एथलेटिक्समा आर्मी च्याम्पियन

एथलेटिक्समा आर्मी च्याम्पियन


sportकेशरी चौधरीको तेहेरो राष्ट्रिय कीर्तिमान
नेपाल एमेच्योर एथलेटिक्स सङ्घको आयोजना भएको ३८औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता सम्पन्न भएको छ । तीन दिनसम्म चलेको उक्त राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिसकी केशरी चौधरीले आफूले स्पर्धा गरेका तीनवटै विधामा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । केशरीले १०० मिटर हर्डल्स, लङजम्प र ट्रिपलजम्पमा उक्त कीर्तिमान कायम गरेकी हुन् । मात्र पाँच दिनको प्रशिक्षणमा राष्ट्रिय प्रतियोगितामा उत्रिएकी केशरीले हर्डल्समा १५.५ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । यसअघि सविता चौधरीको नाममा १७.५ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । त्यस्तै लङजम्पमा पनि राष्ट्रिय कीर्तिमान कायम गर्ने क्रममा केशरीले ५.३६ मिटरको छलाङ लगाएर आफैँले कायम गरेको ५.२० मिटरको कीर्तिमानलाई भङ्ग गरेकी थिइन् । यसैगरी ट्रिपलजम्पतर्फ पनि नयाँ राष्ट्रिय कीर्तिमान राख्ने क्रममा केशरीले १२.१० मिटरले लामो छलाङ लगाएकी थिइन् । यो विधामा यसअघि केशरीले नै ११.६७ मिटरको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । यो प्रतियोगितामा केशरीले तीनवटै स्पर्धामा राष्ट्रिय कीर्तिमान कायम गरेर ऐतिहासिक सफलतासमेत हासिल गरेकी छिन् । केशरी यो राष्ट्रिय प्रतियोगितामा कीर्तिमान कायम गर्ने एक मात्र खेलाडी हुन् । आफूले पाएको सफलताप्रति खुसी प्रकट गर्दै केशरीले यो प्रदर्शनपश्चात् आफ्नो खेलमा अझै सुधार ल्याउने प्रोत्साहन मिलेको बताइन् ।
राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा विभागीय टोलीको वर्चश्व रहेको थियो । जसमा १०० मिटर पुरुषतर्फ नेपाल पुलिसका तिलकराम थारूले १०.६ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक जितेका थिए । थारूले पुलिसकै यामसाजन सुनुवार र आर्मीका मीनबहादुर चौधरीलाई पछि पारेका थिए । त्यस्तै महिलातर्फको १०० मिटरतर्फ पुलिसकै सावित्री नेपालीले स्वर्ण पदक जितेकी थिइन् । सावित्रीले एपीएफकी सविता चौधरी र आर्मीकी रामकुमारी चौधरीलाई पछि पारेकी थिइन् । यसैगरी पुरुषतर्फको पाँच हजार दौडमा आर्मीका कल्याण बानियाँले १५ मिनेट ०४.१ सेकेन्डमा दौड पूरा गरेर स्वर्ण पदक हात पारेका थिए भने आर्मीकै राजकुमार कार्की दोस्रो र एपीएफका किरणकुमार मल्लले तेस्रो स्थान हात पारेका थिए । त्यस्तै, महिलातर्फको पाँच हजार दौडमा एपीएफकी कान्छीमाया कोजूले १८ मिनेट २०.९ सेकेन्डमा उक्त दूरी पार गरेर स्वर्ण जितेकी थिइन् । उनकी प्रतिद्वन्द्वी अर्थात् छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता जुम्लाकी विश्वरूपा बुढाले दोस्रो स्थानमै चित्त बुझाउनुपरेको थियो । बुढाले उक्त दूरी १८ मिनेट ५८.४ सेकेन्डमा पूरा गरेकी थिइन् । बुढा स्वर्ण पदकबाट बन्चित भएपछि उनका प्रशिक्षक हरि रोकायले ‘यो नियमित प्रशिक्षणको अभावको नतिजा हो,’ भनेर टिप्पणी गरेका थिए ।
