जेनेभाबाट उद्यमी ढकालले गरे यस्तो अह्वान

जेनेभाबाट उद्यमी ढकालले गरे यस्तो अह्वान


उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई सम्बोधन गर्दै उनले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै लगानीका नयाँ र कैयौँ सम्भावनातर्फ विश्वका लगानीकर्ताहरूको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल रोजगारदाता परिषदको अध्यक्ष समेत रहेका ढकालले नेपाली उद्योगीका हैसियतमा सम्बोधन गर्दै नेपालले श्रमसम्बन्धी कानुनमा हालै सुधार गरेको र यसबाट श्रमिकका हक अधिकारहरूको सुनिश्चिततामा उल्लेख्य व्यवस्था गरिएकोले औद्योगिक उत्पादन र रोजगारी सृजनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको बताए ।

श्रमिकहरूको सामाजिक सुरक्षासहितका विषयलाई समेत समेटेर श्रम कानुनमा गरिएको पछिल्लो यस सुधारले औद्योगिक सम्बन्धको विकास र प्रवद्र्धनका साथै श्रमिकहरुका लागि कार्यक्षेत्रमा हुने सहयोगमा ठूलो सघाउ पु¥याउने अपेक्षा नेपालका उद्यामीहरूले गरेको उनले उल्लेख गरे ।

आर्थिक वृद्धिले मात्र पनि सामाजिक न्याय हुन नसक्ने भन्दै ढकालले आर्थिक विकासको प्रतिफल देशको तल्लो तहसम्म तथा निम्नवर्गका नागरिकसम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशिलताको दिगो विकास र उचित नीतिको ठूलो महत्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रुपान्तरणका लागि सघाउ पुर्याउने धारणा पनि उनले राखे ।

कुनै पनि देशमा र नेपालमा पनि श्रमिक र उनीहरुका संघ संगठनहरुको क्षमता अभिवृद्धि एक महत्वपूर्ण कार्य हो भन्दै औद्योगिक विकास, उत्पादकत्व वृद्धि, श्रमिकको हक अधिकारको संरक्षण र रोजगारीको सृजनामा यसले सहयोग पुऱ्याउने भन्दै यस्तो क्षमता अभिबृद्धिमा सबैको साझा चासो र अग्रसरताको अपेक्षा गरिएको पनि उनले बताए ।

जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्र यही मे २८ देखि जुन ८ सम्म उक्त सत्र सञ्चालन हुनेछ भने यस सत्रमा आइएलओका सदस्य रहेका विश्वका १८० भन्दा बढी देशका सरकार तथा राज्य प्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा र प्रतिनिधि तथा श्रमिक र श्रमिक नेताहरु गरी ४ हजार भन्दा बढीको सहभागिता बताइएको छ ।