झलनाथ रिसाएपछि रोलक्रम फेरियो

झलनाथ रिसाएपछि रोलक्रम फेरियो


काठमाडौं/ नवगठित सरकार आफ्नो यात्रारम्भ गर्नुअगावै जालझेल, तिकडम, घुर्की र धम्कीहरूको दलदलमा फसेको छ । सत्तारूढ पक्षभित्र उत्पन्न विग्रह र अस्वस्थ प्रतिद्वन्द्विताका कारण हिजो झन्डै शपथग्रहण पनि रोकिएको थियो । अस्ति सोमबार मन्त्रिमण्डलका सदस्यहरूको नामावली सार्वजनिक गरिँदा आफ्नो नाम रोलक्रमअनुसार नवौँ नम्बरमा रहेको देखेपछि मन्त्री झलनाथ खनालले आफ्नो पार्टीका नेताहरू एवम् प्रधानमन्त्रीसँग भेटी रोलक्रम नसच्याइएमा आफू शपथग्रहणमा नजाने जानकारी गराउनुभयो । खनालले मन्त्री घोषणा हुनेबित्तिकै प्राप्त गर्नुभएको झन्डा र गार्डलाई स्वीकार गर्नुभएन ।

त्यस्तै, गुनासो अन्य कतिपय मन्त्रीहरूको पनि रहेको थियो, तर उनीहरूले चाहिँ त्यसरी कडा प्रतिक्रिया जनाएका थिएनन् । झलनाथ खनाल रोलक्रम निर्धारण गर्ने क्रममा पार्टी (एमाले) निर्णयसमेतको उल्लङ्घन गरिएको र आफूलाई ह्युमिलिएसन गरिएकोले यसरी चिढिएका थिए । एमाले सूत्रले जनाएअनुसार उपप्रधानमन्त्री वामदेव गौतम र स्वास्थ्यमन्त्री राधाकृष्ण मैनालीले लोकेन्द्रबहादुर चन्दलाई मन्त्रिमण्डलको सदस्यहरूको नामावली बुझाउँदा जुन रोलक्रम उल्लेख गरेका थिए सोहीमुताबिक चन्दले नामावली दरबारमा पठाएका थिए । र, दरबारले पनि त्यसैअनुसार मन्त्रीहरूको नामावली प्रकाशित गरेको थियो । आफूमाथि ठूलो षड्यन्त्र भएको ठानी झलनाथले तत्कालै वामदेव गौतमसँग कडा प्रतिक्रिया जनाउनुहुँदा गौतमले आफूलाई केही पनि थाहा नभएको बताएर उम्कन प्रयत्न गरेका थिए ।

तर, पछि खनालले शपथग्रहणमै भाग लिन नजाने कुरा बताउनुभएपछि परिस्थिति एकाएक गम्भीर बन्न पुग्यो । गौतमले प्रधानमन्त्रीसँग कुराकानी गर्नुभयो, त्यसपछि प्रधानमन्त्री चन्दले रोलक्रम सच्चाउनका लागि राजदरबारमा बिन्तीपत्र हाल्नुभयो र दरबारले पनि तत्कालै सच्याइएको सूचना प्रकाशित गऱ्यो । हिजो अपराह्न ३ः०० बजे रेडियो नेपालको समाचारमा रोलक्रम सच्याइएको व्यहोराको तथ्य प्रसारण भएपछि मात्र खनालले मन्त्री पद स्वीकार गर्नुभयो र शपथग्रहण गर्न उपस्थित हुनुभयो । भनिन्छ, राधाकृष्ण मैनालीले रोलक्रममा झलनाथभन्दा माथि आफूलाई राख्न अनेकौँ प्रयत्न गर्नुभएको थियो, तर अन्ततः मैनालीले हार खानुपऱ्यो, उहाँ रोलक्रममा खनालभन्दा पछाडि नै पर्नुभयो ।

मन्त्रिमण्डलमा सहभागी हुनेदेखि लिएर मन्त्रालयहरूको बाँडफाँडका क्रममा समेत एमालेभित्र निकै रडाको मच्चियो । राम्रो–राम्रो मन्त्रालय आफ्नो हातमा पार्न नेताहरूको चाकडी गर्ने मात्र होइन, धम्क्याउने क्रमसमेत चल्यो । केही दिनअघिसम्म मन्त्री बन्न लजाउने एमालेका नेताहरू यति चाँडो बदलिएलान् र मन्त्री खानका लागि यत्रो वितण्डा मच्चाउलान् भन्ने कुरा स्वयम् मनमोहन र माधव नेपालले समेत सोचेका थिएनन् । यातायात मन्त्रालय एमालेभित्र सबैभन्दा ठूलो झगडाको निहुँ बन्न पुगेका थियो । आन्तरिक लुछाचुँडीमा भरतमोहनको पल्ला भारी हुन पुगेपछि मात्र उहाँले यातायात मन्त्रालय प्राप्त गर्नुभएको हो ।

त्यसैगरी समाजवादी जनता दलका प्रतिनिधि रामेश्वरराय यादवलाई अलिक काम गर्न र काम देखाउन पाउने मन्त्रालय नदिइएकाले सो दलका नेताहरू पनि रिसाए र मन्त्रिमण्डलमा नबस्ने फ्लोरमा बसेर समर्थन गर्ने कुराको जानकारी प्रधानमन्त्री र एमाले नेताहरूलाई दर्शाए । फलस्वरूप रामेश्वरराय यादवलाई कानुन मन्त्रालयबाट वन मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रिमण्डलमा मन्त्रालय बाँडफाँडका क्रममा सहाना प्रधान र विद्या भण्डारीका बीच पनि खटपट उत्पन्न भएको जानकारी प्राप्त हुन आएको छ ।

(घटना र विचार साप्ताहिक, २०५३ चैत १३ गते बुधबार)