पुरुषतर्फको हाइजम्पमा एपीएफका बालकृष्ण चौधरीले बाजी मारेका थिए । चौधरीले १.९३ मिटर उफ्रेर स्वर्ण पदक जितेका थिए । हाइजम्पमा आर्मीका सूर्य खत्री दोस्रो र कास्कीका अमृत नेपाली तेस्रो भएका थिए । त्यस्तै, महिला हाइजम्पतर्फ आर्मीकी प्रभा चौधरी १.४५ मिटर उफ्रिँदै स्वर्ण पदक आफ्नो झोलीमा हालेकी थिइन् भने एपीएफकी शिला चौधरी र सुर्खेतकी तुलसी खत्री क्रमश: दोस्रो र तेस्रो भएका थिए । सटफुटतर्फ पुरुष र महिला दुवैमा आर्मीले बाजी मारेको थियो । सो स्पर्धामा आर्मीका बमबहादुर गुरुङले १२.१३ मिटर र अञ्जुकुमारीले ९.२५ मिटर सटफुट फाँकेर स्वर्ण पदक जितेका थिए । पुरुषतर्फ आर्मीका धीरेन्द्रजंग शाह र पुलिसका नरेन्द्रजंग शाह क्रमश: दोस्रो र तेस्रो भएका थिए भने महिलातर्फ पुलिसका हिरण चौधरी र बाँकेकी पार्वती जोशी रजत र कास्य पदक जितेका थिए । यसैगरी ज्याभलिन थ्रोमा पुरुषतर्फ आर्मीका धीरेन्द्र शाहले ५६.१७ मिटर फ्याँकेर स्वर्ण पदक जितेका थिए भने एपीएफका बालकृष्ण चौधरीले रजत र पुलिसका नरेन्द्रजंग शाहले कास्य पदकमा चित्त बुझाएका थिए । त्यस्तै महिलातर्फ आर्मीकै रिभा चौधरीले ३२.९९ मिटर फ्याँकेर पहिलो स्थान हात पार्दा आर्मीकै अमृता महतो र पुलिसकी बसन्ती चौधरीले क्रमश: रजत र कास्य जितेका थिए ।
यसैगरी १५ सय मिटर दौडमा पनि विभागीय टोलीको नै वर्चश्व रहेको थियो । आर्मीका कल्याण बानियाँले तीन मिनेट ५८.१ सेकेन्ड लगाएर स्वर्ण पदक जितेको उक्त समूहमा एपीएफका गोपी चन्द र मोतीलाल चौधरीले रजत र कास्य पदक जितेका थिए । त्यस्तै, महिलातर्फ एपीएफकी विन्द्रा श्रेष्ठले पहिलो स्थान हात पारेकी थिइन् । विन्द्राले उक्त दूरी दूरी मिनेट ५८.९ सेकेन्डमा पार गरेकी थिइन् । दोस्रो र तेस्रो स्थान क्रमश: आर्मीकी लक्ष्मी पाण्डे र एपीएफकी गीता खत्री हात पारेका थिए । यसैगरी चार सय मिटर दौडमा आर्मीका दशिराम चौधरी र एपीएफकी दिलमाया कार्कीले बाजी मारेका थिए । दशिरामले ५०.६ सेकेन्ड र दिलमायाले ५९.४ सेकेन्डको समय निकालेका थिए । सो समूहमा पुरुषतर्फ कास्कीका विनोद गुरुङले रजत र हरिलाल चौधरीले कास्य पदक जितेका थिए । त्यस्तै महिलातर्फ पुलिसकी मनप्रित विष्ट र सुर्खेतका राधेराजीले क्रमश: दोस्रो र तेस्रो स्थान हात पारेका थिए । त्यस्तैै पुरुषतर्फको हर्डल्समा पुलिसका धीरेन्द्र चौधरीले स्वर्ण, एपीएफका सन्तोषकुमार चौधरीले रजत र आर्मीका विशेष महतोले कास्य पदक जितेका थिए ।
