लघु जलविद्युतले खिवाङलाई झिलीमिली बनाएपछि…

लघु जलविद्युतले खिवाङलाई झिलीमिली बनाएपछि…


म्याग्दीे धौलागिरि गाउँपालिका–४ स्थित खिवाङ छहरीखोला लघु जलविद्युत् परियोजनाबाट उत्पादित बिजुलीबाट खिवाङ गाउँ झिलीमिली बनेको छ ।

छहरी खोलाको पानी प्रयोग गरेर २० किलोवाट क्षमताको खिवाङ छहरीखोला लघु जलविद्युत् परियोजना निर्माण भएपछि म्याग्दीको विकट क्षेत्रमा पर्ने खिवाङ गाउँमा विद्युत् सुविधा पुगेको हो ।

बेलायती र भारतीय पूर्व गोर्खा सैनिकको पहलमा गोर्खा वयलफेयर र कादुरी संस्थाको सहयोगमा निर्माण भएको सो परियोजनाबाट खिवाङका १७० घरधुरी लाभान्वित भएका स्थानीय अगुवा चित्रबहादुर पुनले बताए ।

रु दुई करोड चार लाख ५९ हजार ७४६ लगानीमा निर्माण सम्पन्न भएको सो परियोजना सञ्चालनमा आएपछि उज्यालोका लागि बत्ती बाल्न, टिभी हेर्न, मोबाइल, ल्यापटप चार्ज गर्न, विद्यालयमा कम्प्यूटर विषयमा पठनपाठन सञ्चालन गर्न सहज भएको छ ।

यसअघि सोलार र टुकीको भरमा रात कटाउँदै आएका खिबाङवासीको जीवनशैली सुधारका लागि लघु जलविद्युत् परियोजना सहयोगी बनेको स्थानीयवासी थमबहादुर गर्बुजाले बताए ।

हालसम्म केन्द्रीय प्रशारण लाइनको विद्युत् सुविधा नपुगेको धौलागिरि गाउँपालिकाको गुर्जा, मुना, मल्कवाङ, खिवाङ र मराङका बासिन्दा उज्यालोका लागि लघु जलविद्युत् परियोजनामा निर्भर छन् ।

गत साउनमा आएको पहिरोले ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजना र नहर पुरेपछि २ नम्बर वडामा पर्ने लुलाङका बासिन्दा अन्धकारमा रात कटाउन बाध्य छन् ।

गाउँपालिकाले ७ नम्बर वडा धारापानीदेखि केन्द्रीय प्रशारण लाइन विस्तारको काम शुरु गरेको अध्यक्ष थमसरा पुनले बताए । राससका अनुसार रु ३२ लाख विनियोजित योजनाबाट धारापानीका १५० घरमा यसै वर्ष बिजुली बाल्ने योजना छ ।