उमेरहद नाघेका शिक्षक नियुक्तिको विरोध

उमेरहद नाघेका शिक्षक नियुक्तिको विरोध


राजविराज/ सप्तरीको रूपनी गाउँपालिका–६ स्थित तेरहौता माध्यमिक विद्यालयमा नियम मिचेर ४० वर्ष उमेरहद नाघेका व्यक्तिलाई शिक्षक नियुक्ति गरेको भन्दै अभिभावकले सूचना माग गरेका छन् ।

विद्यालयका प्रधानाध्यपक दिनेशकुमार यादवले केही स्थानीय व्यक्तिसँगको मिलेमतोमा आर्थिक चलखेल गरी शिक्षक नियुक्ति गरी गोप्य राखेको भन्दै बुधबार उनीहरूले निवेदन दर्ता गराई सूचना माग गरेका हुन् ।

गत वर्ष उच्च माध्यमिक तहको अनुदान राहत शिक्षकमा ४९ वर्षीय देवनारायण गोइत र ३५ वर्षका महेन्द्र यादवलाई नियुक्त गरेर सूचना गोप्य राखेको अभिभावकहरूको आरोप छ ।

नियम मिचेर शिक्षक नियुक्त गर्नु र सूचना सार्वजानिक नहुँदा ठूलै चलखेल भएको हुन सक्ने शङ्का लागेकाले यथार्थ पत्ता लगाउन सूचना माग गरिएको अभिभावक सुनीलकुमार चौधरीले बताए । शिक्षक नियुक्तिको विषयमा व्यापक जनगुनासो आएपछि रूपनी गाउँपालिका वडा नम्बर ६ ले शिक्षक नियुक्तिको सम्पूर्ण अभिलेख वडा कार्यालयमा झिकाएका छन् ।

गत वर्ष शिक्षक नियुक्ति प्रक्रियालाई स्थगित गर्ने भनिए पनि भित्रभित्रै ४९ वर्ष उमेर हदकालाई नियुक्ति गरिएको पाएको वडा नम्बर ६ का वडा अध्यक्ष गोविन्दसिंह थापाले बताए । नियुक्त प्रक्रिया वैधानिक वा अवैधानिक के हो भन्नेबारे अनविज्ञता जनाउँदै वडाध्यक्ष मगरले सम्बधित व्यक्ति तथा निकायहरूसँग बुझ्ने गर्ने कार्य भइरहेको जानकारी गराए ।

विद्यालयका प्रधानाध्यापक दिनेशकुमार यादवले शिक्षक नियुक्त प्रक्रिया नियमसम्मत भएको बताए । उनले उच्च माध्यमिक शिक्षक व्यवस्थापन निर्देशिकाबमोजिम शिक्षक नियुक्त गरिएकोले प्रक्रिया वैधानिक भएको दाबी गर्दै आफूमाथि लगाएका आरोपहरू निराधार रहेको दाबी गरे ।

आर्थिक चलखेल गरी विद्यालयलाई शिक्षक भर्तीकेन्द्र मात्र बनाउँदा पठनपाठनमा समस्या भई दिन प्रतिदिन विद्यालयको गरिमा खस्किँदै गएको स्थानीयवासीले गुनासो गर्न थालेका छन् । पटक–पटकको प्रयास असफल हुँदा विद्यालय लामो समयदेखि व्यवस्थापन समितिविहीन रहेको छ ।

यसअघि विद्यालय व्यवस्थापन समिति गठन गरिए पनि शिक्षक–अभिभावक सङ्घ गठन गर्न नसकी कार्यकाल समाप्त भएको थियो । प्रधानाध्यापक यादवकै उदासीनताका कारण शिक्षक–अभिभावक सङ्घ गठन हुन नसकेको भनी स्थानीयले आलोचना गर्दै आएका छन् ।