दबाबमा दाहाल

दबाबमा दाहाल


sampadakeeyaपृथ्वीनारायण शाहपछिका नेपालको एक मात्र ‘स्वघोषित नायक’ पुष्पकमल दाहाल उत्तर छिमेकी चीनको सातदिवसीय भ्रमणपछि निकै हौसिएका देखिन्छन् । खासगरी चीनको नयाँ नेतृत्वले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको र नेपालभित्र पनि आफूबाहेक अरू कसैलाई ‘नेता’का रूपमा चीनले महत्व नै नदिएको बुझाइसमेत दाहालको अन्तर्मनमा पैदा भएको अनुभूति गरिएको छ । ‘चीनको नयाँ नेतृत्वले आफूलाई दक्षिण एसियाबाटै पहिलो नेताका रूपमा छनोट गरेको’ दम्भपूर्ण अभिव्यक्ति दाहालबाट औपचारिक तथा अनौपचारिक तवरमा बारम्बार प्रकट गरिन थालिएबाट उनमा चुलिएको घमण्ड महसुस गर्न सकिन्छ । आफूमाथि मुलुकको गहन जिम्मेवारी रहेको भन्दै दम्भ देखाउने तर अत्यन्त चञ्चल व्यवहार प्रदर्शन गर्ने नेताका रूपमा पछिल्ला दिनमा झन्–झन् आलोच्य बन्दै आएका दाहालजस्ता व्यक्तिको मूल्याङ्कन या आँकलन आफूलाई विश्वमहाशक्तिका रूपमा चिनाउन चाहने चीनले कसरी गरेको छ– विश्लेषणको अलग पाटो बन्न सक्छ । तर, चिनियाँ नेतृत्वले रातो कार्पेट ओच्छ्याएर स्वागत गर्नुको आशय या अभिप्राय गहिरिएर बुझ्ने प्रयत्न नै नगरी सतही रूपमा आफूलाई ‘दक्षिण एसियास्तरको नेता’का रूपमा प्रस्तुत गर्न खोज्नुले पुष्पकमल दाहालको ‘औकात’ थप उदाङ्गो बन्न पुगेको बौद्धिक तप्काबीच ठूलो हिस्साको बुझाइ छ ।
दशकौँदेखि बल्झिरहेको तिब्बतको मुद्दालाई केन्द्र बनाएर नेपालसँगको सम्बन्धको औचित्य खोज्न थालेको छिमेकी चीनका लागि गहिरो राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको नेपालको मामलाप्रति चासो बढ्नु अनौठो विषय होइन । अन्य देशलाई प्रभावमा राखेर आफ्ना चाहना सिद्ध गर्ने विषय कुनै पनि शक्तिशाली मुलुकका लागि स्वाभाविक र सम्भवत: अपरिहार्यजस्तै हुन्छ । त्यसमाथि सिमाना जोडिएको छिमेकी र सामरिक दृष्टिले पनि झन्–झन् महत्वपूर्ण बन्दै गएको मुलुक हुनुको नाताले नेपालमाथि चिनियाँ नजर गहिरिनुको तात्पर्य धेरै घोत्लिएर खोज्नुपर्ने विषय नै होइन । यसर्थ, स्वदेशी होस् या बाह्य मञ्च, जतासुकै पनि मौका पर्दा आफूलाई ‘नेपालको एक मात्र अभिभावक’ भनी उद्घोष गर्नसमेत पटक्कै अप्ठ्यारो नमान्ने दाहालले चिनियाँ पक्षलाई यसरी भ्रमित तुल्याएका हुन सक्छन् कि वर्तमान परिवेशमा पुष्पकमल एक मात्र नेपालका ‘भाग्यविधाता’ हुन्, नेपालमा उनले जे चाह्यो त्यही हुन्छ ! यस्तै भ्रमको वशीभूत भएर नै चीनले दाहाललाई स्वागत गरेको हुनुपर्छ भनी अनुमान लगाउनेहरूको पनि कमी छैन । तर, चीनजस्तो मुलुकले नेपालको राजनीतिक परिवेशको मूल्याङ्कन यति हचुवा किसिमबाट गरिरहेको होला भनी विश्वास गर्न पनि सकिन्न ।
हालसम्म मुलुकको राजनीतिलाई सुल्झाउने भूमिका निर्वाह गर्नुको साटो अविश्वास र असहमति हुर्काउँदै आएका पुष्पकमल दाहालमाथि पछिल्लो चीन भ्रमणबाट राजनीतिक वातावरण खल्बल्याउने क्रियाकलापमा संलग्न नहुनका लागि दबाब भने निकै परेको अनुमान गरिएको छ । नेपालको अस्थिर राजनीतिले तिब्बत मामलामा पार्न सक्ने असरप्रति अत्यन्त सचेत रहेको चीनले दाहाललाई शान्ति र संविधानको काम छिटो टुङ्ग्याएर राजनीतिक स्थिरता कायम गर्न आग्रह गर्नुको निहितार्थ पनि त्यही नै हो । यस हिसाबबाट भन्नुपर्दा दाहालमाथि चिनियाँ नेतृत्वले दबाब बढाएको छ कि अब नेपालमा शान्ति र संविधान निर्माणकार्यमा अवरोध पैदा गर्ने काम नहोस् । आफ्नो चीन यात्रालाई दाहालले जुन रूपमा बुझे पनि विश्लेषकहरूले चाहिँ यसलाई आजसम्म एमाओवादीकै कारण नेपालको शान्ति र संविधान निर्माण प्रक्रियामा व्यवधान पैदा भएको ठम्याई चीनको समेत रहेको र अब सकारात्मक रूपले अघि बढ्न एमाओवादी नेतृत्वलाई चेतावनी दिएको रूपमा लिएका छन्, जो अस्वाभाविक पनि लाग्दैन । यो कुरा एमाओवादी नेतृत्व र खासगरी पुष्पकमल दाहालले मनन गर्नु आवश्यक छ ।
यही साता दाहालले छिमेकी भारतको पनि भ्रमण गर्दै छन् । नेपालबारे चिनियाँ चासोका सन्दर्भमा भारतीय पक्षसँग पनि छलफल हुन सक्छ । आफूलाई अत्यन्त चतुर राजनीतिक खेलाडी ठान्ने पुष्पकमल दाहालकै शब्दमा चिनियाँ र भारतीय ‘कार्ड’को औचित्य त अब समाप्त भइसकेको छ । अब प्रतीक्षाको विषय बनेको छ– भारतलाई भ्रमित पारेर दाहालले आफ्नो सत्ताकाङ्क्षा मात्र छताछुल्ल पार्ने हुन् वा हार्दिकताका साथ प्रस्तुत भई छिमेकीको विश्वास जितेर मुलुकको समस्या निकासमा केही योगदानको प्रयास पनि गर्ने हुन् ?