खेलकुद र खेलाडीबीच नयाँ ‘सेतु’ बन्ने ‘स्पोर्टस् युनिभर्स’

खेलकुद र खेलाडीबीच नयाँ ‘सेतु’ बन्ने ‘स्पोर्टस् युनिभर्स’


sport‘गुनको बदला गुन’ यही उखानलाई आत्मसात् गर्दै चर्चित तेक्वान्दो खेलाडी दीपक विष्टले आफ्नो खेलजीवनको दोस्रो पारी शुभारम्भ गरेका छन् । मुलुकले आफूमाथि गरेको लगानीको हेक्का राख्दै खेलजीवनपश्चात् पनि खेलकुदमै बिताउन दीपकले ‘स्पोर्टस् युनिभर्स’ खोलेका हुन् । खेलकुदसँगको सम्बन्धलाई अझ गाढा पार्न र खेलाडीको सम्बन्धलाई सुमधुर बनाउन स्पोर्टस् युनिभर्स ‘कोसेढुङ्गा’ सावित हुने विष्टको ठम्याइ छ । सर्वसुलभ तरिकाले खेलकुद सामग्री बिक्री गरेर नाफाको केही हिस्सा आर्थिक रूपमा कमजोर भएका तर प्रभावशाली खेलाडीका लागि खर्चिने उनको योजना छ । आफूलाई पैसा कमाउन अमेरिका, युरोप र एसियाली राष्ट्रको ढोका खुला भए पनि दीपकले पलायनवादी सोचलाई परित्याग गर्दै आफ्नै देशमा केही गर्ने सोचका कारण स्पोर्टस् युनिभर्स खोलेका हुन् । लामो समय मुलुकका लागि खेल्दा र मान, सम्मान र प्रतिष्ठा बढाउँदासमेत राज्यले खेलाडीको हितमा स्पष्ट नीति ल्याउन नसक्दा खेलाडीलाई आर्थिक समस्याले गाँजेको जगजाहेरै छ । यस्तो अवस्थामा खेलाडीले विकल्पको रूपमा विदेश पलायनलाई रोजेको कदापि बिर्सन सकिँदैन ।
व्यापार र सामाजिक सेवालाई एकसाथ अगाडि बढाएका दीपकले ६० लाखको लगानीमा काठमाडौंको शंखमूल मार्गस्थित शुम्भेश्वर कम्प्लेक्सको दोस्रो तलामा स्पोर्टस् युनिभर्स खुलेको छ । जहाँ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, टेबुलटेनिस, साइक्लिङ, स्विमिङ, हकी, जर्सी, जुत्तामोजा र मार्सल आर्टस्का सबै खेल सामग्री एउटै छानामुनि पाउन सकिन्छ । राजधानीमा खेलकुद सामग्रीहरू बिक्री–वितरण गर्ने थुप्रै पसल र मलहरू भए पनि एउटा खेलाडीले पवित्र भावना राखेर खोलेको यो नै पहिलो खेलकुद पसल बन्न पुगेको छ । गत साता कीर्तिमानी धावक तथा ओलम्पियन वैकुण्ठ मानन्धर र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले यो ‘स्पोर्टस् युनिभर्स’को संयुक्त रूपमा उद्घाटन गरेका थिए । उद्घाटनसँगै सदस्यसचिव लामाले स्पोर्टस् युनिभर्सको सञ्चालनसँगै खेलाडीको आपसी भाइचारामा अझ प्रगाढ हुने बताएका थिए । त्यस्तै धावक वैकुण्ठ मानन्धरले एउटा खेलाडीले गरेको प्रयासलाई अन्य खेलाडीले पनि साथ दिनुपर्ने र सफल पार्नुपर्ने राय प्रकट गरेका थिए ।
राजधानीमा थुप्रै स्पोर्टस् पसलहरू छन् यस्तो अवस्थामा ‘स्पोर्टस् युनिभर्स’ खोल्नुपर्ने उद्देश्य के हो ? भन्ने प्रश्न राख्दा दीपकले भने– सर्वप्रथम आफूलाई खेलकुदले ठूलो गुन लगाएको छ, आजको चर्चित खेलाडी दीपक विष्टको रूपमा चिनाउन अहम् भूमिका निर्वाह गरेको छ, त्यसैले खेलकुदको गुन तिर्न स्पोर्टस् युनिभर्स खोलेको हुँ । अर्को कुरा सक्रिय खेलजीवनपश्चात् पनि खेलकुदसँगको सम्बन्ध अटुट रहने र नौलो नाता जोडिने हुनाले यस्तो निर्णय गरेकोे हुँ । त्यस्तै सबै खेलाडी गाउँबाट आएका हुन्छन्, उनीहरूको आर्थिक अवस्था निकै कमजोर हुन्छ, खेलाडीलाई सर्वसुलभ तरिकाले खेलकुद सामग्री बिक्री गरेर राहत पु-याउनु अर्को प्रमुख उद्देश्य हो । वास्तविक रूपमा भन्नुपर्दा खेलाडी र खेलकुदको विकासमा केही न केही राहत पु-याउने उद्देश्य हो । जसको मैले घोषणासमेत गरिसकेको छु जुन हरेक वर्ष गर्नेछु ।
