-वि.सं. १७७९ मा गोरखामा जन्मेका वडामहाराजाधिराज पृथ्वीनारायण शाहको जवानी अवस्थाका सुरुवातसँगै बाइसे र चौबीसे राज्यमा विभाजित भएर रहेको नेपालको अस्तित्व जोगाउन सबै स-साना राज्यलाई एकीकृत गरी एउटै मजबुत राज्य निर्माणमा आफूलाई समर्पित गराउन अग्रसर भए (जुन कुरा सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली भन्ने वर्तमानको राष्ट्रिय गानले झल्काएको छ) तर, यतिबेला तिनै पृथ्वीनारायण शाहद्वारा स-साना गणराज्यहरू मिलाएर एउटै मजबुत बनाएको वर्तमान नेपाललाई सङ्घीयताको नामले टुक्राटुक्रा पार्ने कुचेष्टा गरिँदै छ । भन्दाखेरि राष्ट्रियगानमा सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली भन्ने र गराइमा धेरै फूलहरूलाई जम्मा पारेर एउटै माला बनाएको चुँडालेर टुक्राटुक्रा पार्ने योजनाले तीव्र गति लिनुले नेपाल सग्लो रहने सङ्केत हो भनेर कत्ति पनि भन्न मन लाग्ने ठाउँ यतिबेला बाँकी छ जस्तो लाग्दैन ।
पक्कै पनि पृथ्वीनारायण शाहका पालाका मानिस यतिबेला बाँचिरहेका छैनन् । तर, पृथ्वीनारायण शाहले स-साना राज्यहरूलाई मिलाएर एउटै मजबुत नवनेपाल बनाएकोमा उतिबेला बिमती राख्नेहरू यतिबेला पुनर्जन्म लिएर आएका हुन् कि भन्नुपर्ने भएको छ । त्यस्ता केही व्यक्तिलाई जसरी पनि नेपाललाई सङ्घीयताको नाम दिएर भए पनि टुक्राटुक्रा नपारी भएकै छैन । भनिरहेका छन् उनीहरू केही गरी पनि सङ्घीयता नभई हुँदैन । अझ उनीहरू जातीय नाम दिएर नेपाल भत्काउन तल्लीन छन् । साँच्चै पृथ्वीनारायण शाहले बाइसे र चौबीसे राज्यहरूलाई मिलाएर एकीकृत नेपाल बनाएको मन नपरेको इगो यिनीहरूमा मौलाएको हो त ? जे-जसो भए पनि टुक्राटुक्रा भएपछि दुश्मनलाई निल्न सजिलो हुन्छ भने यतिबेलाका मुलुकमाराहरूलाई ज्ञान नहुनु आश्चर्य छ ।
जसरी एउटा केराको बोटले एउटा घरी केरा दिइसकेपछि अर्को घरी दिन सक्दैन ऊ आफैँ मर्छ, त्यसरी नै अन्तरिम नामधारी संविधान २०६३ ले संविधानसभाबाट संविधान दिन नसकेर संविधानसभा आफैँ मरिसकेको अवस्थामा फेरि पनि केराको बोटझैं मरिसकेको अन्तरिम संविधान २०६३ ले नयाँ संविधान दिन सक्दैन भन्ने कुरालाई ख्याल नगरी मरेको केराको बोटमा केरा फलाउने कोसिस गरेझैं दलीय नेताहरूको जनता झुक्याउने पाराले यतिबेला नेपाली जनता भयभीत बनेका छन् ।
मरेको केराको बोट दोस्रोपटक पसायो भने सायद फेरि पनि अन्तरिम संविधानले संविधानसभाको निर्वाचन गराएर मुलुकलाई नयाँ संविधान देला अन्यथा अब फेरि न त संविधानसभाको निर्वाचन हुन्छ न त नयाँ संविधान बन्छ । सायद जनता झुक्याउने खेलको लामो समयसम्म ठाउँ पाउनेमा भने सफलता प्राप्त गर्न सम्भव हुनेछ । त्यति मात्रै नभएर पृथ्वीनारायण शाहले एकीकृत नेपाल बनाएको मन नपर्नेहरूले सफलता प्राप्त गरे भने अन्य देशमा शान्तिसेना पठाउने नेपालले नेपालभित्र संयुक्त राष्ट्रसङ्घको नामले अन्य विभिन्न मुलुकको शान्तिसेना भित्याउन भने सफलता प्राप्त नगर्ला भन्न सकिन्न ।
नयाँ नेपाल बनाउँछौँ भनेर जनता झुक्याउनेहरूले सोमालिया, इराक, अफगानिस्तानजस्तो कलहरूपी गृहयुद्धमा नेपाललाई पु-याए भने नेपाली जनताले कुनै आश्चर्य नमाने हुने भएको छ । सायद त्यसरी नेपाल भत्कँदा वर्तमानका नेपाल भत्काउन कम्मर कसेर लागेका पात्रहरूको आत्माले सन्तुष्टि नपाउला भन्न सकिन्न ।
सपुत र स्वाभिमानी नेपालीले आत्मैदेखि सम्मान गर्नुपर्ने महान् व्यक्ति बडामहाराजाधिराजले आफ्नो वयस्क उमेरमा सुखसयलप्रति ध्यान नदिई राज्यलाई बलियो बनाउन दिलोज्यान दिएर राष्ट्रप्रति आफूलाई समर्पित गरेका थिए । त्यस्ता महान् व्यक्तित्वलाई मिति १८३१ सालमा ५२ वर्षकै उमेरमा चटक्कै चँुडेर लाग्ने अत्याचारी कालले यतिबेला ५२ घर्केका देशद्रोहीलाई छानीछानी नलानुलाई अत्याचारी काल नभनेर के भन्ने ? सायद त्यो अत्याचारी कालले पनि यतिबेला घुस खाएछ कि भन्ने शङ्का-उपशङ्का गरेको नेपाली जनताको खासखुसे गुनगुनले यतिबेला अत्यधिक बजार पाएको हल्ला पनि यतिबेला सुन्न पाइन्छ । तिनै किनमेल गर्न बजार गएकाहरू पृथ्वीनारायणलाई ५२ वर्षको उमेरमा चटक्क चुँडेर लाने त्यो निर्दयी कालले यो महँगी बढाएर जनतालाई दुःख दिनेलाई देखेनछ कि क्या हो भन्ने ठट्टा गरिरहँदा कान ठाडो पारेर रमाइलो सुन्नेहरू पनि बजारमा कम छैनन् ।
यसरी जनता दिक्क भएको सत्यतथ्यलाई ख्याल गर्ने र देशलाई माया गर्ने हो भने आफ्नो गल्ती-कमजोरीलाई सम्झना गरेर अघि बढ्ने अलिकति पनि विवेक दलीय नेताहरू पलाएको छ भने वर्तमान मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई छिटो संविधानसभाको निर्वाचन गर्न दबाब दिनुभन्दा २०४७ सालको संविधान क्रियाशील गर्न मन्त्रिपरिषद्बाट निर्णय गराउनुस् भन्नु यतिबेला सान्दर्भिक हुने कुरा दलहरूले ख्याल गरे भने मुलुकले निकास पाउनेछ । अन्यथा नेपालका दुर्दशाका दिनहरू हटाउने संयन्त्र विश्वसामु कहीँ कतै भेटिने छैन न त पृथ्वीनारायण फर्केर आउनेछन् ।
प्रतिक्रिया