टेलिकमले बदल्यो आफ्नो मोबाइल एप

टेलिकमले बदल्यो आफ्नो मोबाइल एप


नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ (Nepal Telecom) लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएललगायतका सेवाहरूको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

बताइएअनुसार यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सो बारे जानकारी प्राप्त गर्न सकिन्छ । पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद गर्नका लागि यो एपबाट सहज हुने छ ।

त्यसैगरी FNF Service बाट नेपाल टेलिकमका आफूले चाहेका पाँचवटा नम्बरमा सस्तो दरमा कल गर्नका लागि सेवा सुचारु गर्न सकिन्छ । विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जीएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुन्छ । पिन कोड राखेर वा रिचार्ज कार्ड स्क्यान ९स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिने कम्पनीको भनाई छ । यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेजहरू गिफ्ट दिन पनि सकिन्छ ।

साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिन्छ । कम्पनीको फेसबुकलगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ । यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरू डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पनि सकिन्छ । उक्त एपमा कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरूको महसुल दर बारे जानकारी लिन पनि सकिन्छ भने गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ (Nepal Telecom) एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि यो एप चलाउन सकिने टेलिकमले जनाएको छ ।