यस्तो प्रतिस्पर्धामा चुनौती र सम्भावना निकै जटिल छ, व्यक्तिगत सम्बन्धकै कारणले व्यापार गर्न सकिन्छ र भन्दा दीपकले आफूले निकै सम्भावना देखेको बताए । अहिले स्कुल र कलेजमा स्पोर्टस् अनिवार्य भएको छ, विभागीय टिम, क्लब र खेलकुदका सङ्घहरूमा पनि खेलकुद सामग्रीको निकै माग छ । यस्तो अवस्थामा सर्वसुलभ मूल्यमा खेलकुद सामग्री पठाउन सकियो भने निकै सम्भावना देखेको छु । चुनौतीहरू आफ्नो ठाउँमा भए पनि हरेक जिल्लामा खेलकुद सामग्री पठाउन सकेँ भने त्यहाँ पनि निकै सम्भावना छ । अझ वर्तमान अवस्थामा नेपालमा पनि हेल्थ कन्सेसको भावनामा वृद्धि भएकाले खेलकुदमा ठूलो सम्भावना देखेको छु । जहाँसम्म व्यक्तिगत सम्बन्धको कुरा छ, व्यापारमा व्यक्तिगत सम्बन्धले ठूलो अर्थ राख्छ । म एउटा खेलाडी भएको नाताले मैले यसलाई निकै सकारात्मक रूपमा लिएको छु । एउटा खेलाडीले खोलेको पसलमा उनीहरू अवश्य आउनेछन् ।
खेलकुदको विकासमा सहयोगी भावनाको निकै कमी छ, यस्तो अवस्थामा व्यापार र सामाजिक कार्य एकैसाथ लैजाने प्रतिबद्धता देखाउनु अलि हतार हँुदैन र भन्दा खेलकुदमा जसरी सबैको साथ पाएर म सफल भएँ त्यसरी नै सफल हुने उनको प्रस्ट जवाफ थियो । खेलाडीले खेलकुदका सामग्री खरिद गर्नेमा उनी विश्वस्त थिए । मैले पैसा कमाउनका लागि मात्रै व्यापार गरेको होइन, मेरो पवित्र उद्देश्य पनि यसमा समाहित छ । मैले मेरो सामाजिक सेवाको भावनालाई सफल पार्न यो व्यवसायलाई अपनाएको हुँ । जसलाई साकार पार्न खेलाडी साथीहरूलगायत अन्य खेलकुदलाई माया गर्नेहरूले पनि सहयोग गर्ने कुरामा विश्वस्त छु । पैसा कमाउनै थियो भने म यो व्यापार कदापि गर्ने थिइनँ । मलाई अमेरिका, युरोप र एसियाली मुलुकवाट निकै अफर आएको थियो, तर मैले पैसालाई भन्दा मुलुकलाई बढी प्राथमिकतामा राखेँ । मुलुकले मलाई यत्रो लगानी गरेको छ भने मैले मुलुकका लागि किन लगानी नगर्ने भने सोचँे । आज त्यही सोचको परिणामको रूपमा स्पोर्टस् युनिभर्सको सञ्चालन गर्न सफल भएको छु । सबैको साथ पाएमा मेरो उद्देश्य सफल हुने कुरामा म विश्वस्त छु ।
खेलकुद र खेलाडीबीच नयाँ ‘सेतु’ बन्ने आत्मविश्वासका साथ दीपकले अहिले खेलकुदमा नयाँ पारीको आरम्भ गरेका छन । खेलकुदमा सफलताको ऐतिहासिक कीर्तिमान राखेर हिरो बनेका दीपकले यसमा कति सफलता हासिल गर्छन् त्यो अहिले प्रतीक्षाको विषय बनेको छ । आफ्नो खेलकुदको छविलाई स्पोर्टस् युनिभर्समा दुरुस्त उतार्ने कोसिसका साथ अगाडि बढेका दीपकलाई हाम्रो शुभकामना । अधिराज्यभरिका खेलाडीको बीचमा नयाँ ‘सेतु’ बन्ने उनको सपना पूरा होस् । खेलाडीमा आपसी भाइचारा र प्रेमको सन्देश दिन स्पोर्टस् युनिभर्स सफल होस् ।

