अनाडीमा प्रहार गरी श्रीमानको हत्या

अनाडीमा प्रहार गरी श्रीमानको हत्या


राजविराज । अण्डकोषमा प्रहार गरी आफ्नो श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी २३ वर्षीया अन्जना साह र उनका बुवा ५२ वर्षीय रामदयाल साहलाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी हत्या आरोपित बाबुछोरीलाई सार्वजनिक गरेको हो ।

तिरहुत गाउँपालिका १ त्रिकोल घर भई राजविराज नगरपालिका ५ स्वर्ण टोलमा डेरा गरी बस्ने २८ वर्षीय दिपेन्द्रकुमार मण्डलको हत्या आरोपमा उनकै श्रीमति अन्जना र ससुरा रामदयाल गत बुधबार पक्राउ परेका थिए । उनिहरुविरुद्ध जिल्ला प्रहरी कार्यालयले बिहीबार कर्तव्य ज्यानको उजुरी दर्ता गरेको छ ।

अन्तरजातिय प्रेमविवाह गरेकी अन्जना मृतक मण्डलकी कान्छी श्रीमती हुन् । दोस्रो विवाह गरेपछि दीपेन्द्रले जेठी श्रीमति २५ वर्षीया रेश्मीदेवी मण्डललाई ०७३ असोज ३ गते खानलाउन नदिई घरबाट निकालेका थिए । जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा भएको छलफलपछि उनीहरुले मिलेर बस्ने सहमति गरेका थिए ।

राजविराज २ मा छुट्टै डेरा लिएर बसेका अन्जना र दीपेन्द्रबीच मनमुटाव बढेपछि अन्जना राजविराज नगरपालिका ९ मलेठस्थित माइतीघरमा बस्न थालेकी थिइन् । दीपेन्द्र भने जेठी श्रीमति रेश्मीदेबीसँग राजविराज ५ मा डेरा लिई बस्न थालेका थिए ।

अत्यधिक मादक पदार्थ सेवन गरी गत मंगलबार कान्छी श्रीमती अन्जनासँग भेटन पुगेका मण्डलको वादविवादका क्रममा कुटपिटबाट मंगलबार राति मृत्यु भएको डिएसपी भावेश रिमालले बताए । हाइड्रोसिलका बिरामी मण्डलको अण्डकोषलगायत संवेदनशील अंगमा चोटपटक लागेर मृत्यु भएको बताइएको छ ।