पासपोर्ट बनाउँदै हुनुहुन्छ ?

पासपोर्ट बनाउँदै हुनुहुन्छ ?


nisedhतपाईं नारायणहिटी दरबारको पश्चिम गेट हुँदै कतै जाँदै हुनुहुन्छ या कहीँबाट फर्कंदै हुनुहुन्छ भने बिदाको दिनबाहेक अन्य कुनै पनि दिन बिहान सबेरैदेखि दिनभरि नै युवाहरूको लाम देख्नुहुनेछ । पहिलोपल्ट राजधानी आएका या त्यहाँ भित्र के छ भन्ने कुरा थाहा नभएकाहरूलाई त किन ती मानिस ओठ-मुख सुकाएर त्यसरी दिनभर लाममा बसेका हुन् भन्ने थाहा पनि हुँदैन । नारायणहिटी राजदरबार रहँदा पार्किङ लट रहने गरेको त्यो ठाउँमा मानिस हे भगवान् भित्र जाने आफ्नो पालो चाँडै आओस् भनेर प्रार्थना गरिरहेका हुन्छन । कर्णालीमा बेलाबेलामा खाद्यान्न पुग्दा चामल लिन उभिएको भीडजस्तो देखिए पनि उनीहरू त्यहाँ अन्तर्राष्ट्रिय जगत्मा आवश्यक पर्ने आफ्नो राष्ट्रिय परिचय अर्थात् पासपोर्ट लिनका लागि लाम लागेका हुन् । त्यहाँ एउटा नेपाली हुनुको परिचय प्राप्त गर्नका लागि नेपाली नागरिकले जिन्दगीमा ठूलै लडाइँ जितेको अनुभव गर्नुपर्ने अवस्था छ । पासपोर्टका लागि कागजपत्र मिलाउने क्रममा पटकपटक जिल्ला पुग्दै फर्कंदै गर्नुपर्ने स्थिति भोग्नेहरू त्यहाँ प्रसस्त भेटिन्छन्, जसको पासपोर्ट बनाउनकै लागि काठमाडौं धाउँदा ऋणसमेत परिसकेको छ । विदेश गएर काम गरी आफू र आफ्नो परिवार पाल्ने सपना देख्नेहरूदेखि पटकपटक विदेश गइसकेका तर अहिले पासपोर्टको म्याद सकिएर नवीकरण गर्नुपर्नेहरूसम्म लाममा भेटिन्छन् । यदि हरेक जिल्लामा पासपोर्टका लागि छिटो-छरितो सेवा उपलब्ध हुँदो हो त त्यसप्रकारको लाम हुने थिएन । नेपाली नागरिकले सहज रूपमा प्राप्त गर्नुपर्ने पासपोर्टका लागि भगवान् पुकार्नुपर्ने थिएन ।
साधारण पासपोर्टभन्दा मेसिन रिडेबल पासपोर्टमा केही समय लाग्ने हुँदा यसका लागि द्रुत सेवामार्फत दश हजार तिरेर सात दिनभित्र पासपोर्ट लिन सक्ने व्यवस्था गरिएको छ । सामान्यतया पाँच हजार तिरेर ४५ दिनमा दिने गरिएको रहेछ । आफ्ना नागरिकलाई आपत्-बिपत् नै प-यो र आजको भोलि नै बनाउनुप-यो भने के गर्ने या कस्तो अवस्था आइलागे ‘इमर्जेन्सी’ भन्ने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने कुनै सरकारी नीति छैन । जुन नीति बनाउनु अत्यन्त आवश्यक छ । मुलुकका नीति नियमहरू कुन क्षेत्रमा कहाँ के-कस्ता छन् भन्ने कुरा पनि आफैँलाई परेपछि मात्रै जानकारी राख्ने हाम्रो बानी छ । आफूलाई अप्ठ्यारो परेपछि मात्र अरूले यस्तो बेलामा के गर्दा हुन् भन्ने कुराको सम्झना हुन्छ, नत्र त कसले कहाँ के गरिरहेको छ खोजी गरेर साध्य हुने कुरा पनि भएन । पासपोर्टसम्बन्धी भएको एउटा व्यवस्थाचाहिँ जोकोही सचेत नागरिकका लागि आश्चर्य लाग्ने प्रकारको रहेछ । तपार्इं पहिल्यै पासपोर्ट लिएर विदेश गइसक्नुभएको या भनौँ पासपोर्ट बनाइसक्नुभएको, एउटा मात्र नभएर पटक-पटक पासपोर्ट नवीकरण गरिसक्नुभएको व्यक्ति हुनुहुन्छ भने पनि अब नयाँ पासपोर्ट लिँदै हुनुहुन्छ भने पुरानो पासपोर्ट होइन तपाईंको नागरिकताको इतिहास हेरिन्छ । तपाईंले १६ वर्ष पुगेपछि सम्पूर्ण प्रक्रिया पु-याएर लिनुभएको नागरिकता देखाएर मात्र पुग्दैन तपाईंले सम्बन्धित जिल्लाबाट सो नागरिकता लिनुभएको हो र त्यहाँ उल्लेखित विवरण ठीक छ भन्दै तपाईं नेपाली नागरिक भएको कुरा त्यहाँको जिल्ला प्रशासन कार्यालयबाट पुनः प्रमाणित गराउनुपर्नेछ ।
