गर्मीका कारण महिलाको मृत्यु

गर्मीका कारण महिलाको मृत्यु


महोत्तरीको गौशालामा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिका– ८ मा खेतमा धान रोप्ने क्रममा अत्यधिक गर्मीका कारण बेहोस भई स्थानीय ३५ वर्षीया सिकिलदेवी सदाको मृत्यु भएको छ ।

आएतबार बिहान धान रोप्ने क्रममा बेहोस भएकी सदाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । उनको शव परीक्षणका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए ।

सिरहामा ५ विद्यार्थी बेहोस

गर्मीकै सिरहाको चन्द्र माविमा अध्ययनरत ५ जना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका थिए । अत्यधिक गर्मी बढेपछि बेहोस भएका उनीहरूको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ ।

सर्पदंशबाट किशोरीको मृत्यु

अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–४ जुयकी १६ वर्षीया पार्वती बुढाको शनिबार राति मृत्यु भएको छ ।

घरनजिकैको गोठमा सुतेकी बुढालाई राति सर्पले डसेको थियो । भाइ र बहिनीसँगै सुतेकी बुढाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष अमृता बुढाले जानकारी दिइन् ।

मृतक बुढाले स्थानीय विश्वज्योति माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिएकी थिइन् ।