नयाँ मुलुकको रेलमार्ग खण्डहरमा परिणत

नयाँ मुलुकको रेलमार्ग खण्डहरमा परिणत


सुगौली सन्धिपूर्व नेपालको वर्तमान नक्सा हालको जस्तो थिएन । दुर्भाग्यपूर्ण सुगौली सन्धिमा नेपालले महाकाली तथा मेची नदीपारिका भूभाग मात्र होइन, तराईका ठूलो मैदान पनि तत्कालीन इस्टइन्डिया कम्पनी सरकारलाई सम्पिनुपरेको थियो । त्यसैबखत हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको मैदानी भूभाग पनि नेपालले गुमाउनुपरेको थियो । पछि भारतको प्रसिद्ध शहर लखनउमा चर्केको आन्तरिक विद्रोह दमन गर्न तत्कालीन कम्पनी सरकारलाई नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले सैनिक सहयोग गरेबापत कैलाली, कञ्चनपुर, बर्दिया र बाँकेको मैदानी भूभाग कम्पनी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको थियो । सो भूमिमा कम्पनी सरकारको आधिपत्य हटे पनि दशकौँ वर्षपछि पनि ब्रिटिस सरकारका निर्माणका अवशेषहरू अझै यस क्षेत्रमा रहेका पाइन्छन् ।

यस्तै ब्रिटिस कम्पनी सरकारको पालामा निर्माण गरिएको रेललाइन अझै बर्दियाको मध्यभागमा रहेको जङ्गलमा अझै दुरावस्थामा खण्डहरको रूपमा परिणत भएको छ । नेपालको बर्दिया जिल्लाको बुढान क्षेत्र र सुर्खेत जिल्लाको जामु–कइन्या क्षेत्रका जङ्गलमा काठहरू कटान गरी भारत निकासी गर्न यो रेलवे लाइनको निर्माण भएको थियो । बेलायती नागरिक कुरियलले यो क्षेत्रका काठ कटान गरी भारत निकासी गर्ने ठेक्का पाएका थिए । भनिन्छ, तिनै कुरियल भन्ने बेलायतीले यो रेललाइनको निर्माण गराएका थिए । त्यसैले यस लाइनलाई स्थानीय बासिन्दा कुरियल लाइन भन्ने सुर्खेतको जामु–कुइन्या क्षेत्रका काठहरू कर्णाली नदीमा बगाएर मोटरबोट (डुङ्गा) को सहायताले चिसापानीसम्म ल्याइन्थ्यो र त्यहाँबाट ट्रकमा हालेर दानुवातालसम्म ल्याइन्थ्यो र यसै रेल लाइनद्वारा भारततर्फ निकासी गरिन्थ्यो र बुढान क्षेत्रका काठहरू ठाउँठाउँमा थुपारेर यसै रेल लाइनतर्फबाट भारततर्फ काठहरू निकासी गरिन्थ्यो ।

यस रेललाइनमा रेल चलेको प्रत्यक्ष देखेको जिउँदो मान्छे यस क्षेत्रमा भेटिंदैनन । तर स्थानीय बूढापाकाहरूलाई सोध्दा यसैबाटोद्वारा काठ र कोइलाले चल्ने रेलमा ठूलठूला काठहरू लादेर लगेको, राताराता मुख भएका मान्छेहरू हुने गरेको कुरा सुनेको बडो रमाइलो किसिमले प्रस्तुत गर्ने गर्दछन् । भनिन्छ, त्यसबेला कुरियलले वनको काठ काटेबापत कम्पनी सरकारलाई १ रूखको जम्मा ९ पैसा दिने गर्थे र भारतमा ५० प्रतिशत नाफा लिई बेच्दथे जसबाट उनले ठूलो धन राशी आर्जन गरेका थिए । लाखौं रूखहरू काटिएर लगिंदा पनि नेपाल सरकारले एक सुको पनि नपाउनु हामी सबैको दुर्भाग्यपूर्ण पुर्परो हो ।

भारतको निशान डाँडादेखि नेपालको दनुवातालसम्म सरलरेखा तानिएसरह यो रेल लाइन बर्दियाका ढोढरी, बगनाहा, सूर्यपटुवा, ठाकुरद्वार, शिवपुर तथा नेउलापुरलगायत गाविसहरूसँग लुकामारी खेल्दै जंगलैजंगल लम्बिएको छ । यसको लम्बाइका बारेमा कसैले आधिकारिक जानकारी नदिए पनि ३० किमि रहेको दाबी गर्दछन् । पहिले यो मार्ग भारतका विभिन्न शहरमा किनमेल गर्न जाने प्रमुख मार्गको रूपमा रहेकोमा चोरडाकाको बिगबिगी बढेकाले हाल यो मार्ग प्रयोग हुन छाडिएको छ । चोरडाकाको डरले प्रयोग हुन छाडेको यो मार्ग छोटो दूरीका निम्ति अध्यापि प्रयोगमा रहेको छ । ससाना कुला–कुलेसामा समेत पुल नहुनु, नजिकै ग्रावेल भएको हुलाकी सडकसमेत भएको सो बाटोमा बसको समेत यातायात भएकाले यस लाइनको प्रयोग हुने कार्यमा कमी आएको छ । तर गर्मी एवं अन्य मौसममा पैदलयात्रीहरूका निम्ति भने यो मार्ग अति व्यस्त रहने गरेको छ ।

दुवैतर्फबाट माटो उठाइ अत्यन्त राम्रोसँग रोलिङ गरेको यो बाटो अझै ठाउँठाउँमा राम्रो अवस्थामा रहेको छ । कुरियलले रेलका लिकहरू उखेलेर लगे पनि पुलहरू रानै अवस्थामा छोडेका थिए । त्यसका अवशेषहरू अझै त्यस लाइनमा भेटिने गर्दछन् । पुरानो खण्डहरूलाई थोरै खर्चले पनि मर्मत गर्न सकिने र ससाना पुलहरू मात्र निर्माण गरे पनि पुग्ने यो रेललाइन उपयुक्त पर्यटन मार्गको रूपमा स्थापित हुन सक्छ । जंगलमा आगो फैलिन नदिनका निम्ति खनिने फायर लाइनको रूपमा कथित यो रेललाइन शाही बर्दिया राष्ट्रिय निकुन्जलाई समेत छेदन गरी जाने भएकाले यस निकुञ्जमा जंगल सफारीका निम्ति आउने पर्यटकहरूलाई जंगलका साथ ग्रामीण जनजीवनको दृश्य अझ रोचक हुन सक्छ । तसर्थ यो रेल लाइनको मर्मतसंभार गरी प्रसिद्ध स्थल दानुवाताल हेर्न जाने, जंगल सफारी मार्गको रूपमा पर्यटक मार्ग बनाउने कार्यमा प्रयोग गर्ने यसको मर्मतसंभार गर्न समयमै सबैसँग आह्वान गर्दछ ।

– चेतराज बजगाईं

(घटना र विचार साप्ताहिक, असार ३ गते बुधबार, २०५५)