आर्थिक वर्ष २०७५/७६ को बजेटमा मन्त्रालयगत शीर्षकमा छुट्टाछुट्टै छलफल

आर्थिक वर्ष २०७५/७६ को बजेटमा मन्त्रालयगत शीर्षकमा छुट्टाछुट्टै छलफल


प्रतिनिधिसभा बैठकमा आजदेखि मन्त्रालयगत शीर्षकमा छुट्टाछुट्टै छलफल हुने भएको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमा मन्त्रालयगत शीर्षकमा छुट्टाछुट्टै छलफल सुरु हुने भएको हो । छलफल अहिले विहान ११ बजेदेखि शुरु हुने बैठकमा आज पहिलो दिन ४ वटा मन्त्रालयको बजेटमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

आज बैठकमा कृषि भूमि व्यवस्था तथा सहकारी, सञ्चार तथा सूचना प्रविधि, खानेपानी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमा छलफल हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

मन्त्रालयगत रुपमा छुट्याइएको आव २०७५/७६ को बजेटमाथि ६ दिनसम्म छलफल चल्नेछ । शनिबार बाहेक हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म छलफल हुने बताइएको छ ।

कार्यसूचि अनुसार, सोमबार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालय गरी ३ वटा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ भने जेठ २९ गते मंगलबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयगरी ४ वटा मन्त्रालयको बजेटमा छलफल हुने कार्यसूचि रहेको छ ।

यस्तै, ३० गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ३१ गते उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय र असार १ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रिपतिको कार्यालयका लागि छुट्याइएको बजेटमाथि छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको संसद सचिवालयले जनाएको छ । आगामी आर्थिक बर्षका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट पेश गरेका थिए ।