किङ्ग्स कपमा ताराद्वारा तीन राष्ट्रिय कीर्तिमान
नेपालकी तारादेवी पुन थाइल्यान्डको श्रीसाकेत सहरमा भएको किङ्ग्स कप अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी छिन् । ताराले ७५ केजी तौल समूहको स्न्याचमा ६६ केजी र क्लिन एन्ड जर्कमा ९० केजीसहित कुल १५६ केजी भार उचाल्दै राष्ट्रिय कीर्तिमान राखेकी हुन् । यसअघि यस तौल समूहमा उनकै नाममा स्न्याचमा ६० केजी, क्लिन एन्ड जर्कमा ८० र कुलमा १४० केजीको राष्ट्रिय कीर्तिमान थियो । उनले यो कीर्तिमान लुभुमा आयोजित तेस्रो महिला खुला भारोत्तोलन प्रतियोगितामा राखेकी थिइन् । प्रतियोगिताअन्तर्गत पुरुषको ७७ केजी तौल समूहमा नेपाली सेनाका साग स्वर्ण पदकधारी कमलबहादुर अधिकारीले चौथो स्थान हात पार्न सफल भएको टिम प्रशिक्षक सञ्जय महर्जनले जानकारी गराएका छन् । कमलले स्न्याचमा ११५ केजी र क्लिन एन्ड जर्कमा १५५ केजीसहित कुल २७० केजी भार उचालेका थिए । त्यस्तै महिलातर्फ ५८ केजी तौल समूहमा नेपाल प्रहरीकै उत्तम खत्रीले स्न्याचमा ६१ केजी र क्लिन एन्ड जर्कमा ७३ केजी गरी कुलमा १३४ केजी भार बहन गरेकी थिइन् ।

