अब बर्दिबासबाटै स्मार्ट लाइसेन्स

अब बर्दिबासबाटै स्मार्ट लाइसेन्स


महोत्तरीको बर्दिबासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ ।

कार्यालय परिसरमा आज बिहीबार आयोजित एक समारोहबीच महोत्तरी–१ ‘क’ का प्रदेश सभा सदस्य शारदा थापाले कार्यालयबाट थप प्रवाह हुने स्मार्ट लाइसेन्स वितरण कार्यको शुभारम्भ गरेका हुन् ।

कार्यालयका पहिलो सेवाग्राही बर्दिबास–१ का दीननाथ पोखरेललाई प्रदेश सभा सदस्य थापाले स्मार्ट लाइसेन्स प्रदान गरेर थप सेवा शुरु गरेका हुन् । कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले पनि सेवाग्राहीलाई स्मार्ट लाइसेन्स वितरण गरेका थिए ।

कार्यालयबाट स्मार्ट लाइसेन्ससहित सवारीचालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) हराएको प्रतिलिपि र सवारीचालक अनुमतिपत्रको नवीकरणसमेत आजैका मितिबाट थप सेवा प्रवाह शुरु गरिएको छ । यसअघि कार्यालयले वार्षिक सवारी कर सङ्कलन, सवारी दर्ता प्रमाणपत्रको नवीकरण, बाटो इजाजत नवीकरण, सवारी जाँचपास र अस्थायी रुट इजाजतपत्र (पटके) सेवा मात्र प्रदान गर्दै आएको थियो ।

आज शुरु गरिएको थप सेवा ४१ जना सेवाग्राहीले स्मार्ट लाइसेन्स प्राप्त गरेका कार्यालयका निमित्त प्रमुख पोषण थापाले बताए । ०७१ मङ्सिर १७ गते स्थापना भएको यो कार्यालयले अहिलेसम्म रु. २१ करोड २५ लाख सात हजार २६३ राजस्व सङ्कलन गरेको समारोहमा जानकारी गराइएको थियो ।

थप गरिएको सेवा लिन यसअघि जनकपुरस्थित यातायात व्यवस्था कार्यालय जानुपथ्र्याे । अब यी सेवा बर्दिबासबाटै शुरु गरिएपछि महोत्तरी, धनुषाको उत्तरी क्षेत्र, सिन्धुली र सर्लाही जिल्लाका सेवाग्राहीलाई सजिलो भएको छ । आपूm अर्कै प्रदेश (प्रदेश नं. ३) को बासिन्दा भए पनि भौगोलिक निकटताले बर्दिवासस्थित कार्यालयबाट थप सेवा पाउँदा समय र खर्च दुवैको बचत भएको सिन्धुली जिल्लाको कमलामाई नगरपालिका– ५ का सेवाग्राही मदनकुमार श्रेष्ठले प्रतिक्रिया दिए ।