जुडोका विजय र कराँतेकी एरिका सर्वश्रेष्ठ खेलाडी घोषित

जुडोका विजय र कराँतेकी एरिका सर्वश्रेष्ठ खेलाडी घोषित


कराँतेकी एरिका गुरुङ र जुडो खेलाडी विजय सिंजाली सर्वश्रेष्ठ खेलाडी घोषित भएका छन् ।

अन्तरराष्ट्रिय ओलम्पिक कमिटीद्वारा आयोजित ‘एनओसी अवार्ड २०२६’मा महिलातर्फ एरिका र पुरुषतर्फ विजयले एनओसी अवार्ड खेलाडीका रुपमा अवार्ड प्राप्त गरे ।

साथै कबड्डीकी हरिना थापा र कराँतेका कुशल श्रेष्ठ क्रमशः एनओसी उत्कृष्ट महिला प्रशिक्षक र एनओसी उत्कृष्ट पुरुष प्रशिक्षक चुनिए । एनओसी उत्कृष्ट युवा खेलाडी, २०२६ बाट बक्सिङका नुर्बु थेन्डुप शेर्पा र टेनिसकी शिभाली गुरुङ पुरस्कृत भइन् । बक्सर नुर्बु एनओसी सर्वश्रेष्ठ युवा पुरुष खेलाडी र शिवाली एनओसी उत्कृष्ट महिला युवा खेलाडी घोषित भएका हुन् ।

यसैगरी, एनओसी उत्कृष्ट खेल पत्रकार ‘प्रिन्ट’तर्फको अवार्ड खेलाडी डटकमका सम्पादक अजय फुयाँलले प्राप्त गरे । हाम्रो खेलकुदकी वरिष्ठ संवाददाता सरिता श्रेष्ठले एनओसी उत्कृष्ट अनलाइन खेल पत्रकारको अवार्ड प्राप्त गरिन् । एनओसी सर्वश्रेष्ठ क्यामरापर्सनबाट सुदर्शन रञ्जित पुरस्कृत भए ।

नेपाल कराँते महासङ्घ उत्कृष्ट खेल सङ्घ घोषित भयो । हरेक विधाका विजेताले रु ५० हजारसहित ट्रफी र नेपाली कार्पेट प्राप्त गरे ।

यसैगरी, एनओसी प्रेसिडेन्सिल अवार्डबाट अशोकरत्न वज्राचार्य, गीता राणा, चतुरानन्द राजवैद्य, नेपाल भूतपूर्वखेलाडी मञ्च, शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन, थन्डरबोल्ट स्पोट्र्स एकेडेमी (जेम्स स्कुल), लक्ष्मी श्रेष्ठ र सूर्यलाल भण्डारी सम्मानित भए ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले विजेताहरुलाई बधाई दिँदै हरेक वर्ष जुन २३ को दिन ओलम्पिक दिवस मनाउने क्रममा एनओसीले अवार्ड कार्यक्रम गर्दै आएको बताए ।