कर्णालीमा ‘हेलो मुख्यमन्त्री’ हटलाइन शुरु

कर्णालीमा ‘हेलो मुख्यमन्त्री’ हटलाइन शुरु


कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजबाट हेलो मुख्यमन्त्री हटलाइन सेवा शुभारम्भ गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका कालीकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसिकोट नगरपालिकाका दीपक बाठामगरका प्रतिक्रिया लिएर हटलाइन सेवाको उद्घाटन गरेका हुन् ।

हेलो कार्यक्रममा सार्कीले आफ्नी आमाको हत्यारालाई कारबाहीको माग राखेका थिए भने बाठामगरले त्रिभुवन जनता माविको भवन निर्माण र खानेपानी आयोजना निर्माणमा भइरहेको ढिलाइबारे पश्न गरेका थिए । मुख्यमन्त्री शाहीले दुवैजनाले उठाएको समस्या समाधानका लागि सूचीबद्ध गर्नुका साथै सम्बन्धित निकायलाई समाधानका लागि निर्देशन दिने बताए ।

जनताका समस्या मुख्यमन्त्रीले प्रत्यक्ष सुनेर तिनको सहज सम्बोधन भएको जनतालाई प्रत्याभूति गराउने उद्देश्यले हटलाइन सेवा शुभारम्भ गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको भनाइ छ । हटलाइन सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले भने, ‘समग्र योजना विकास निर्माण नेतृत्वले मात्र गर्दा मनोगत हुन्छ, जनताको समस्या समाधानसहितको वस्तुगत योजना विकासमा सहयोग पुगोस् भनेर हटलाइन सेवा शुरु गरिएको हो ।’

सो अवसरमा शाहीले हटलाइन सेवा (१०९६) सँगै कर्णाली प्रदेश सरकारको आधिकारिक वेबसाइट www.ocmcm.karnali.gov.np को उद्घाटन गरेका थिए । वेबसाइटले प्रदेश सरकारद्वारा भए–गरेका गतिविधि जनताबारे जनताले जानकारी पाउने शाहीको भनाइ छ ।

डिजिटल प्रदेश निर्माण गर्ने अवधारणा लिएको यो प्रदेश सरकारको वेबसाइट निर्माण तथा विकासले यहाँका सरकारी कार्यालयका सबै कामकाज प्रविधिबाटै गर्न सघाउ पुग्ने सरकारको प्रवक्तासमेत रहेकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।