सोच-ठाकुरमान लामा

सोच-ठाकुरमान लामा


हरेक प्रहर
म सोच्छु
अविरल सोच्छु
सोच्छु
के वास्तवमै म
देशका लागि सोच्छु ?

सोच्छु
सोचेको भए
आज देश यस्तो हुने थिएन
एक नेपालीले अर्को नेपालीलाई
देख्दा भेट्दा नचिन्ने बन्ने थिएन
माया प्रेमको सट्टा
घृणा र द्वेष हुने थिएन
यस्तो हुनुमा कतै
म आफैं कमजोर भएर त होइन
यस्तै-यस्तै सोच्छु

सोच्छु
सायद मेरै कमजोरीले होला
मेरो देश यति साह्रो
निरीह भएर उभिएको छ
हरेक कुरामा अरूमै निर्भर
गाँस, बास, कपासदेखि
यहाँ जीवन पनि
अरूकै इशारामा चलाउनुपर्ने
उफ के यही हो त
नेपाली आमाको सन्तान हुनुको गर्व
कनिकुथी सोच्छु

सोच्छु
शान्तिका लागि कामना गरे
तर शान्तिका लागि पहल गरिन होला
आदर्श र सिद्धान्तको कुरा गरे
तर व्यवहारमा ढालिन होला
बग्रेल्ती ठडिँदै गइरहेका
उच्च महलहरूमाझ
कुनै कुनामा थन्किरहेको
त्यस्तै उच्च सोचलाई अगाडि
ल्याउन सकिनँ होला
उफ म कस्तो देशप्रेमी हु
यस्तै-यस्तै सोच्छु

सोच्छु
अनगिन्ती कैयनचोटि
धरतीको यो माटोमा
मैले जन्म लिएँ यहीँ हुर्कें
तर पनि आज
मन उजाड लाग्छ
यहाँका प्रदूषित मनहरू देखेर
जो आफैं आफैंमा घृणित खेलहरू
खेल्दै हासिरहेका छन्
अनि मचाहिँ मूकदर्शक
मेरो माटोको छातीमा कुल्चिएका
डोबहरू हेर्दै बसिरहेको छु
छी: आफैंदेखि
घृणा जागेर आउँछ
अनि घृणा लागेर आउँछ
आफ्नै जन्मप्रति
अनि यस सत्य सोचमा
आफैलाई एक
घृणित पात्रको रूपमा सोच्छु
आफैंलाई एक
घृणित पात्रको रूपमा सोच्न थाल्छु ।

विवशता-किरण श्रेष्ठ ँविवश’

मुखदेखि मनमस्तिष्कसम्म, आज साँचो लाउनुपर्यो
खस्न लागेका शब्दसमेत, टिपेर आज लुकाउनुपर्यो

यो मेरो विवशता भनूँ या, सदासयताको परिचय भनूँ
दाहिने गाला या देब्रेमा भनूँ, आखिर आफ्नै गालामा पर्यो

सहिदिन्छु निचोरी आफ्नै मुटु, भित्रभित्रै रुन त बाँकी नै छ
खस्न नपाएको आँसु पिइदिन्छु, दु:ख पोख्नु त बाँकी नै छ

पुकारेँ भगवान् धेरैपल्ट, पाइनँ दर्शन मिल्यो आभास मात्र
त्यो पनि ठूलो आडभरोसा, मनभित्रको मन्दिरभित्र

तरिका रहेछ जिउन यहाँ ढोँग रची जिउन यहाँ हाँसी-हाँसी
रोई-रोई बाँच्नुभन्दा, ढोङ नै सही बाँचौँ हाँसी-हाँसी ।
– पेप्सी (मनहरा बस्ती), काठमाडौं

गजल-शिविश भण्डारी
जून उदाएन अब यो बाटो बिग्रने भो
मायाको संसार अब यो भत्कने भो

मिलनको बिन्दुले जूनको बाटो रोजेपछि
मायाको भेटै नभई अब बिहान हुने भो

पर्खेको त्यो बाटो भेट्न दोभान पुगेपछि
बाटो हेर्दाहेर्दै यो अँधेरी बित्ने भो

चन्द्र पनि यो संसारमा अनौठो भइदियो
जब उदायो बिहान कुखुरीकाँ गरिसक्ने भो

चोखो माया हाम्रो अनि तिरस्कार समाजको
सूर्यको किरण नपर्दै हल्लैहल्ला हुने भो ।