त्यस्तै १० हजार मिटरतर्फ आर्मीका राजकुमार विष्टले स्वर्ण पदक जित्दा आर्मीकै लेटरसिंह खत्री र एपीएफका किरणकुमार मल्लले रजत र कास्य जितेका थिए । राजकुमारले उक्त दूरी ३१ मिनेट ५९.५ सेकेन्डमा पार गरेका थिए । यसैगरी महिलातर्फको १० हजार मिटरमा एपीएफकी कान्छीमाया कोजूले ३७ मिनेट २५.५ सेकेन्डमा उक्त दूरी पार गर्दै स्वर्ण पदकमाथि कब्जा जमाएकी थिइन् । छैटौँमा स्वर्ण पदक विजेता जुम्लाकी विश्वरूपा बुढाले रजत र एपीएफकी सोनुजया राईले कास्य पदक जितेकी थिइन् । त्यस्तै आठ सय मिटरतर्फ आर्मीका मोतीलाल बोहोरा, एपीएफका गोपी चन्द र कास्कीका विनोद गुरुङले क्रमश: स्वर्ण, रजत र कास्य पदक जितेका थिए । दुई सय मिटरतर्फ पुलिसका यामसाजन सुनार र महिलातर्फ एपीएफकी दिलमाया कार्कीले स्वर्ण पदक जितेका थिए । यामले २२.२ सेकेन्ड र कार्कीले २६ सेकेन्डमा दूरी पार गरेका थिए । त्यस्तै ट्रिपलजम्पमा आर्मीका डिल्ली खत्रीले १४.१३ मिटर फ्याँकेर स्वर्ण पदक जितेका थिए । डिस्कस थ्रोमा पनि आर्मीले नै बाजी मारेको थियो । आर्मीका ताराबहादुर कार्कीले ३६.४५ मिटर फ्याँकेर स्वर्ण पदक जितेका थिए । महिलातर्फ पुलिसकी हिरण चौधरीले ३१.२० मिटर फ्याँकेर स्वर्ण पदक जितेकी थिइन् ।
२८ स्वर्ण पदक रहेको राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले १२ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो । त्यस्तै, पुलिस र एपीएफले समान नौ–नौ स्वर्ण पदक जितेका थिए । पहिलोपटक टिम च्याम्पियन बनेको आर्मीले ट्रफी उचाल्दा पाँच विकास क्षेत्र र विश्वविद्यालय खेलकुद स्वर्णविहीन बनेका थिए । विभागीय टिमहरूको दबदबा रहेको ३८औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पुलिसकी केशरी चौधरीले प्राप्त गर्दै नगद दश हजार प्राप्त गरेकी थिइन् ।

अनाथलाई तेक्वान्दो पोसाक वितरण
लवप्रसाद सुधार केन्द्रमा रहेका अनाथ बालबालिकालाई नि:शुल्क तेक्वान्दो पोसाक वितरण गरिएको छ । अमेरिकामा रहनुभएकी तेक्वान्दो प्रशिक्षक कौशिला खनालको सहयोगमा १९ जना बालबालिकालाई आवश्यक पोसाक वितरण गरिएको हो । आलापोट गाविसमा अवस्थित वायोका सामुदायिक विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रममार्पmत पोसाक वितरण गरिएको थियो । नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य हरिश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं जिल्लाको पूर्वी क्षेत्रका दुईवटा डोजाङ र दुईवटा विद्यालयका करिब एक सयभन्दा बढी तेक्वान्दो खेलाडीको बेल्ट टेस्ट (ग्रेडिङ) गरिएको थियो । कार्यक्रममा डेमोस्टे«सन पनि प्रदर्शन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा आलापोट गाविसका नेपाली काङ्ग्रेस, नेकपा एमाले, राप्रपा नेपाललगायतका राजनीतिक पार्टीका गाविसप्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पुरुषतर्पm बालगीताञ्जली विद्यालयका गोकुल श्रेष्ठ महिलातर्पm मूलपानी डोजाङकी सुष्मा तामाङ र उत्कृष्ट हुन सफल भद्रवास डोजाङका कविराज पुडासैनीलाई प्रमुख अतिथिले नगदसहित सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन डोजाङ प्रमुख अशोक खड्काले गरेका थिए ।