नागरिकताको ‘रि भेरिफिकेसन’ प्रक्रिया आफैँमा झन्झटिलो मात्र होइन हास्यास्पद र ‘हिम्युलिएटिङ’ पनि छ । जुन नागरिकताको आधारमा पासपोर्ट बनाएर देश-विदेश पुगेर आइसकेको मात्र होइन सोही पासपोर्टका आधारमा कतिपय अवस्थामा राष्ट्रिय गौरव राख्ने कीर्तिमानहरू पनि भइसकेका छन् भने पनि उसले फेरि आफूले नागरिकतालाई केवल पुनः अर्को पासपोर्ट बनाउनका लागि जिल्ला प्रशासनबाट प्रमाणित गराउँदै हिँड्नुपर्ने अति वाइयात नियम हामीकहाँ छ । तपाईं राष्ट्रप्रमुखका साथ मुलुकका औपचारिक राष्ट्रिय भ्रमणहरूमा रेड पासपोर्ट लिएर पटकपटक मुलुकको प्रतिनिधित्व गर्दै मुलुकबाहिर जानुभएको रहेछ भने पनि तपाईंमाथि सोही नियम लागू हुन्छ । तपाईंले जिल्लाबाट आफ्नो नागरिकताको भेरिफिकेसन पत्र प्राप्त गरेपछि मात्रै पासपोर्टका लागि प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ । यो पङ्क्तिकार आफ्नै कुरा गर्ने हो भने पनि रातो पासपोर्ट लिएर राजकीय भ्रमणमा सहभागी भइसकेको र आफ्नो व्यावसायिक कामको सिलसिलामा पटकपटक विभिन्न मुलुकको भ्रमण गरिसकेको अवस्थामा पनि सोही नियम लागू भयो जुन नियम पहिलोपल्ट पासपोर्ट लिँदै गरेकाहरूमा लागू हुने गर्छ । सरकारको नीति नै त्यस्तो भएपछि कसैलाई सहज कसैलाई कठिन भन्ने कुरै भएन, स्वाभाविक रूपमा त्यो सबैमा लागू हुन्छ । तर, विगतमा पासपोर्ट होल्ड गरिसकेका व्यक्तिले पनि नयाँ पासपोर्ट बनाउन नागरिकतातिर पुग्नुपर्ने यो सरकारी नियम जसको पालामा बनेको भए पनि र जुनसुकै आशय वा मनशायले बनाइएको भए पनि त्रुटिपूर्ण छ ।
नागरिकता, पासपोर्टजस्ता कुरा नेपाली हुनुका राष्ट्रिय परिचय हुन् । मुलुकले राम्रो गरे या मुलुक समृद्धितर्फ लम्किए यी परिचयले इज्जत र सम्मान पाउँछन्, दुर्गतितिर लागे पाउँदैनन् । तपार्इं व्यक्तिगत रूपमा जतिसुकै असल मानिस हुनुस् र जतिसुकै सम्पन्न हुनुस् यदि तपाईंको देश गरिब छ र विश्वका समृद्धशाली मुलुकको सूचीमा छैन भने अन्तर्राष्ट्रिय जगत्मा तपाईंको सम्मान स्वतः घट्छ या हुँदैन । अन्तर्राष्ट्रिय जगत्मा हाम्रा पासपोर्टहरूले पटकपटक ह्युमिलिएसन भोगेका छन् । सँगै यात्रा गरिरहेका साथीहरू सरासर बाहिर गएर कुनै देश घुमेर फर्किंदा आफू भने ट्रान्जिटमा कुरेर बस्नुपरेका अनेक अनुभव यो पङ्क्तिकारसँग छ । एकपटक अफ्रिकन मुलुक सेनेगल जाँदै गर्दा मोरक्कोमा लामै ट्रान्जिट परेको थियो । नेपालमा काम गर्दै आएकी मसँगै यात्रा गरिरहेकी साथी ब्रिजिट त्यहाँको इमिग्रेसनबाट सरासर बाहिर निस्किएर घुमेर फर्किइन्, म भने त्यहीँ बसेँ । हामी एउटै कार्यक्रममा जाँदै थियौँ, एउटै मुलुकबाट फरक यति थियो कि उनी क्यानेडियन नागरिक थिइन् र म नेपाली । मोरक्कोको इमिग्रेसनले मलाई होइन मेरो पासपोर्टलाई रोकेको थियो, मेरो देशलाई रोकेको थियो । परदेशको भूमिमा हामी भन्नुको अर्थ त्यही हाम्रो पासपोर्ट नै हो । देशबाहिर त ह्युमिलिएसन भोग्नु नै छ, आफ्नो मुलुकमा भने सबै नेपाली नागरिकले ससम्मान पासपोर्ट लिन पाउने व्यवस्था हुनुपर्छ । राहदानी विभागको गेटबाहिर र भित्र लाइनमा बसेकाहरूलाई त्यहाँका कर्मचारी तथा सुरक्षाकर्मीले सम्मानजनक व्यवहार गर्नु आवश्यक छ । राहदानी विभागमा रहेकाहरूले आफू गज्जब ठाउँमा छु जसलाई जस्तो व्यवहार गरे पनि हुन्छ भन्ने सोच्नुभन्दा के बुझ्नु आवश्यक छ भने उहाँहरू जो-जो त्यहाँ खटिनुभएको छ तिनै लामबद्ध भएकाहरूका कारणले खटिनुभएको छ । कसैले पासपोर्टका लागि त्यहाँसम्म धाउनुपर्ने अवस्था नहुँदो हो त यहाँहरू अहिले अरू नै कुनै विभागमा रहनुहुने थियो । नेपालीले नै नेपालीलाई सम्मान नदिने हो भने अरू मुलुकमा सम्मान पाइएन भनेर गुनासो गर्नुको कुनै तुक हुने छैन ।