आधारइलाका थिएन भन्ने पनि गलत हो र आधारइलाकाबिना जनयुद्ध हुन्छ भन्नु पनि गलत हो । उनको थप भनाइ थियो– सर्वहारा वर्गको सैन्य सिद्धान्तलाई अल्पकालीन विद्रोह र दीर्घकालीन जनयुद्ध भनेर विभाजन गर्नु गलत हो– बरु जनयुद्धको सिद्धान्त भन्नुपर्दछ, यसमा रुस, चीन, भियतनाम, क्युवा, कोरिया, पेरु आदि सबैका आधारभूत सिद्धान्त र अनुभवहरू समेट्नुपर्दछ । नेपालमा रुसको जस्तो पहिला राजधानी र सहर कब्जा गरेर त्यहाँ आधारइलाका बनाई गाउँमा फैलने जनयुद्ध होइन कि चीनको जस्तो पहिला गाउँमा सत्ता कब्जा गरी आधारइलाका बनाई गाउँले सहर घेर्ने रणनीति र छापामार युद्धको रणनीतिक भूमिका भएको दीर्घकालीन जनयुद्धको बाटो अपनाउनुपर्दछ । तर, नेपालमा ग्रामीण भू–भागको जनयुद्धको मुख्य भूमिका हुँदाहुँदै पनि अहिलेको विश्व र नेपालका सहरको भूमिका पनि धेरै बढेको हुनाले सहरिया जनआन्दोलन र रुसी क्रान्तिका सहरिया सशस्त्र विद्रोहका कैयौँ नीति पनि नेपाली जनयुद्धको कार्यदिशामा समावेश गर्नुपर्ने (प्रयोग गर्नुपर्ने) हुन्छ । चीन वा रुसको यान्त्रिक अन्धानुकरण गर्नुहुँदैन तथा चीनको तरिकाले मात्रै पनि नेपालमा पुग्दैन ।
बादलले भने रवीन्द्रको मतलाई मध्यपन्थी सारसङ्ग्रहवादी भनेर कडा आलोचना गरे । रवीन्द्रलाई आफ्नो मत फिर्ता लिन दबाब दिन थाले तर उनले मानेनन् र प्रचण्डको प्रस्ताव र बादलको व्याख्या चीनको यान्त्रिक अन्धानुकरण र जडसूत्रवादी भएको भन्दै महाधिवेशनको माइन्युटमा फरक मत लिखित रूपमा दर्ज गराए । मोहन वैद्यले भने रवीन्द्रको मत सही छ भने । रवीन्द्रले पछि गल्ती गरे पनि त्यसबेला सही मत राखेका थिए ।
महाधिवेशनले प्रचण्डको प्रस्ताव बहुमतद्वारा पारित ग¥यो । प्रचण्डको प्रस्तावमा केही हेरफेर गरेर निम्न वाक्य थप्ने काम भयो– ‘यहाँ हामी यान्त्रिक अन्धानुकरणको प्रवृत्तिबाट पनि सतर्क रहनुपर्दछ । हाम्रो देशको विशिष्टता र विश्वको वर्तमान परिस्थितिमा सहरिया जनआन्दोलनको महत्व अवश्य बढेर गएको छ ।’ (दस्तावेजहरू पृष्ठ २५१)
चितवनको माडीमा सम्पन्न सो महाधिवेशनले प्रचण्ड महासचिव रहेको पुरुष मात्र रहेको केन्द्रीय समिति निर्वाचन ग¥यो । पुरुषवादी सामन्ती मानसिकताबाट नेताहरू माथि उठ्न सकेनन् । नयाँ केन्द्रीय समितिमा नयाँ पुस्तालाई ल्याउने नाममा खम्बसिंह कुँवर, भक्तबहादुर श्रेष्ठ, ईश्वरी दाहाल, देवेन्द्रलाल श्रेष्ठ, निनु चापागाईं, तुयुलाल, दिलबहादुर श्रेष्ठलगायतका पाका नेताहरू हटाइए । जनजातिसम्बन्धी, दलितसम्बन्धी, मधेससम्बन्धी, छुट्टै विशेष प्रस्तावहरू कुनै पनि नेताहरूले तयार पारेनन् । यसबाट नेताहरूको हिन्दू कथित उच्च जातीय पहाडिया अहङ्कारवाद स्पष्ट हुन्छ र उनीहरूको अदूरदर्शिता प्रमाणित हुन्छ ।
विभिन्न गम्भीर कमजोरी रहे तापनि दीर्घकालीन जनयुद्ध पारित हुनु, माओवादलाई पथप्रदर्शक मान्ने प्रस्ताव पारित हुनु तथा चार तयारी र चार सङ्र्घषको नीति पारित हुनु ऐतिहासिक महत्वको घटना थियो । चार तयारी भन्नाले सैद्धान्तिक राजनीतिक तयारी, संगठनात्मक तयारी, सङ्र्घषको तयारी र भौतिक तयारी थियो भने चार आन्दोलन भन्नाले देशभक्त र जनतान्त्रिक आन्दोलन, सहरिया आन्दोलन, ग्रामीण वर्गसङ्घर्ष र प्रतिरोधात्मक सङ्घर्ष थियो ।