भारोत्तोलनमा कमल र तारा स्ट्रोङगेस्ट
नेपाली सेनाका कमलबहादुर अधिकारी प्रथम शालिमार महिला तथा पुरुष खुला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रोङगेष्ट र उत्कृष्ट भारोत्तोलक चुनिन सफल भएका छन् । सागका स्वर्ण विजेता कमलले यस प्रतियोगितामा आफूलाई सो उपाधिको दाबेदारको रूपमा प्रस्तुत गर्दै तीन राष्ट्रिय कीर्तिमानसमेत कायम गर्न सफल भएका छन् । महिलातर्फ स्ट्रोङगेष्टको उपाधि राष्ट्रिय कीर्तिमानधारी नेपाल प्रहरीकी तारा थापा र उत्कृष्ट भारोत्तोलकको उपाधि उत्तम खत्रीले प्राप्त गरेका छन् ।
नेपाल प्रहरीकी राज्यलक्ष्मी थापा र लक्ष्मी वनले ‘शालिमार प्रथम महिला तथा पुरुष खुला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता– २०७०’ मा नेपाल प्रहरीका लागि राज्यलक्ष्मीले ६९ केजी तौलमा स्नाचमा ५० र क्लिन एन्ड जर्कमा ६५ केजीसहित कुलमा ११५ केजी तौल उठाउँदै स्वर्ण जितेकी थिइन् । त्यस्तै लक्ष्मी वनले ७५ केजी तौल समूहमा स्नाचमा ५२ केजी र क्लिनमा ६८ केजीसहित कुल १२० केजी भार बहन गर्दै स्वर्ण पदक प्राप्त गरेकी थिइन् । यसैगरी महिलाको ४८ केजी तौलमा सप्तरीकी कविता चौधरीले स्वर्ण पदक प्राप्त गरेकी थिइन् । उनले स्नाचमा ४५ केजी र क्लिनमा ५० केजीसहित ९५ केजी भार बहन गरेकी थिइन् ।
वीरगञ्जस्थित पौडीपोखरी तथा हेल्थ क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको पुरुषतर्फको खेलको ६२ केजी तौल समूहमा सिरहाका हेमशङ्कर चौधरीले स्नाचमा ७५ केजी, क्लिन एन्ड जर्कमा १०० केजी र कुलमा १७५ केजी भार बहन गर्दै स्वर्ण पदक प्राप्त गरेका थिए । ६९ केजीमा आर्मीका राजु रानाले स्वर्ण पदक पाए । उलने स्नाचमा १०० केजी, क्लिनमा १३० केजी र कुलमा २३० केजी उचालेका थिए । ८५ केजी तौलमा स्नाचतर्फ १०८, क्लिनमा १३० गरी कुल २३८ केजी भारका साथ आर्मीका दिनेश श्रेष्ठले स्वर्ण पदक जितेका थिए । ९४ केजीमा आर्मीका भैरवसिंह थापाले स्नाचमा ९५ केजी र क्लिनमा १३० केजीका साथ कुल २२५ केजी उठाउँदै स्वर्ण जितेका थिए ।
विजेता खेलाडीलाई प्रमुख अतिथि पूर्वमन्त्री एवम् मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको अन्तिम दिन भारोत्तोलन खेलको विकासमा योगदान पु-याउनुहुने नेपालगञ्ज निवासी प्रशान्त शाहलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । यस्तै वीरगञ्जनिवासी नीता थापालाई नगद १५ हजारले सम्मान गरिएको थियो । उनले ५६ सालमा राखेको ४८ केजी तौल समूहको कीर्तिमान अझैसम्म पनि कसैले तोड्न सकेका छैनन् । दुईदिने प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, स्टार क्यासिनो, वीरगञ्ज पौडी पोखरी तथा हेल्थ क्लब र १७ जिल्लाका २९ महिला र ६८ पुरुष खेलाडीको सहभागिता रहेको थियो ।

