-शिवजी श्रेष्ठ
जबजब यतीको प्रसङ्ग आउँछ, एनआरएनसँग ‘यती’को नाता र सम्बन्धको कुरा आउँछ, तब मलाई नौ वर्षअगाडिको तत्कालीन राजा ज्ञानेन्द्रको लमजुङ जिल्ला भ्रमणका ती दृश्य याद आउँछ । राजा ज्ञानेन्द्र लमजुङवासीको अभिनन्दन ग्रहणपश्चात् जब हेलिकोप्टरतर्फ प्रस्थान गर्ने मञ्चबाट ओर्लिंदै थिए, तत्कालीन लमजुङ जिविस सभापति हेमजंग गुरुङले माथि डाँडातिर इशारा गर्दै राजा ज्ञानेन्द्रलाई केही भन्दै थिए । उनले राजालाई इशारा गरेको डाँडा थियो, गाउँसहर । जहाँ उभिएको थियो गाउँसहर दरबार, जहाँबाट सुरु भएको शाहवंशीय इतिहास, अर्थात् त्यही दरबारबाट द्रव्य शाह लिगलिगकोट पुगेका थिए र त्यहीँबाट उनले गोरखा राजाको स्थापना (वि.सं. १६१६) गरेका थिए । अनि, त्यहीँ गोरखा राज्यबाट नेपालको एकीकरण ।
तर, द्रव्य शाह कहिल्यै फर्किएर त्यो गाउँसहर एकीकरण त्यसैगरी गोरखा राज्यका राजा पृथ्वीनारायण शाह नुवाकोट जितेलगत्तै कहिल्यै आफ्नो आधारराज्य गोरखा फर्केर गएनन् । यतिसम्म कि उनी पछाडिका नौ पुस्तासम्मले पनि गोर्खा टेकेनन् । त्यसैले राजा ज्ञानेन्द्रको त्यस भ्रमणमा अपेक्षित थियो, उनको गाउँसहर दरबार अर्थात् पुख्र्यौली थलोको भ्रमण । त्यसैले हामीले सम्भावित भ्रमणलाई दृष्टिगत गरेर सुरक्षालगायतका अन्य आवश्यक व्यवस्था गरेका थियौँ । हेलिप्याडसमेत व्यवस्था गरेको त्यस पुख्र्यौली थलो अर्थात् शाहवंशको आधारशिलामा त्यो हेलिकोप्टर पुग्न सकेन । अहिले त्यस्तै लाग्छ बेलायतस्थित ‘यती’ संस्थाको इतिहास र वर्तमान पढेर, सुनेर अनि देखेर । ‘यती’ अर्थात् विदेशमा भारतबाहेक नेपालीहरूबाट स्थापना गरिएको पहिलो संस्था, जसको आफ्नै ऐतिहासिक गौरवगाथा छ । जसले परदेशिएका धेरै नेपालीलाई छहारी दियो, नेपाली विद्यार्थीबाट सुरु भएको यस संस्थाले नेपाली कला र संस्कृतिलाई बढावा दियो, बेलायती नेपालीको पर्याय बन्यो तर झन्डै-झन्डै आफैँ एउटा इतिहासको पानामा सीमित हुन अवस्थामा पुग्यो । सुनिन्छ अनि भनिन्छ कि विश्वव्यापी सङ्गठन बन्न सकेको गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को आधारभूमि बेलायत नै हो । अनि, त्यसभन्दा एक कदम अगाडि बढेर भनिन्छ- बेलायतमा ‘यती’ नै यसको आधारशिला थियो । एनआरएनको स्थापना हुँदा यतिसम्म भनिन्थ्यो रे, ‘यती’ हुँदाहुँदै किन एनआरएन ? आज त्यो कुरा साँच्चै हो र ? भन्ने अवस्थामा पुगेको छ । कसले पत्याउन सक्छ- ‘त्यो’ र ‘यो’ अवस्था ? जसको जगमा उठेको भनिएको ‘एनआरएन’ आज कसैले नजरअन्दाज गर्न नसकिने विश्वव्यापी सङ्गठन बनिसक्दा ‘यति’चाहिँ ‘नजरअन्दाज’ मात्र होइन ओझेलमै पारिसकिएको छ ।
