स्थानीय बौद्ध शिक्षा र देवदह परिचय पाठ्यपुस्तक विमोचित

स्थानीय बौद्ध शिक्षा र देवदह परिचय पाठ्यपुस्तक विमोचित


– चन्द्रकान्त खनाल

रुपन्देहीको देवदहमा स्थानीय बौद्ध शिक्षा र देवदह परिचय नामक कक्षा ६ र ७ को पाठ्यपुस्तक विमोचन भएको छ । देवदह नगरपालिकाको आयोजनामा पाठ्यपुस्तकको एक कार्यक्रमका बीच प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले विमोचन गरेका हुन् ।

सो अवसरमा मन्त्री बरालले प्रदेश नं ५ को विकासको हबको रुपमा देवदह नगरपालिकाले मुख्य भूमिका निभाएको बताए । उनले देवदह कृषिको पकेट क्षेत्र र महामानव गौतम बुद्धको मावलीस्थल भएकाले पनि यहाँका विकास निर्माणले सार्थकता पाउने बताए ।

उनले लुम्बिनीको विकासको लागि पर्याप्त मात्रामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सहयोगहरू आए पनि कपिलबस्तुको तिलौराकोट र देवदह भने ओझेलमा पर्दै आएको बताए । ओझेल परेका क्षेत्रको विकासको लागि प्रदेश र केन्द्रमा कुरा राख्ने बताउँदै उनले स्थानीय स्तरको विकासको लागि स्थानीय तवरबाट नै चनाखो हुनुपर्ने उल्लेख गरे ।

साथै उनले पाठ्यक्रमको सवालमा देवदहको महिमा झल्काउने पुस्तक निर्माण भएपनि बालबालिकाको मनस्थितिलाई बुझेर निर्माण प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले देवदह नगरपालिका धार्मिक र पर्यटकीय नगरीको रुपमा स्थापित भएको सन्र्दभमा देवदहको इतिहास र बौद्ध ज्ञानसम्बन्धी शिक्षा प्राप्त गर्न यस पुस्तकले सघाउ पु¥याउने बताए । उनले देवदहलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न पुस्तकले निकै महत्वपुर्ण भूमिका खेल्ने बताए । लुम्बिनी क्षेत्रको विकास हुँदा लुम्बिनीसँग सम्बन्धित अन्य पुरातात्विक बस्तुहरुको पनि विकास गर्न जरुरी रहेको उनको धारणा थियो ।

पुस्तकमा देवदहको परिचय, बौद्ध साहित्य, बौद्ध दर्शन, बौद्ध शिक्षाको व्यवहारिक प्रयोग, बौद्ध शिक्षा र योग लगायतका विषयवस्तु समावेश गरिएका छन् ।