देउवालाई गुटको नेता नबन्न पौडेलको आग्रह

देउवालाई गुटको नेता नबन्न पौडेलको आग्रह


नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैलजा आचार्यले गरेको निष्ठाको राजनीति सबैका लागि अनुकरणीय भएको बताएका छन् ।

शैलजा आचार्य आदर्श समाजले शैलजा आचार्यको नवौँ स्मृति दिवसका अवसरमा आज राजधानीमा आयोजना गरेको कार्यक्रममा पौडेलले सो कुरा बताएका हुन् । उनले भने, ‘आचार्य विद्रोही स्वभावको व्यक्ति हुनुहुन्थ्यो, विद्रोही स्वभावका कारण वि.सं. २०१७ मा राजा महेन्द्रलाई कालोझन्डा देखाउँदा जेल बस्नुभयो, उहाँको विद्रोही स्वभाव अन्तिम कालखण्डसम्म कायम रह्यो ।’

अर्को प्रसङ्गमा नेता पौडेलले सिद्धान्त र सङ्गठन भएको काङ्ग्रेस सिद्धान्तले जिते पनि सङ्गठनले हार्दा यो अवस्थामा आएको बताउँदै पार्टी सभापतिलाई गुटको नेताभन्दा सिङ्गो पार्टीको नेता हुन सुझाब दिए ।

नेता पौडेलले सरकारले दुईतिहाइको समर्थन जुटाउनु र सत्ता पक्षबाटै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुले गम्भीर आशङ्का पैदा गरेको सो अवसरमा उल्लेख गरे ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकार अधिनायकवादतर्फ अगाडि बढेको भन्दै उक्त कुरालाई रोक्न काङ्ग्रेस दह्रो रूपमा उभिनुपर्ने उनको भनाइ थियो । ‘बालकृष्ण ढुङ्गेललाई आममाफी दिनुले न्यायपालिका र कार्यपालिकाबीचको गठजोड त छैन भन्ने आशङ्का पैदा भएको छ,’ कोइरालाले बताए ।

कार्यक्रममा समाजकी अध्यक्ष दुर्गा घिमिरे, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी, पत्रकार पुरुषोत्तम दाहाललगायतले नेपालमा महिला अधिकार स्थापनाका लागि आचार्यले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । वि.सं. २००१ मा मोरङमा जन्मिएकी आचार्य ०४८÷५१ सालमा मोरङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । ०५३ मा उपप्रधानमन्त्रीसमेत बनेकी उनको ०६७ मा काठमाडौंमा निधन भएको थियो ।