बक्सर नामसिंह सम्मानित
प्रथम ओलम्पियन बक्सिङ खेलाडी नामसिंह थापालाई नेपाल बक्सिङ सङ्घले सम्मान गरेको छ । परिषद्का कोषाध्यक्ष इन्द्रबहादुर थिङले थापालाई सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले थापालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । १९६४ मा जापानको राजधानी टोकियोमा सम्पन्न १८औँ ओलम्पिकमा उनले ५१ केजी तौल समूहमा पहिलोपटक नेपालबाट सहभागिता जनाउँदै अमेरिकी खेलाडीको सामना गरेका थिए । ब्रिटिस सेनाका अवकाश प्राप्त क्याप्टेन हङकङ च्यम्पियनसमेत रहिसकेका छन् । १४ वर्षको उमेरमा बक्सिङ खेल खेल्न सुरु गरेका थापाले ब्रिटिस सेनामा प्रवेशपश्चात् अस्ट्रेलियन प्रशिक्षकसँग दुई वर्षको प्रशिक्षण प्राप्त गरेका थिए । बुटवल निवासी थापाले सन् १९६० देखि ६५ सम्म पाँच वर्ष बक्सिङ रिङमा आफूलाई उभ्याएका थिए । कार्यक्रममा ओलम्यिन थापाले खेलमा मुख्यत: अनुशासन हुनुपर्ने र खेलाडी फिजिकल्ली फिट हुनुपर्नेमा जोड दिएका थिए । जीविकोपार्जनको क्रममा खेललाई निरन्तरता दिन नसकेको भन्दै आगामी दिनमा बक्सिङ खेललाई आफ्नोतर्फबाट सहयोग गर्ने बताए ।

बेलायतमा अर्को फुटबल क्लब
नेपालीहरू विदेशिने क्रम बढेसँगै विदेशमा नेपाली स्थापित हुने क्रम पनि बढ्दो नै छ । यसै क्रममा बेलायतस्थित नेपाली सामाजिक, राजनीतिक, व्यावसायिक रूपमा मात्र नभई खेल क्षेत्रमा पनि स्थापित हुने क्रम बढेको छ । हालै मात्र बेलायतस्थित नेपालीले बेलायतका दुई प्रमुख नदीको नाममा ‘थेम्स ली युनाइटेड’ नामक नेपाली फुटबल क्लब स्थापना गरेको छ । नेपाल प्रहरीका पूर्वअधिकृत शिवजी श्रेष्ठको अध्यक्षतामा स्थापित सो क्लबको उपाध्यक्षमा पवन खत्री, सचिवमा गंगाबहादुर राना, सहसचिवमा रामसुन्दर साह, कोषाध्यक्षमा कुल अर्याल, वेलफेयर अफिसरमा नारायणबहादुर सापकोटा र सदस्यहरूमा रामप्रसाद मैनाली, कमलराज खनाल, श्याम थापा, समीरनाथ प्याकुरेल, राजेन्द्र ओझा, तेजमाया सिग्देल, कमल पौडेल, गोपीराम गुरुङ रहेका छन् ।
स्थानीय बेलायतीको समेत संलग्नतामा टिम स्थापना भइसकेको उक्त क्लबले फुटबल खेलको प्रशिक्षण पनि सुरु गरिसकेको छ । लन्डनस्थित ह्यारोलाई मुख्य केन्द्रबिन्दु बनाई सुरु गरिएको यस क्लबमा बेलायतभरिका नेपालीको सहभागिता रहेको छ । हाललाई स्थानीयस्तरमा सहभागिता जनाइरहेको क्लबले निकट भविष्यमा नेपालमासमेत आफ्नो सहभागिता जनाउने योजना रहेको क्लबका सचिव गंगा रानाले बताएका छन् ।