एकै महिनामा बाँकेमा ४२ सम्बन्धविच्छेदका मुद्दा

एकै महिनामा बाँकेमा ४२ सम्बन्धविच्छेदका मुद्दा


बाँके जिल्लामा सम्बन्धविच्छेदका मुद्दा अनपेक्षित रूपमा बढेका छन् । पछिल्लो एकै महिनामा सम्बन्धविच्छेदका ४२ वटा मुद्दा दर्ता भएका छन् ।

नयाँ आर्थिक वर्षको जेठ २२ गतेसम्ममा ४७ सम्बन्धविच्छेदका मुद्दा दायर भएको बाँके जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले बताए । उनका अनुसार सानोतिनो कुरामा पनि मनमुटाव हुने, उमेर नपुग्दै विवाह गर्ने, विवाहलाई घरपरिवारले स्वीकार नगर्ने, छोटो समयकै चिनजानले प्रेमविवाह गर्नेहरूले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउने गरेको देखिएको छ । यसैगरी वैदेशिक रोजगारीमा श्रीमान गएका श्रीमतीहरूले पनि सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउने गरेका छन् ।

लागुऔषधमा फसेको कुरा विवाहपछि थाहा पाएकाहरूले पनि छिटै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने गरेको अदालतले जनाएको छ । अधिकांश १६ देखि २२ वर्षसम्मका महिलाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउने गरेका छन् । गिरीले भने, ‘एक–डेढ वर्षका दूधेबालक बोकेरसमेत सम्बन्धविच्छेदका लागि आउँछन् र कतिपयले त मुद्दा दर्ता गरेको तीन–चार दिनमै सम्बन्धविच्छेद हुने गरी मिलापत्र गर्छन् ।’