बज्र क्योकुसिनमा सनी च्याम्पियन

बज्र क्योकुसिनमा सनी च्याम्पियन


नेपाल आर्मीका सनीसिंह सुनुवार प्रथम बज्र कराते प्रतियोगिताको पुरुष मिडिल वेटमा च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको स्पर्धामा सनीले मुवाथाईका सन्देश मानन्धरलाई पराजित गरेर च्याम्पियन बनेका हुन् ।

नेपाल क्योकुसिन कराते सङ्घ बज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष फ्लाइवेटमा मुवाथाईका सरोज तामाङले आर्मीका राजकुमार यादव तथा बेन्टमवेटमा केन्द्रीय डोजोका महेश भुजेलले आर्मीका प्रशान्त मगरलाई हराउँदै शीर्ष स्थान हात पारेका थिए ।

पुरुष लाइटवेटअन्तर्गत विभिन्न स्पर्धामा भकुन्डेबेसीका ओमराज लामाले केन्द्रीय डोजोका किशोरवीरविक्रम शाही, आर्मीका मनोज थपलियाले मुवाथाईका अरुण कुसुवार तथा आर्मीका चोपबहादुर बुढाथोकीले मुवाथाईका विजय थापालाई पाखा लगाउँदै पहिलो स्थान हात पारे । पुरुष वेल्टरवेटमा आर्मीका विकास गुरुङले मुवाथाईका रेगन श्रेष्ठलाई पराजित गरेर प्रथम भए ।

प्रत्येक स्पर्धाका विजेताले ५ हजार र उपविजेताले २ हजार ५ सय नगद पुरस्कार हात पारेका थिए । विजेतालाई आयोजक सङ्घका अध्यक्ष जगतप्रसाद गौचन, उपाध्यक्ष पुष्पमान मानन्धरलगायतले पुरस्कार प्रदान गरेका थिए ।