विश्व टेबुलटेनिसमा नेपाली खेलाडी
लिबहार विश्व टेबुलटेनिस च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले भाग लिने भएका छन् । एक/एक पुरुष र महिला खेलाडीले मे १३ देखि २० तारिखसम्म फ्रान्सको पेरिसमा हुने विश्व च्याम्पियनसिपमा भाग लिन लागेका हुन् । प्रतियोगिताको पुरुष एकलमा अजय सुवाल र महिला एकलमा नविता श्रेष्ठले सहभागिता जनाउनेछन् । उनीहरूले मिक्स डबल्समा पनि प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडी शीर्ष बरियताका हुन् । उक्त प्रतियोगितामा सहभागी हुन समान तीन/तीन पुरुष/महिला खेलाडीका साथै एक व्यवस्थापकको प्रवेशाज्ञाका लागि आवेदन गरिएकोमा अजय र नविताको मात्र स्वीकृति प्राप्त भएको अखिल नेपाल टेबुलटेनिस सङ्घले जनाएको छ । बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव लामाले धेरै खेलाडीमध्ये थोरै खेलाडी अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने हुँदा खेलाडीले पाएको अवसरलाई भरपूर सदुपयोग गर्नुपर्ने विचार राखेका थिए । सो अवसरमा टेबुलटेनिस सङ्घका अध्यक्ष चतुरानन्दराज वैद्य, महासचिव कुवेरप्रकाश सिंह, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

अन्तरविश्वविद्यालय ट्वान्टी– २० क्रिकेट अर्को महिना
काठमाडौं विश्वविद्यालय (केयू) को आयोजना तथा विश्वविद्यालय खेलकुद सङ्घ नेपालको सहआयोजनामा प्रथम अन्तरविश्वविद्यालय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता जेठ १६ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ‘फस्र्ट कम फस्र्ट सर्भ’का आधारमा अधिकतम २४ टिमलाई सहभागी गराइने स्टुडेन्ट वेलफेयर, केयूका एसोसिएट डाइरेक्टर विवेक बरालले जनाएका छन् । नेपालका विश्वविद्यालयबाट सम्बन्धन पाएका कलेजमा पढ्ने विद्यार्थीले मात्र खेल्न पाउनेछन् । सहभागी टिमलाई आठ समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहको विजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछ । पहिलो हुने टिमले ५१ हजार र दोस्रोले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान नौ–नौ हजार हात पार्नेछन् । ‘म्यान अफ टुर्नामेन्ट’लाई ११ हजार नगद प्रदान गरिनेछ । सेमिफाइनल र फाइनल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । त्यसअघिका खेलहरू धुलिखेलमा खेलाइने सहआयोजक सङ्घका महासचिव पूर्णसिंह बोहोराले जनाएका छन् ।

दोषीमाथि कारबाहीको माग
मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आफ्ना उपाध्यक्ष राजेन्द्र मण्डलको हत्यामा संलग्नको यथाशीघ्र खोजी गरी दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेको छ । मण्डलको वैशाख २५ गते अज्ञात समूहबाट हत्या भएको समितिले जनाएको छ । ‘खेल क्षेत्रमा बारम्बार हुने यस्ता किसिमको आक्रमणले खेल क्षेत्रको विकासमा गम्भीर असर परेको हुँदा तत्काल हत्यामा संलग्न व्यक्तिको यथाशीघ्र खोजी गरी दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूसँग जोडदार माग गर्दछौँ,’ समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा मध्यमाञ्चल क्षेत्रमातहतका १९ जिल्ला खेलकुद विकास समितिलगायत सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरू एक साथ सङ्घर्षमा उत्रन बाध्य हुनेछौँ ।’

काठमाडौं विद्यालय फुटबल सङ्घ गठन
एपेक्स लाइफ स्कुलका सुवास न्यौपानेको अध्यक्षतामा काठमाडौं जिल्ला विद्यालय फुटबल सङ्घ गठन गरिएको छ । नेपाल विद्यालय फुटबल सङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव विजय सम्बाहाम्फेलगायतको उपस्थितिमा गठन भएको जिल्ला सङ्घ एघार सदस्यीय रहेको छ । नवगठित सङ्घको उपाध्यक्षमा भीष्म पाण्डे र हरिदास श्रेष्ठ, सचिवमा मिलन गुरुङ, कोषाध्यक्षमा ऋषि बराल र सहकोषाध्यक्षमा श्रीबहादुर कार्की रहेका छन् । ज्ञानरत्न महर्जन, भोजराज शाही, कुन्दन लामा, सूर्यबहादुर भण्डारी र विनय वैद्य सदस्यमा चयन भएका छन् ।