विश्वकप २०१८ का पाँच चर्चित स्ट्राइकर

विश्वकप २०१८ का पाँच चर्चित स्ट्राइकर


हिजोदेखि विश्वकप फुटबलको शुभारम्भ भएको छ । ३२ टिमले प्रतिस्पर्धा गर्ने यो विश्वकपमा कसले बाजी मार्ला, त्यो अड्कलकै विषय बनेको छ । विश्वकपको अन्तिम चरणमा छनोट भएका सम्पूर्ण टिमहरू आफैँमा उत्कृष्ट छन् । यी उत्कृष्ट टिमहरूबीच हुने भिडन्त आफैँमा उत्कृष्ट हुने कुरामा कुनै दुईमत छैन । यस्तोेमा अहिले विश्वकपमा प्रभाव पार्न सक्ने पाँच चर्चित स्ट्राइकरहरूको चर्चा गरिएको छ ।

रेमुलु लुकाकु :

२३ वर्ष उमेर पुग्नुअघि नै प्रिमियर लिगमा ५० गोल गरेर चर्चामा आएका बेल्जियमका स्ट्राइकर रेमुलु लुकाकु यो विश्वकपका चर्चित पाँच स्ट्राइकरमा परेका छन् । म्यानचेस्टर युनाइटेडबाट खेल्ने लुकाकु लिगमा १०० गोल गर्ने पाँच युवा खेलाडीमा पर्छन् । उनको यही उत्कृष्ट प्रदर्शनका कारण अहिले लुकाकु फिफा विश्वकपका चर्चित स्ट्राइकर बनेका छन् । खासगरी डिफेन्सको वरिपरि घुम्ने लुकाकुले बेल्जियमको तर्फबाट ६७ खेलमा मैदानमा उत्रिएर ३३ गोल गरेका छन् ।

राडमेल फाल्काओ :

स्पेनमा ‘टाइगर’को उपनामले चिनिने चर्चित खेलाडी राडमेल फाल्काओ युरोपा लिगको ‘किङ्ग’को रूपमा पनि परिचित छन् । एस मोनाको क्लबबाट खेल्ने फाल्कोओले १३ वर्षको उमेरदेखि नै व्यावसायिक फुटबल खेल्न थालेका थिए । एटलेटिको म्याड्रिड, म्यानचेस्टर युनाइटेड र चेल्सीजस्ता चर्चित क्लबबाट खेलिसकेका कोलम्बियाका यी खेलाडीलाई विश्वकपको तुरुफको एक्काको रूपमा हेरिएको छ । सन् २०१४ को विश्वकपमा घाइते भएर प्रतियोगिताबाट बाहिरिएका फाल्काओले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ । शानदार फिनिसरको रूपमा चिनिने फाल्कोओले अहिलेसम्म कोलम्बियाको तर्फबाट ७१ खेल खेलेर २९ गोल गरेका छन् । उनको यही प्रदर्शनका कारण उनलाई यो विश्वकपको उत्कृष्ट स्ट्राइकरको रूपमा हेरिएको छ ।

एडिनसल केवानी :

उरुग्वेका यी चर्चित खेलाडी केवानी जुन दिन फर्ममा हुन्छन्, त्यो दिन जस्तो टिमलाई पराजित गर्ने क्षमता राख्छन् । पेरिस सेन्ट जर्मन क्लबबाट खेल्ने केवानीले आफ्नो राष्ट्रको तर्फबाट अहिलेसम्म १०० वटा म्याचमा ४२ गोल गरिसकेका छन् । उत्कृष्ट किक र टेक्निकल्ली राम्रो क्षमता भएका केवानी आधुनिक स्ट्राइकरको रूपमा पनि चिनिन्छन् । केवानीले विश्वकप छनोट चरणमा २०१८ मा सर्वाधिक १० गोल गरेका थिए ।

हेरी केन :

इंग्ल्यान्डका कप्तानसमेत रहेका हेरी केन टोटनह्यामका स्टार स्ट्राइकर पनि हुन् । उनले ‘पीएफए योग प्लेयर अफ दी इयर’को उपाधिसमेत जितिसकेका छन् । उनले आफ्नो क्लबबाट अहिलेसम्म १०० भन्दा बढी गोल गरिसकेका छन् । त्यस्तै इंग्ल्यान्डवाट अहिलेसम्म खेलेका २४ म्याचमा १३ गोल गरिसकेका छन् ।

रोबर्ट लेवानडास्की :

एफसी ब्युनर्स म्युनिखबाट खेल्ने रोवर्ट पोल्यान्ड फुटबल टिमका कप्तान पनि हुन् । यी स्ट्राइकरलाई पोल्यान्ड फुटबलको ‘किङ्ग’ पनि मानिन्छ । यतिबेला रोबर्टको गिन्ती विश्वका शीर्ष तीन स्ट्राइकरमा गरिन्छ । युरोपकै सबैभन्दा उत्कृष्ट स्ट्राइकर रूपमा चिनिने रोबर्टले अहिलेसम्म आफ्नो देश पोल्यान्डका लागि ९३ म्याचमा ५२ गोल गरिसकेका छन् । यो विश्वकपमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ ।