भन्सार कार्यालय सहयोगीको भरमा

भन्सार कार्यालय सहयोगीको भरमा


झापाको दक्षिण–पश्चिममा रहेको गौरीगञ्ज गाउँपालिकास्थित आठमौजा छोटी भन्सार कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ ।

भन्सारमा एक नायब सुब्बासहित दुईजना कार्यालय सहयोगीको दरबन्दी रहे पनि अहिले एक कार्यालय सहयोगी मात्र कार्यरत छन् ।

पछिल्लो समयमा कार्यालय सहयोगी एक्लैले भन्सार पुर्जी काट्न नसक्ने भएपछि उक्त नाका भएर आयात र निर्यात हुने कतिपय सामग्रीको राजस्व घट्दै गएको छ । भारतसँग सीमा जोडिएको सो छोटी भन्सारको स्तरोन्नति गर्नुपर्ने स्थानीयवासीको माग छ ।

गौरीगञ्जको खजुरगाछीमा छोटी भन्सार कार्यालय रहे पनि बैरिया क्षेत्रमा हालसम्म भन्सार कार्यालय छैन । सो नाकाबाट ठूलो परिमाणमा भारतबाट सामान आयात हुँदै आएको छ । गौरीगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष मखना महतो गैद्दारले उक्त कार्यालयमा कर्मचारी राख्नुपर्ने माग गरे ।

उनले गौरीगञ्ज बैरिया क्षेत्रमा भन्सार घुम्ती टोली राख्नुपर्ने, रु. ५० हजारसम्मको भन्सार काटिनुपर्ने, भारतीय नम्बर प्लेटका गाडी नेपाल प्रवेश गर्दा पटके पुर्जी काट्न इजाजत दिनुपर्नेलगायत माग गरेका छन् ।