बन्दको इज्जत राख्ने हो कि ?

बन्दको इज्जत राख्ने हो कि ?


nisedh‘भोलि बन्द रे हो ? किन रै’छ ? ख्वै…त्यही अख्तियारमा कसको नियुक्ति भयो नि त्यसैको विरुद्धमा गर्न लागेको रे…राजधानीका व्यस्त सडकमा नारा–जुलुस भएको टेलिभिजनमा देखेर सबै राजधानीबासी त्यहीँ थुप्रिएका होलान् झैं लागे पनि धेरैलाई यो के भइरहेको हो ? किन भइरहेको हो भन्ने थाहासम्म छैन । तपाईं पाटन, असन, कीर्तिपुर या यस्तै घना बस्ती भएका ठाउँका चोकतिर गएर एकछिन बस्नु भो भने बन्दको बारेमा यस्तै कुरा सुन्न सक्नुहुन्छ । यो सहरमा एउटा ठूलो जमात छ जसलाई यो मुलुकमा व्यवस्था नै परिवर्तन हुँदाताका के भइरहेको छ अलिअलि जानकारी भए पनि अरू कुराले खासै छुँदैन । अख्तियारमा लोकमानसिंह कार्कीको नियुक्तिलाई लिएर घोषणा भएको बन्द दुईपल्ट रद्द भएको छ । बन्दको घोषणा किन भएको थियो भन्नेबारे त्यति भेउ नपाएकाले पनि रद्द किन भयो भन्नेचाहिँ स्पष्ट बुझेका छन । एउटा बन्द आमाको मुख हेर्ने दिन परेर स्थगित गरियो र अर्को बन्द रातो मच्छेन्द्रनाथको जात्रा परेर । मातातीर्थ औंसीका दिन ‘धन्न बन्द नभएकाले आमाको मुख हेर्न पाइयो’ भन्नेहरू धेरै थिए । रातो मच्छेन्द्रनाथको जात्राको दिन पनि आफ्नो परम्पराअनुसार आफन्त जम्मा हुने, पूजाआजा गर्ने, खानपिन गर्ने अथवा भनौँ जात्रा मनाउनेहरूले सोही कुरा दोहो-याए, बन्द भएको भए बर्बाद हुन्थ्यो, धन्न बन्द नभएर । हामीकहाँ अलिकति तलमाथि केही भयो कि उपत्यका या नेपाल बन्द गर्ने संस्कृति बसिसकेको छ । अहिले चाडबाड या जात्रा भनेर स्थगित गर्ने बन्दकर्ताले के बुझनु जरुरी छ भने यस्ता चाडबाडभन्दा कैयौँ जरुरी प्रकारका अप्ठ्यारासँग मानिस प्रत्येक दिन जुझिरहेका छन् । यो रूपमा या त्यो रूपमा हरेक दिन केही न केही परिरहेकै हुन्छ । अस्पतालहरू खचाखच छन्, त्यहाँ रहेका बिरामी र बिरामी कुरुवाका लागि कुनै पनि दिन महत्वपूर्ण हो, उनीहरूका लागि कहिल्यै बन्द गर्न मिल्दैन न त बिरामी परेर अस्पताल जानुपर्नेहरूका लागि नै बन्द गर्न मिल्छ । आज उपत्यका या नेपाल बन्द छ म तँलाई लान्न भनेर कालले पर्खिएको पनि आजसम्म जानकारीमा आएको छैन । नेपाल बन्दको दिन आफन्तको मृत्यु हुँदा निकटवर्तीहरू दु:ख बाँड्न आउन नपाएको या त्यस्ता ठाउँमा जान नपाएको अनुभव धेरैसँग छ । यी यस्ता कुरा हुन् जो चाडबाडको तुलनामा झनै महत्वपूर्ण र पीडादायी छन्, जुन दु:खलाई बन्दकर्ताहरूले कहिल्यै ध्यान दिएको देखिँदैन ।
मानवीय पक्षसँगै जोडिएको अर्को कुरा आर्थिक पनि हो । दिनभरि काम गरेर बेलुका खानुपर्नेहरूका कथाव्यथा मानवीय र आर्थिक दुवै हो । कसलाई, कसले, किन, केका लागि र कहिले नियुक्ति ग-यो भन्ने कुराप्रति पूर्णत: अनभिज्ञ रही बन्द भएका कारण आफूले दु:ख पाएको मात्रै थाहा पाउनेहरूको सङ्ख्या पनि यहाँ राम्रै छ । यता आफ्नो कामबाट केही समयका लागि छुटकारा पाई आनन्दले घुमफिर गरी फर्कन्छु भनेर नेपाल आएका पर्यटकले पाउने सास्ती त्यस्तै हुने गर्छ । केही दिनअघि बन्दको हल्ला चलेपछि एक पर्यटकले आफ्नो ट्राभल एजेन्सीसँग सोधेछन्, ‘यहाँ फेरि व्यवस्था परिवर्तन हुन लागेको हो ? अब के हुन्छ ?’ एउटा संवैधानिक नियुक्तिलाई लिएर बन्दको घोषणा गरिएको हो भनेर सुनाउन अप्ठ्यारो लागेपछि उनले भनेछन्– त्यस्तो त होइन ख्वै के रहेछ म बुझ्छु । यस्तै व्यापार, व्यवसाय गर्नेहरू प्रभावित हुने कुरा त यहाँ सामान्य नै भयो । देश–विदेशबाट आउने र जानेहरूको विजोग पनि त्यत्तिकै हुने गर्छ ।
