सुनचाँदीको भाउमा पनि विदेशी हस्तक्षेप

सुनचाँदीको भाउमा पनि विदेशी हस्तक्षेप


सुनचाँदीलाई बहुमूल्य धातुको रूपमा लिने गरिन्छ । मानिसहरू आफ्नो सौन्दर्य बताउन यसलाई गरगहनाको रूपमा प्रयोग गर्दछन् । यो परम्परा आदिकालदेखि नै शुरु भएको हो । नोटको प्रचलन हुनुभन्दा अगाडि त सुनचाँदीका सिक्का बनाई पैसाको रूपमा समेत प्रयोग गरिएको पाइन्छ । हाल सुनचाँदीका सिक्का त्यति प्रचलनमा छैनन् । तर, गरगहनाको रूपमा भने सुनचाँदी अझ बढी लोकप्रिय हुँदै गइरहेको छ । आकर्षक एवम् नरम धातु हुने भएकाले गरगहनाका लागि मानिसले यसलाई नै रोज्न पुगेको हुन सक्छ ।

आजभोलि नौला–नौला ‘डिजाइन’का गरगहना बनाएर बिक्री गर्ने सुनचाँदीका पसलहरू हाम्रो सहरमा यत्रतत्र खुलेको पाइन्छन् । सुनचाँदीको कारोबारमा एकरूपता ल्याउन साथै यसको भाउ निश्चित गर्न वि.सं. २०४४ सालमा सुनचाँदी व्यवसायी सङ्घसमेत खोलिएको छ । के साँच्चिकै हाम्रो शहरमा सुनचाँदीको कारोबारमा एकरूपता आएको छ त ? दिनदिनैजसो परिवर्तन भइरहने सुनचाँदीको भाउ निर्धारण सुनचाँदी व्यवसायी सङ्घले गरेको छ त ? सुनचाँदीको भाउ के कारणले घटबढ हुन्छ ? जस्ता प्रश्नहरूको उत्तरबाट सर्वसाधारण त पक्कै पनि वञ्चित छन् । तर, स्वयम् सुनचाँदी व्यवसायी सङ्घले माथिका प्रश्नको सन्तोषजनक उत्तर नदिनु एक एवम् सुनचाँदी व्यवसायी अनभिज्ञता जाहेर गर्नु भने आश्चर्यको विषय बन्न पुगेको छ ।

सुनचाँदीसम्बन्धी दैनिक लाखौँ–करोडौँ रुपैयाँको कारोबार हुने गर्दछ । यस कारोबारमा एकरूपता एवम् धारतोपन ल्याउन खोलिएको सुनचाँदी व्यवसायी सङ्घका शाखाहरू देशका प्रमुख ८ वटा शहरहरू ललितपुर, भक्तपुर, त्रिशूली, बनेपा, पोखरा, नारायणगढ र हेटौँडामा खोलिएका छन् । साथै अन्य भागमा पनि शाखा कार्यालयहरू खोल्ने उद्देश्य उक्त सङ्घको छ । उक्त पक्षमा आबद्ध २०० वटाभन्दा बढी सुनचाँदीका पसल काठमाडौंमा मात्रै रहेको पाइन्छ । सङ्घका कार्यालय सचिव राजेन्द्र तुलाधर कारोबारमा एकरूपता रहेको दाबी गर्दै भन्नुहुन्छ– काठमाडौं उपत्यकामा सबै पसलहरूमा सुनचाँदीको भाउ एउटै रहन्छ । तर, उपत्यकाबाहिर ५० देखि १०० रुपैयाँसम्म फरक हुने गर्दछ । विभिन्न शहरमा सुनचाँदीको भाउमा धेरै नै फरक भएको कुरा स्वयम् उपभोक्ताहरू बताउँछन् । यसको प्रमुख कारण विक्रेताहरूको ‘मनपरी’हो भन्दा अतिशयोक्ति हुँदैन ।

ए बाबा ! मारवाडीले कुनचाहिँ ठाउँमा हस्तक्षेप गरेका छैनन् । जोसँग जे चिज धेरै छ उसैले हस्तक्षेप त गर्छ नि । सुनचाँदीको भाउ घट्दा देशलाई फाइदा हुन्छ कि बढ्दा फाइदा हुन्छ ? सबभन्दा फाइदा त स्थिर भयो भने नै हुन्छ नि । अब भाउ घट्यो भने सबैले चाहिएभन्दा बढी थुपार्न खोज्दछन्, बढ्यो भने सुन बिक्री नै हुन गाह्रो हुन्छ ।

सुनचाँदीको भाउ किन घटबढ हुन्छ त ? राजधानीका २ सय सुनचाँदी व्यापारीहरूमध्ये एकजनालाई पनि यसको उत्तर थाहा छैन । उनीहरू भन्छन्– यसबारे त सङ्घलाई मात्रै थाहा हुन्छ । वास्तवमा यो आश्चर्यजनक कुरा छ कि जसले सुनचाँदीसम्बन्धी कारोबार गर्छ ऊ नै यसको मूल्य निर्धारणबाट वञ्चित मात्र होइन अनभिज्ञ पनि छ ।

