दोस्रो बजार मजबुत बनाउन सरकार तयारः अर्थमन्त्री खतिवडा

दोस्रो बजार मजबुत बनाउन सरकार तयारः अर्थमन्त्री खतिवडा


अर्थमन्त्री डा. युवराज खतिवडाले दोस्रो बजार मजबुत बनाउन सरकार तयार रहेको बताउनुभएको छ । उनले जोखिम लिनेहरुको लागि शेयर बजार र जोखिम लिन नचाहनेहरुका लागि ऋणपत्र बजार रहेको जानकारी दिएका छन् ।

नेपाल धितोपत्र बोर्डको २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री खतिवडाले दोस्रो बजार कमजोर भयो भने प्राथमिक बजार पनि नटिक्ने बताएका छन् । उनले यसको नियमनमा कडाई गर्नुपर्ने भन्दै दोस्रो बजार मजबुत नभए आइपिओ समेत बिक्री गर्न कठिन हुने टिप्पणी गरे । पूँजी बजार थोरै थोरै पूँजी संकलन गरेर बृहत्त रुपमा पूँजी निर्माण गर्ने ठाउँ भएकाले यसलाई मजबुत बनाउन आवश्यक रहेको मन्त्री खतिवडाको भनाई छ । ‘नियामक निकायले राम्रो नियमन गर्न सकेन भने त्यो भन्दा माथि मन्त्रालय रहेको छ ।’ मन्त्री खतिवडाले भने, ‘काम गर्न नसके धितोपत्र बोर्डको नेतृत्वलाई कारवाही गर्न पनि सरकार पछि पर्दैन् ।’

सेयर बजारबाट पुँजीको विकास गर्न सरकार लागिरहेको बताउँदै ऋणपत्र पनि पुँजीबजारमा प्रवेश गराउनु पर्ने धारणा उनको छ । ‘ऋणपत्र कारोबारले पुँजीबजार बढ्छ ।’ उनले आफ्नो तर्क प्रस्तुत गर्दै भने, ‘म स्थिर पुँजीबजारको पक्षमा छु । राष्ट्रिय पुँजीको निर्माण गर्ने क्षेत्र सेयर बजार हो ।’ दीर्घकालिन प्रकृतिका ऋणपत्रमा लगानी गर्न अर्थमन्त्री खतिवडाले बैंकहरुलाई अनुरोध गरेका छन् ।

शेयर बजारमा पारदर्शिता, व्यवसायिक स्थिरता र कारोबार छिटो छरितो हुनुपर्ने भन्दै मन्त्री खतिवडाले शेयर कारोबारलाई विद्युतिय प्रणालीमा छिटो अघि बढाउन र प्रविधिमा अपग्रेड गर्दै लैजानुपर्नेमा जोड दिए । खतिवडाले शेयर बजारमा पारदर्शिता, कुशलता र व्यावसायिक स्थिरता आवश्यक रहेको भन्दै लगानीकर्तालाई अपत्यारीलो शक्तिले बजार संचालन गरिरहेको छ भन्ने आभास नगराउन अनुरोध गरेका छन् ।