क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र : काङ्ग्रेस

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र : काङ्ग्रेस


नेपाली काङ्ग्रेस कास्की शाखाले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीका जिल्ला सभापति कृष्ण केसीको नेतृत्वमा गएका पार्टीका नेता तथा कार्यकर्ताको टोलीले प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटी ज्ञापनपत्र बुझाएको थियो ।

विमानस्थलको निर्माणकार्य १५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ समितिको प्रतिवेदनले विमानस्थल उडानका लागि योग्य नरहेको भन्नु विमानस्थल बन्न नदिने षड्यन्त्र भएको भन्दै टोलीले खेद पनि प्रकट गरेको छ ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा पार्टी सभापति कृष्ण केसीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विज्ञ समितिको प्रतिवेदन दुरासयपूर्ण रहेको र पोखराकै विभागीय मन्त्रीले विमानस्थलका सम्बन्धमा दिएका अभिव्यक्तिले विमानस्थल निर्माणमा चलखेल र कमिसनको खेल त होइन भन्ने गम्भीर आशङ्का उत्पन्न गराएको बताए ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले उक्त विमानस्थललाई यस प्रदेशको समृद्धिको महत्वपूर्ण आधारका रूपमा लिएको बताउँदै सन् २०२१ सम्म विमानस्थल निर्माण गराउने कुरामा प्रदेश सरकार लाग्ने विश्वास दिलाए ।

विमानस्थल निर्माण हुन नदिने षड्यन्त्रस्वरूप विज्ञ समूहबाट आएको प्रतिवेदनविरुद्ध पोखरा उद्योग वाणिज्य सङ्घले पनि मुख्यमन्त्री गुरुङको ध्यानाकर्षण गराएको थियो ।

रासस