गुप्तचर अधिकृत बनेर साढे सत्रलाख ठगी

गुप्तचर अधिकृत बनेर साढे सत्रलाख ठगी


राष्ट्रिय अनुसन्धान विभागको अधिकृतको नक्कली परिचयपत्र देखाउँदै जागिरको प्रलोभन दिएर ठगी गर्दै हिँड्ने एक व्यक्ति प्रहरीफन्दामा परेका छन् । यसरी नक्कली पहिचान दर्शाएर चिनजानका व्यक्ति ठग्दै हिँड्ने व्यक्ति संखुवासभा पाँचखपन नगरपालिका घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्दै आएका टंकबहादुर खड्का भएको प्रहरीले खुलासाा गरेको छ ।

खड्काले राष्ट्रिय अनुसन्धान विभागको अधिकृत हुँ भनी परिचय पत्र देखाई काठमाडौं चन्द्रागिरी नपा गुर्जुधारानिवासी नरेन्द्र श्रेष्ठकी श्रीमती पुष्पालाई गोदाम तथा पारवहनमा जागिर लगाइदिने र पुष्पाका दाइ हरिबहादुर श्रेष्ठलाई राष्ट्रिय अनुसन्धान विभागको सहायक अनुसन्धान सुचक पदमा सिफारिस गरेको नक्कली कागजात, आयश्रोतको सिफारिस पत्रलगायतका सरकारी कागजातहरु कीर्ते तयार गरी १७ लाख ५० हजार हात पारेका थिए ।

विश्वासमा पारेर त्यत्तिका रकम लिएपछि बहाना बनाउँदै खड्का पन्छिन थालेपछि निजबाट आफूहरु ठगिएको महसुस पीडितहरुले गरेका थिए । त्यसपछि उनीहरु प्रहरीमा उजुरी गर्न पुगे । प्रहरीले विहिबार पक्राउ गरी खड्कालाई कारवाही अघि बढाएको छ ।

मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरी ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ । साथै, मुलुकी ऐन किर्ते कागजको १२ नं. बमोजिम सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई १ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको प्रहरीले जनाएको छ।