मेरो देश मेरो लगानी

मेरो देश मेरो लगानी


nisedhप्रायः नेपालीमा आफ्नो मुलुकलाई लिएर ‘फ्रस्ट्रेसन’ छ । कतिले भन्छन्– हेर्दाहेर्दै देश त खत्तमै भयो ! ‘यो मुलुकमा बेकारै बसिएछ, पहिल्यै विदेशतिर पलायन भएको भए राम्रो हुन्थ्यो कि’ भन्ने भावना बढ्दै गएका मानिस पनि प्रसस्तै भेटिन्छन् । धेरैले भन्छन्, ‘यहाँ के छ र ?’ विदेश बसेर जीवन गुजारा गर्दै आएका धेरैले यो मुलुकलाई गाली गरेकै सुनिन्छ । अमेरिका बस्दै आएका एक परिचितले गत साता अकस्मातै भेटेपछि भने– ओ हो, कस्तो धुलो काठमाडौंमा, तपाईंहरू कसरी बस्नुहुन्छ ? म त माक्स नलगाई हिँड्नै नसक्ने रहेछु । बत्ती पनि गइरहने, कति कठिन जिन्दगी भन्दै उनले केहीबेर काठमाडांै र अमेरिकाको जीवनशैलीको तुलना गरे । उनीसँग यति मात्रै भन्न सकियो– अहिले काठमाडौंका बाटाहरू बनिरहेका छन्, घरहरू भत्काउने क्रम जारी छ, संरचनाहरू भत्काउँदा र बनाउँदा जहाँ पनि यस्तै हुन्छ । नयाँदिल्लीका सडक बनाउँदै गर्दा त्यहाँ पुगियो भने माक्स नै लगाएर हिँड्नुपर्ने अवस्था हुन्छ । अमेरिकामा पनि कुनैबेला त्यस्तो अवस्था आएको थियो होला । सबै कुरा बनिसकेपछि यहाँहरू पुग्नुभएकाले त्यो सब देख्नु र भोग्नुपरेन । मुलुकबाहिर बसेर देशको चिन्ता लिने, मुलुकलाई केही गर्न पाए हुन्थ्यो भन्ने र नेपालमा बसेकालाई त के थाहा छ र ? यिनीहरूसँग के छ र ? हामीजस्तो विदेश जाने अवसर नपाएर यी सबै नेपालमा बसेका हुन् भन्ने प्रकारको सोच राख्ने यी दुवै थरीको सङ्ख्या कम छैन । यी दुवै प्रवृत्तिभन्दा फरक अहिले विदेशमा बसेर उच्च शिक्षा हासिल गर्ने र आफ्नै मुलुक फर्किएर केही गर्ने सोच राख्ने युवाको सङ्ख्या पनि बढ्दै गएको छ । यस्तै सोच राख्ने युवामध्येका एक डा. सुदीप श्रेष्ठ अहिले ‘मेरो देश मेरो लगानी’ मिसन लिएर अघि बढेका छन् । सुदीप अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीमा काम गर्थे, हार्डवर्ड बायो मेडिकल साइन्स स्कुलमा ड्रग (इन्सुलिन) मेनिफ्याक्चररको रूपमा महिनाको लाखौँ डलर कमाउनु ठूलो कुरा थिएन । तर, बासस्थान फर्किएर जब नेपालबारे समाचार हेर्थे पढ्थे, झाडा पखालाले मानिस मरिरहेको, भोकमरीका कारण बच्चामा कुपोषण छाएको, उचित खाना र आराम नपाउँदा बिग्रिएको सुत्केरी र गर्भवती महिलाको स्वास्थ्य अवस्थाजस्ता कुराले उनलाई छोयो । उनलाई लाग्यो– मैले महिनाको लाखौँ डलर कमाएर के गर्नु ? मेरो देशको वास्तविकता त यस्तो छ भन्ने कुराले उनलाई घोच्न थाल्यो र उनी नेपाल फर्किए ।
प्रायः हामी नेपाली विदेशका जुनसुकै कुनामा पुगे पनि हामीसँगै हाम्रा एटिच्युडहरू पनि त्यहाँ पुगिरहेका हुन्छन् । एक–अर्कालाई होच्याउने, अरू होचिँदा आफू अग्लिएको महसुस गर्ने ‘हामी’भन्दा ‘म’लाई अगाडि सार्ने, आफू–आफूबीचमा नै दृश्य–अदृश्य, ईष्र्या र झैझगडा । विभाजित मानसिकताले यति धेरै काम गरेको छ कि विदेशमा पनि अब नेपालीभन्दा बढी एमाले, माओवादी, काङ्ग्रेस या यस्तै राजनीतिक दल या जातविशेषका प्रतिनिधिहरू नै भेटिन थालेका छन् । यो हामी कहिलेकाहीँ विदेश पुग्ने र विदेशमै बस्ने नेपालीको पनि अनुभव हो । यी सबै प्रवृत्तिहरूलाई चिर्दै नेपाल आउँदा डा. सुदीपसँगसँगै एउटा सपना पनि प्लेन चढेर आयो । देशका लागि नागरिक कर्तव्य गर्ने सपना, मुलुकको विकासमा इँटा थप्ने सपना । साथमा थियो