आउनुस् गद्दारमा सूचीकृत होऔँ !

आउनुस् गद्दारमा सूचीकृत होऔँ !


– सूर्यन्द्र

कुनै कुरा एकपटक हुन्छ भने त्यो घटना हो । अर्कोपटक दोहोरिन्छ भने त्यो संयोग हो । फेरि पनि हुन्छ भने त्यो पक्का षड्यन्त्र हो । यो कुरा मैले कुनै जासुसी उपन्यासमा पढेको थिएँ । शायद त्यो सर अर्थर कानन डोयलको प्रसिद्ध पात्र सरलक होम्सबाट भनाइएको थियो । यो सही हो वा होइन त्यो मलाई थाहा छैन तर विगत केही वर्षहरूदेखि भने कथित राजावादीहरू यस्तो घटनाको तारो भएका छन्, एकपटक होइन लगातार ।

जुनबेला राजसंस्थाले शक्ति छोडेर पाखा लाग्ने निर्णय गऱ्यो त्यसबेलादेखि धेरै जीहजुरी बजाएर महत्वपूर्ण भएकाहरूको सातो गयो । चाहे राजनीतिक क्षेत्र होस्, सामाजिक क्षेत्र वा कर्मचारीतन्त्र कि त छेपाराले रङ फेरेझैँ रातारात गणतान्त्रिक भए कि त गुप्तवासमा गए । तर, जनताको आस्था भने कायम नै रह्यो र छ पनि ।

ती हजुरिया विशिष्टबाहेक एक्लै महसुस गरेका जनता असङ्गठित रूपमा बिस्तारै जुट्न थाले । आवाज उठ्न थाल्यो । बिनानेतृत्व स्वतस्फुर्त अनेकौँ समूह र व्यक्ति देखिन थाले । एकाएक नेपथ्यबाट कुनै शक्ति चलमलायो । फोटोसहितको व्यक्तिगत विवरण भराएर एकता गरेको भ्रम दिँदै केही देखापरे । अनेकौँ समूहमा रहेकाहरू साझा कुरामा सहकार्य थालनी गर्दै गरेको अवस्था तोडियो । तँ ठूलो कि म ठूलो भन्ने रोगको कीटाणु प्रवेश गराइयो । फल जे हुनुपर्ने हो त्यही भयो । जुट्दै गरेका जनता रनभुल्लमा परे, यो थियो घटना ।

केहीपछि पाखा लागेका राजाको देव र देशदर्शन शुरु भयो । निराशामा पुगेका जनता एकपटक फेरि जुर्मुराए । फेरि सहयात्राको वातावरण बन्न थाल्यो । यसपटक भने नेपथ्यबाट आएको शक्ति राजनीतिक दलको आवरणमा आए । राष्ट्रभन्दा नेता महत्वपूर्ण देखिन थाले । राजसंस्थाभन्दा राजसंस्थाको पक्षधर दल महत्वपूर्ण भन्ने गलत मान्यता स्थापित गर्न थाले । यसपटक भने सहकार्य तोड्न भनसुन गरिदिन सक्ने हैसियत ती हजुरिया विशिष्टहरूले बनाएका थिए । फेरि बन्दै गरेको वातावरण चकनाचुर भयो, यो थियो संयोग ।

जसरी देशानमसान मन्छाउन खोर्सानीको धुप प्रयोग गरिन्छ, त्यसैगरी यस्तालाई पनि खोर्सानीको धुप हाल्न आवश्यक भइसकेको छ । तर, खोजेर जाने होइन सामुन्ने परेकालार्ई, बडामहाराजले भनेका छन् नि ‘जाई कटक नगर्नू, झिकी कटक गर्नू’ भनेर ।

त्यसपछि त जता पनि राजसंस्थाका आस्थावान देखिन्छन् त्यहाँ चर्का कुरा गर्दै पुग्नेहरूको जमात नै सक्रिय भएको छ । यस्ताहरूको काम अरू थपलाई आस्थावान बनाउनु होइन भएकाहरूबीच झगडा लगाउनु भएको छ । चर्का कुरा र अर्कालाई गालीबाहेक अन्य केही औजार यस्ताहरूसँग छैन । देखिएका–चिनिएका राजसंस्था आस्थावानहरूमध्ये केहीलाई साथ लिनु र यही बलमा अरूलाई धम्क्याउनु यस्ताको कार्यनीति भएको छ, यो हो षड्यन्त्र ।

यस्ता तत्वहरूको कुरा खुरुक्क माने राष्ट्रवादी नलागे राष्ट्रघाती, मानौँ राष्ट्रवादको ठेक्का नै कसैले उनीहरूलाई दिएको छ । अहिले यस्ता तत्वहरू राजावादीको रूप लिएर हरेक त्यो जमघटमा उपस्थित छन् जहाँ कोही सहकार्य गर्ने प्रयत्न गर्दै हुन्छ । उनीहरू एकताको कुरा गर्छन्, तर सबैलाई गाली गर्छन् । कामको कुरा गर्दछन्, तर कामको रूपरेखा हुन्न । कतिपयको त विगत पनि स्पष्ट हुन्न, स्पष्ट भएकाहरू पनि विभिन्न समयमा विभिन्न नेताको जयकार गरेको भेटिन्छ ।

अर्थात् न आफूसँग कुनै स्पष्ट सोच छ, न कार्यनीति नै । विपक्षीलाई कन्दनी चुँडिने गरेर गाली गर्ने भाषण मात्र छ । उनीहरूको कार्यक्षेत्र उनीहरूले विरोध गरेको शक्ति होइन अरू राष्ट्रवादी हुन्छन् । यस्ता कुरा अनगिन्ती भइरहेका छन्, तेस्रो षड्यन्त्र हो भने अनगिन्ती के हो ? कोही अरूले उनीहरूको कुरा मानिदिनुपर्ने र उनीहरूले भइरहेकाहरूले के–कसरी गरेका छन् त्यो हेर्नु नपर्ने किनकि उनीहरूको अभीष्ट सङ्गठन गर्ने वा एकता गर्ने होइन आपसमा वैमनश्यता ल्याउने हो ।

जसरी देशानमसान मन्छाउन खोर्सानीको धुप प्रयोग गरिन्छ, त्यसैगरी यस्तालाई पनि खोर्सानीको धुप हाल्न आवश्यक भइसकेको छ । तर, खोजेर जाने होइन सामुन्ने परेकालार्ई, बडामहाराजले भनेका छन् नि ‘जाई कटक नगर्नू, झिकी कटक गर्नू’ भनेर ।

परिचयको निमित्त सोध्नुस्, तपाईं पहिले कहाँ र के गर्दै हुनुहुन्थ्यो ? तपाईंहरूको विचारमा कतिजनाले कति ठाउँ कति समय सडकमा नारा लगाउनुपर्ने हो ? कति कोणसभा गर्नुपर्ने हो ? कि बन्दुक नै बोक्नुपर्ने हो कि ?

बीपी, केपी, प्रचण्डको सफलताको गाथा गाउँदा उनीहरूले जनताको साथ नपाउञ्जेल चुमुर्किनुपरेको देख्नुभयो कि भएन ? सयमा सय योमध्ये कुनै पनि प्रश्न सोध्नुभयो भने अर्कोपल्टदेखि तपाईं पनि गद्दारको सूचीमा पर्नुहुनेछ । र, यही नै खोर्सानीको धुप हो । आउनुस् हामी यस्ता तत्वको सूचीमा गद्दारमा सूचीकृत हौँ ।