बाढीपछि बन्द रहेको माथिल्लो तामाकोसी आयोजनाबाट तिहारलगत्तै विद्युत् उत्पादन गरिने

बाढीपछि बन्द रहेको माथिल्लो तामाकोसी आयोजनाबाट तिहारलगत्तै विद्युत् उत्पादन गरिने


दोलखामा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

गत असोज ११ र १२ गते अविरल वर्षाका कारण बाढी र पहिरोले बाँध क्षेत्रका संरचना हेडवर्क्समा क्षति पुऱ्याएपछि बन्द भएको उक्त आयोजना मर्मत सम्भार गरेर आंशिकरुपमा सञ्चालनको तयारी गरिएको हो ।

दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधनजिकैको भवन पहिरोले पुरिँदा चार जनाको मृत्युसमेत भएको थियो । आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमका अनुसार पहिरो हटाउने काम थालिएको छ ।

प्रवेशमार्ग काभ्रेभीर सडकमा क्षति पुगेका कारण बाँधस्थलमा उपकरण लैजान कठिनाइ भएको उल्लेख गर्दै उनले यसबाट मर्मत गर्न समय लागेको बताए । बाँधमा थुप्रिएको ढुङ्गा, बालुवा, गिट्टीलगायत सामग्री सफा गर्ने काम सकिएपछि बाँध मर्मत कार्य अघि बढाइने बताइएको छ ।

‘तिहारलगत्तै विद्युुत् उत्पादन थाल्छौँ’, प्रमुख कार्यकारी अधिकृत गौतमले भनेका छन् ।

बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी, नहरलगायत संरचनामा क्षति पुगेको छ । पहिरोले विभिन्न संरचनामा अत्यधिक क्षति पुऱ्याएपछि विद्युत् पुरै उत्पादनमा समय लाग्ने आयोजनाले जनाएको छ ।

विद्युत्गृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलामा बाढी आएका कारण आवतजावत गर्न समस्या भएको छ । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा र लेदो थुप्रिएको छ । बाढी पहिरोबाट रु दुई अर्बको क्षति भएको बताइएको छ ।

विद्युत् उत्पादन बन्द हुँदा दैनिक रु चार करोड आम्दानी गुमाउनु परेको आयोजनाले जनाएको छ । आयोजनाको सम्पूर्ण मर्मत कार्य सम्पन्न गर्न कम्तीमा ६ महिना लाग्ने अनुमाान गरिएको छ ।