अमेरिकन नेपाली एसोसिएसनले दिएको ढाडस, हिम्मत र सहयोग, समर्थन । अमेरिकाका नामी युनिभर्सिटीहरूमा उनले नेपालबारे गरिएका धेरै अनुसन्धान देखे, पढे । विदेशीका लागि नेपालमा भोकमरी र गरिबीको चाखलाग्दो तथ्याङ्क उनका लागि सधैं पीडादायी वास्तविकता बन्यो । उनलाई लाग्यो– म यहाँ बसेँ भने आफू मात्रै बन्छु तर नेपालमै फर्किएर केही गर्न सकेँ भने त्यो सबै नेपालीका लागि हुन्छ, देशका लागि हुन्छ । विदेशीको चन्दाले कहिल्यै पनि देश बन्दैन भन्ने मान्यता राख्ने सुदीपसँग नेपालीले अब आफैँले लगानी गरेर आफ्नो ठाउँको विकास गर्नुपर्छ भन्ने अवधारणा छ । जसले जति सक्छ त्यति लगानी गरेर काम गर्ने उनको सोचलाई सफलतासम्म पु¥याउनका लागि मुलुकका विभिन्न क्षेत्रमा सक्रिय पचासजना व्यक्तित्वले प्रमोटर संस्थापकको भूमिका निर्वाह गर्दै छन् । गाउँगाउँमा खाद्य सङ्कलन तथा प्रशोधन, आधुनिक कृषि, कृषिजन्य उत्पादनको बजार व्यवस्थापनदेखि उद्योगसम्म धेरै कुरा सो अवधारणामा समेटिएका छन् ।
कृषिप्रधान हाम्रो देशमा अहिले खानका लागि भारतबाट चामल आउँछ । तरकारी, फलफूल सबै भारतबाटै आउँछन् । आफ्नो बारी बाँझो राखेर युवा वैदेशिक रोजगारका नाममा मरुभूमिलाई हरियाली बनाइरहेका छन् । बेराजगारीका कारण निराश युवालाई मुलुकमै राजगारी दिन सक्यो भने अहिलेको अवस्थामा यो मुलुकका लागि आर्थिक टेवा मात्र होइन धर्म नै हुने अवस्था छ । इमानदार भएर काम गर्ने मान्छे भए लगानीको खाँचो हुने अवस्था पनि छैन । नेपालीसँग पैसा नभएको होइन, लगानी गरेर राम्रै हुन्छ भन्ने विश्वास मात्रै हुन नसकेको हो । मनमा यस्तो अविश्वास सिर्जना हुनका लागि धेरैसँग धेरै वास्तविकता साक्षी छन् । सबैभन्दा ठूलो समस्या त यो मुलुकको ब्युरोक्र्यासीमा छ । कसैले कुनै काम गर्न आँट्यो भने अनेक बाधा–अड्चन देखाइदिने । एउटा ठूलै उत्साह लिएर अघि बढेको मान्छे पनि यहाँको जटिल प्रशासनिक जालझेल र झन्झटबाट हार खाएर केही दिनमै निराश भएको पनि देखिएको छ । उदाहरणका लागि हाइड्रोपावरलाई लिन सकिन्छ । यो मुलुकमा बिजुली उत्पादनमा लगानी गर्न चाहने व्यक्ति, समूह र कम्पनीको कमी छैन । स्वदेशी, विदेशी सबै लगानी गर्न इच्छुक छन् । पहाडका फेद हुँदै खोला बिनाउपयोग बगिरहेकै छन् । लोडसेडिङका कारण मुलुक दिन र रातको लामै समय बिजुलीविहीन हुन्छ । जसका कारण भएका सानातिना उद्योग व्यवसाय पनि ठप्प हुन्छन् । जलस्रोतको धनी देश नेपालले भारतसँग बिजुली किन्न पाउनुलाई गौरवका रूपमा द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गरेको हेर्न हामी सबै बाध्य छौँ । तर, कसैले म बिजुली उत्पादन गर्छु मसँग पैसा, अवधारणा, योजना सबै छ भनेर अघि स¥यो भने उसलाई अगाडि बढ्न दिइँदैन । नेपालको प्रशासन र राजनीतिमा मुलुक बनाउने निस्वार्थ भावना भएका मानिसको कमी भएका कारण यस्तो भएको हो । अनेक झन्झटहरू बेहोर्नुभन्दा बरु केही नगर्नु बेस भनेर हात बाँधेर बस्न बाध्य बनाइएका अनेक उदाहरण यहाँ छन् । मुलुकबाहिर विज्ञता हासिल गरेर यो देशमै केही गर्छु भन्ने डा. सिमोन ढुङ्गाना, डा. सुदीप श्रेष्ठलगायतका व्यक्तित्वको जोस–जाँगर र सपना साकार हुन भनेको पलायन हुँदै गएको नेपाली बौद्धिक शक्तिको पुनरागमन पनि हो । विदेशीको कृपा या दयापूर्ण चन्दासँग मुक्ति र आत्मसम्मानसँग जोडिएको कुरा पनि हो ।