अहिले त झन् मुलुकमा बन्दको मौसम छ । कुनै बेला थियो यहाँ फलफूल, खेतीपाती, व्यापार–व्यवसायलगायतका कुराको मात्रै मौसम हुन्थ्यो, समयसँगै अहिले बन्दको मौसम हुने गरेको छ । हिँउद लागेपछि स–साना कुरामा पनि कुनै पनि बेला यहाँ बन्द हुन सक्छ । अझ संविधान बन्न लाग्दाको समय बन्दको उर्वर मौसम रहेछ भन्न सक्ने आधार हामीलाई विगतले दिएको छ । संविधान निर्माणको समय सकिँदै गएर घोषणा गर्ने दिन नजिकिँदै गर्दाको समयलाई स्मरण गर्ने हो भने बन्दका लागि गज्जब मौसम त्यही समय हो भन्न सकिन्छ चाहे त्यो जहिलेसुकै परोस् । अहिले चुनाव मात्रै घोषणा हुँदा पनि पूर्वका केही जिल्लाले बन्दको मार प्रशस्तै भोगिसकेका छन्, तराईका केही जिल्लामा यो जारी छ । चुनावको मिति नै घोषणा हुने हो भने यसको रफ्तार बढ्न सक्ने अनुमान गर्न सकिन्छ । यो सब किन र केका लागि भइरहेको छ भन्ने बुझ्नेचाहिँ धेरै थोरै मात्र यहाँ छन् ।
यसपटक दुई–दुईपटक ‘क्यान्सिल’ भएको बन्दको कारण गजबको छ । प्रक्रियादेखि नै विरोध गर्ने दलहरूले गर्नु त स्वाभाविक नै हो तर जुन नेताहरूले लोकमानसिंह कार्कीलाई सिफारिस गरे, तिनै नेताका कार्यकर्ताले सडकमा आएर विरोध गरे, गर्दैै छन् । यो घटनालाई गहिरिएर बुझ्दा वास्तवमा विरोध त उनीहरूले आफ्नै नेताहरूको गर्नुपर्ने हो, बन्द त आफ्नै दलका कार्यालय गर्नुपर्ने हो । सार्वजनिक रूपमा बन्द गर्नु भनेको जनतालाई दु:ख दिनु हो । जुन कुरामा जनताको केही दोष छैन ती कुरामा बन्द गरेर जनतालाई किन दु:ख दिने ? विगतमा राजनीतिका कुरामा जनताको समर्थन आवश्यक भएर कति बन्दहरू आह्वान भएका थिए तर यस्ता कुरामा जनतालाई न हिजो चासो थियो न आज छ, अनि बन्द गरेर दु:ख किन दिनु ? हिजो मल्लिक आयोगको प्रतिवेदनको कार्यान्वयन जनताले नगरेका होइनन्, यिनै नेताहरूले नगरेका हुन् । रायमाझी आयोगको प्रतिवेदनको कार्यान्वयन नगर्नुमा पनि जनता जिम्मेवार छैनन् यिनै नेताहरू छन् । आज कसैलाई नियुक्ति गर्नु या नगर्नुमा पनि जनताको कुनै भूमिका छैन । यतिका वर्ष अख्तियार खाली रह्यो, पदाधिकारीविहीन अख्तियारले गरेका सिफारिसहरूलाई न्यायालयहरूले सदर गरिदिँदा केही नेताहरू जेलमा सजाय भोगिरहेछन्, कतिले काटेर फर्किए । सर्वसाधारण जनताले हेर्दा यी त अहिले जेलमा हुनुपर्ने हो जस्ता लाग्नेहरू खुलेआम भाषण गर्दै हिँडिरहेका छन् । ख्वै जनताले केही गर्न सकेका छैनन् । त्यसैले बन्द गरेर सर्वसाधारणलाई दु:ख दिनुभन्दा विद्यार्थी नेता या अन्य भ्रातृ सङ्गठनहरूले बरु आफ्नै दलतिर फर्किएर आफ्नै नेताका क्रियाकलापलाई बन्द गर्ने स्थितिमा पु-याए राम्रो हुने थियो । नियुक्तिका लागि आफँै सिफारिस गर्ने र आफैँले गरेको काममाथि आफैँ टिप्पणी गर्दै हिँड्नेहरूलाई सबक सिकाउन उहाँहरूका लागि आफ्नै पार्टीको ढोका बन्द गर्न सके बहादुरी मानिनेछ न कि सर्वसाधारणलाई दु:ख हुने नेपाल बन्द । दलका ढोका बन्द गर्दा जुनसुकै चाडबाड या जात्रापर्व परे पनि बाधा पुग्ने छैन त्यसैले बन्दको इज्जत राख्दै अब त्यतातिर लाग्ने हो कि ?