नेपाली टोली एसियन फेन्सिङ च्याम्पियनसिपमा

नेपाली टोली एसियन फेन्सिङ च्याम्पियनसिपमा


जुन १७ तारिखदेखि २३ तारिखसम्म थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने एसियन फेन्सिङ च्याम्पियनसिपमा नेपालको फेन्सिङ टिमले सहभागिता जनाउने भएको छ । उक्त कुराको जानकारी नेपाल फेन्सिङ सङ्घले जनाएको छ ।

एसियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले फेन्सिङ टिमलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन तथा अनुशासित रही विश्वसामु उदाहरणीय बन्न प्रोत्साहित गरेका थिए ।

उक्त च्याम्पियनसिपमा नेपालले पुरुषको साइबरतर्फ तथा महिलातर्फ फोयल इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष तथा महिला गरी १२ जना खेलाडी ४ जना अफिसियल गरी १६ जनाको सहभागिता रहनेछ ।

१२ जना खेलाडीमा नूरबहादुर थापा, रञ्जनराज खड्का, शेरसिंह ऐरी, सञ्जीव लामा, महेशप्रसाद भट्ट, दिनेशबहादुर पाण्डेय, कमला श्रेष्ठ, रविना थापा, मीनादेवी पौडेल, अस्मिता बस्नेत, मन्दिरा थापा र पदाधिकारीहरूमा अनुप कपाली, अभिषेक कार्की, सुरज शाक्य र प्रवीन नापित रहेका छन् ।