माछामा नेपाल आत्मनिर्भर भएपनि बजारमा अझै आयातित माछाकै माग बढि

माछामा नेपाल आत्मनिर्भर भएपनि बजारमा अझै आयातित माछाकै माग बढि


छविलाल बगाले
आयातित माछा खानुस परिवार नियोजन गर्नै पर्दैन – यो भनाई हो प्रधानमन्त्री केपी शर्मा ओलीको । तर बिडम्बना नेपालको बजारमा आयातित माछाको नै वर्चश्व कायम रहदै आएको छ । माछालाई सडन नदिन प्रयोग गरिने औषधिले मानव जीवनमा पार्ने असरप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति आएको हुनुपर्छ । तर उनले यसो भनिरहदा सरकारले आयातित माछालाई विस्थापित गरि स्वदेशी माछालाई स्थापित गराउने कुनै नीति नै अघि नसारेको पाइएको छ ।

प्रधानमन्त्री ओलीको यही अभिव्यक्तिलाई कालीमाटी फलफूल तथा तरकारी बजारभित्र बिक्रिका लागि राखिएका माछाहरुले जिस्काइरहेका छन् । कालीमाटीमा बिक्रिका लागि राखिएका सबै माछा विदेशबाट आयातित हुन् । माछा हेर्दा निकै आकर्षक, ताजा र ठूला देखिएपनि व्यवासायीले मुनाफा आर्जन गर्ने नाममा उपभोक्ताको स्वास्थ्यलाई बेवास्ता गर्दै फर्मालिनको प्रयोग गर्ने गरेका छन् । यसप्रति सरकारको ध्यान अझै तानिन नसकेको जिउदो माछा व्यवसायी संघका अध्यक्ष जंगबहादुर चौधरीको गुनासो छ । ‘मुलुकलाई आवश्यक पर्ने माछा नेपालकै कृषकहरुले उत्पादन गरेका छन् ।’ माछा व्यवसायी चौधरीले भने, ‘विदेशी माछाले मानव स्वास्थ्य निकै विगार्ने गरेको छ । हामीलाई पुग्ने माछा स्वदेशमै भएकोले ताजा र लोकल माछा प्रयोग गर्नुस् ।’

भारतको आन्द्राप्रदेश, बंगाल र बिहारबाट ल्याइएका यि माछाहरु स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छन् । मुलुकभित्र बार्षिक रुपमा ८३ हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएपनि उपभोक्ताको रोजाईमा भने विदेशी माछा पर्ने गरेको छ । एक तथ्यांकका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक २० देखि ३० हजार केजी माछा खपत हुने गर्दछ ।

तर व्यवसायीहरुले पछिल्लो समय नेपाली किसानको उत्पादन भन्दै उपभोक्ता ठग्दै आइरहेको उपभोक्ता हित संरक्षण मञ्चका सचिव विष्णु तिमिल्सिना बताउँछन् । उनले माछामा अखाद्य बस्तु ‘फर्मालिन’ प्रयोग भएका माछा नेपालमा बढि आउने गरेको भन्दै स्वस्थकर, ताजा र स्वदेशी माछा खान उपभोक्ताहरुलाई अनुरोध गरेका छन् । ‘मरेको आधाघन्टाभित्र प्रशोधन गरेर माइनस ३५ डिग्रीमा राखेर फ्रोजन नगरिए माछा कुहिने गर्दछ ।’ उनले भने, ‘व्यवसायीहरुले माछा कुहिन नदिन घातक तत्व ‘फर्मालिन’ राखेर खुलेआम बिक्रि गर्दै आएका छन् । यो मानव स्वास्थ्यका लागि निकै खतरापूर्ण छ ।’

मत्स्य विकास निर्देशनालयका माछापोखरीका अनुसार भारतबाट मात्रै नेपालमा ११ हजार २ सय २० मेट्रिकटन माछा आयात हुँदै आएको मत्स्य विकास निर्देशनालयका कार्यक्रम निर्देशक बैकुण्ठ अधिकारी बताउँछन् । नेपालमा उत्पादन हुँदै आएको माछाले स्वदेशको माग धान्ने भएपनि बाहिरको माछा भित्रिने गरेको निर्देशनालयको ठम्याई छ । ‘बजारमा ठूला र आकर्षक माछा देख्दैमा राम्रो र स्वस्थ हुन्छ भन्नु गलत हो ।’ अधिकारीले भने, ‘स्वदेशमै आवश्यक माछा उत्पादन भएका छन् । विदेशी माछाको तुलनामा स्वदेशी माछा थोरै महंगो भएपनि स्वस्थ र ताजा माछा खान उपभोक्ताहरुमा अनुरोध गर्दछु ।’

लामो समयसम्म नबिग्रियोस भन्दै माछामा प्रयोग गरिने फर्मालिनले क्यान्सर, किड्नी ड्यामेज, जडिन्स र नपुसक हुने खतरा बढने माछा विशेषज्ञहरु बताउँछन् ।