संसारको इतिहास हेर्दा जति नै परिवर्तन भए पनि जति नै नयाँ कुराहरू बने पनि पुराना कुराको संरक्षण÷सम्बद्र्धन गर्ने गरेको देखिन्छ । तर, हामीमा त्यो कुरा लागू भएको देखिँदैन । हामी नयाँ कुराको सुरुआतसँगसँगै पुराना कुरा मास्न उद्यत् हुन्छौँ, नयाँपनको नाममा पुराना इतिहासलाई बीचबाटैमा छाडेर हिँडिदिन्छौँ । जब-जब म पाटन र काठमाडौं जोड्ने थापाथलीको बागमती पुल पुग्छु त्यहाँ दाहिनेपट्टि रहेको स्तम्भ देख्दछु, तब भीमसेन थापाले बनाएको पुरानोपुल सम्झन्छु, जो केही वर्षअघिसम्म बटुवाहरूलाई बागमती तर्न सघाइरहेको हुन्थ्यो । तर नयाँ पुलको विस्तारको नाममा त्यो ऐतिहासिक धरोहर पनि मासिएर गयो । मलाई ‘यती’को अवस्था पनि यस्तै लाग्छ- नयाँ-नयाँ संस्था बन्ने नाममा यो ऐतिहासिक संस्था बागमतीमा भीमसेन थापाले बनाएको पुलको नियति भोग्दै छ । कुनै दिन पाटन र काठमाडौंका जनताका आधारस्तम्भ रहेको त्यस पुलले नयाँ पुलको निर्माणसँगै जुन रूपमा औचित्यहीन बनाइँदै अस्तित्वविहीन पारियो, आज त्यसरी नै कुनै दिन बेलायतवासी नेपालीको आधारस्तम्भ रहेको ‘यती’ नयाँ-नयाँ सङ्गठन जन्मने क्रममा अस्तित्वहीन पारिँदै गएको देखिन्छ ।
पढिन्थ्यो, सुनिन्थ्यो अनि सुनाइरहेछ हिजो ‘यती’मा रहनु एउटा मर्यादाको कुरा थियो, शानको कुरा थियो । कुनै दिन यती कतिका लागि आधारस्तम्भ बन्यो, यसैमा टेकेर अनि समाएर कतिले आफूलाई उभ्याए । बेलायतमा एनआरएनको स्थापनाको नेतृत्व पनि यसै ‘यती’कै आधारमा तय भए । तर, यो आधारस्तम्भ भीमसेन थापाको पुलजस्तै बन्दै गइरहेछ । पृथ्वीनारायण शाहले छाडेर गएपछि उनका नौ पुस्ताले फर्केर पनि नहेरेको ‘गोर्खा’जस्तो भएको छ । अनि हेलिकोप्टरमा लमजुङ आएर पनि शक्तिसम्पन्न तत्कालीन राजा ज्ञानेन्द्रले एक फन्को मार्न नसकेको उही राजाको पुख्र्यौली जग (थलो) गाउँसहर दरबार भइदिएको छ ‘यती’ अहिले । नेपालमा प्रजातन्त्रको जग बसाउने ‘प्रजापरिषद्’जस्तो सुकेको बूढो रूख भइदिएको छ- अहिले ‘यती’ । ‘प्रजापरिषद्’ जसले प्रधानमन्त्री पनि जन्मायो, धेरै राजनीतिज्ञका आधारस्तम्भ बनेको थियो, तर नयाँ-नयाँ ‘मौका’सँगै सबैले छाड्दै गएको बूढो ‘प्रजापरिषद्जस्तो भइदिएको छ यो ‘यती’ ।
हिजो यसको आवश्यकता महसुस गरेर यसको जन्मदिनेहरूले पनि त्यति ‘खोजबखर’गरेको सुनिदैन । अनि हिजो यसैभित्र हुर्केकाहरू, खाई-खेली गरेकाहरू यसकै वरपर रहेर पनि यसलाई पुनर्जीवन दिन गम्भीरतापूर्वक लागि नै परेको महसुस पनि हुँदैन । ‘नयाँ पुस्ता’ त आखिर ‘रे’ मा नै सीमित हुने नै भयो । जिल्ला, वाद, गाउँ, जात, थर र टोलका नाममा संस्था जन्मिँदै जाँदा सबैको संस्थाको रूपमा जन्मिएको, हुर्किएको अनि छहारी बनेको यो संस्था हेर्दाहेदै ‘छ’-‘छैन’ को अवस्थामा पुग्न गयो । आधा शताब्दी काटिसक्दा पनि यसले आफ्नो स्वर्ण महोत्सव मनाउन नसक्ने पीडा भोग्नुप-यो । हाम्रो नेपालमा एउटा उखान छ, ‘खोलो त-यो, लौरो बिर्सियो’ सायद यसलाई चरितार्थ गर्ने प्रयासमा छौँ हामी । यसबीचमा सकि-नसकी चालू कार्यसमितिले लगन बितेपछि पनि स्वर्ण महोत्सव मनाउने प्रयासमा छ । सायद ‘यती’ले गाउँसहर दरबार, एकीकरणपश्चात्को गोरखा, भीमसेन थापाको थापाथली पुल अनि प्रजापरिषद्को जस्तो नियति भोग्न नपर्ला । एउटा आशा हो, जे होस् ‘यती’ तिम्रो स्वर्ण महोत्सवमा तिम्रा अभियन्ता अनि तिम्रा छहारीमा कुनै दिन बस्नेहरू निर्दयी भए पनि तिम्रा इतिहास ‘स्वर्ण’छन् । तिम्रो पुनर्जीवन अनि निरन्तरको शुभकामना ।
प्रतिक्रिया