सङ्घका अध्यक्ष नीरञ्जन शाक्य सुनचाँदीको भाउ घटबढ हुने कारण बताउँदै भन्नुहुन्छ– भारतसँगको खुला सिमानको कारणले त्यहाँको प्रभाव नेपालमा नपरी छाड्दैन । साथै हङकङलगायत कतिपय मुलुकमा हाम्रा व्यापारीहरू सोझै कारोबार गर्ने गर्दछन् । त्यसैले हामीले चाहेर सुनको भाउ घटबढ हुने होइन, यसमा त बाहिरको प्रभाव मुख्य कारण हो ।

तर, तपाईंहरूले त मारवाडीहरूको निर्देशनअनुसार यसको भाउ निर्धारण गर्नुहुन्छ भनिन्छ नि ? भन्ने प्रश्न गर्दा उहाँ भन्नुहुन्छ–
ए बाबा ! मारवाडीले कुनचाहिँ ठाउँमा हस्तक्षेप गरेका छैनन् । जोसँग जे चिज धेरै छ उसैले हस्तक्षेप त गर्छ नि । सुनचाँदीको भाउ घट्दा देशलाई फाइदा हुन्छ कि बढ्दा फाइदा हुन्छ ? यसमा उहाँको तर्क छ– सबभन्दा फाइदा त स्थिर भयो भने नै हुन्छ नि । अब भाउ घट्यो भने सबैले चाहिएभन्दा बढी थुपार्न खोज्दछन्, बढ्यो भने सुन बिक्री नै हुन गाह्रो हुन्छ ।

एक विशेष सूत्रबाट प्राप्त जानकारीअनुसार नेपालमा सुनचाँदीको भाउ नियन्त्रण एवम् निर्धारण गर्न एउटा मारवाडीको समूह लागेको छ । उक्त समूहले आफ्नो स्थिति अनुकूल रहने गरी सुनचाँदीको भाउ निर्धारण गर्दछ र सुनचाँदी व्यवसायी सङ्घ सो समूहको नियन्त्रणमा रहेकोले उसको इच्छाअनुसार भाउ निर्धारण गर्दछ । स्वयम् सङ्घका पदाधिकारीहरू भाउ निर्धारण कार्यबारे अनभिज्ञ रहनुले पनि यसको पुष्टि गर्दछ । । साथै सङ्घका अध्यक्ष निरञ्जनरत्न शाक्यको कुनचाहिँ क्षेत्रमा मारवाडीको हस्तक्षेप छैन र ? भन्ने उत्तर पनि सोही कुराको प्रमाण हो । यस स्थितिले आज सुनचाँदी व्यवसायी सङ्घको औचित्यमाथि औँलो ठड्याउनुपर्ने भएको छ । साथै अध्यक्ष शाक्यको उत्तरबाट चित्त बुझाउनुपर्ने ठाउँ पनि भेटिँदैन ।

करिब ७ हजार किलोग्राम सुन वार्षिक रूपमा आयात गर्ने नेपालले विदेशी मारवाडीको इशारामा सुनको भाउ निर्धारण गर्नुपर्दछ भने यहाँका व्यापारीहरूको अस्तित्व खै त ? अस्तित्वविहीन अवस्थामा पनि कसरी कारोबार गरिरहेका छन् त यहाँका व्यापारीहरू ?

कहाँबाट सञ्चालित छन् यहाँका ‘साहुजी’हरू ? आज सोच्ने नेपालीको मस्तिष्कमा प्रश्नमाथि प्रन उब्जिराखेका छन् । यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ न त सुनचाँदी व्यवसायी सङ्घसँग छ न त श्री ५ को सरकारसँग नै । भन्सार छलेर अवैध रूपमा आयात भइराखेको सुन त श्री ५ को सरकारले नियन्त्रण गर्न सकेको छैन भने यसको भाउ निर्धारण गर्न कसरी सकोस् र ? सुनचाँदीको भाउ निर्धारण त सङ्घले मात्रै गर्छ भनी व्यापारीहरू आफ्नो ‘सोझोपन’ देखाउँछन् । तर, सङ्घले सोझोपनको फाइदा उठाएर मनपरी गरिराखेको छ । यसको प्रत्यक्ष असर व्यापारी एवम् उपभोक्तालाई मात्र होइन समग्र देशलाई नपरी छाड्दैन । यसरी गरिएको मनपरीले केही व्यक्तिहरूलाई आर्थिक लाभ त पक्कै होला, तर देशको आर्थिक समस्यापट्टि पनि एकछोटि नियालेर हेर्ने हो भने यस्ता व्यापारीहरूलाई समयमै उचित कारबाही चलाउनुपर्ने हुन्छ । – सुशील भट्टराई

(घटना र विचार साप्ताहिक २०५४ फागुन १५)