कामपाले आउँदो वर्षलाई पूर्वाधार विकास वर्ष मान्ने

कामपाले आउँदो वर्षलाई पूर्वाधार विकास वर्ष मान्ने


काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आव २०७५-७६ का लागि १६ वटा विषयगत नीतिमा १९१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

कामपाले शनिबार आयोजना गरेको नगरसभा तथा तेस्रो अधिवेशनमा उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समुदायको सीप तथा क्षमता विकासदेखि शहरी समृद्धि, शहरी सेवा सुविधा वितरणमा सन्तुलन, सुशासन, पारदर्शीता, पहुँचयुक्तदेखि प्रदेश सरकार, संघ सरकारसँग मिलेर सम्पादन गर्ने काम तथा अन्तराष्ट्रिय सम्बन्धबाट महानगरीय गौरव बढाउने कामसम्म समेटिएको छ ।

महानगरलाई जीवन्त सांस्कृतिक शहरका रुपमा विकास गर्न तथा यसको गौरवलाई उच्च बनाउन लोककल्याणकारी अवधारणा र संविधानले परिकल्पना गरेको शासनमा नागरिकको पहुँचजस्ता सूचकका आधारमा नीति तथा कार्यक्रम तयार पारिएको छ ।

स्थानीय नागरिकको जीवनस्तर उकास्न परम्परागत ज्ञान, सीप र क्षमतालाई प्रश्रय दिने, भौतिक तथा सामाजिक उत्थानको योजना बनाउँदा वातावरणीय पक्षलाई विशेष ध्यान दिइने, महानगरको निर्माणमा समुदाय, सहकारी, गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता र साझेदारितालाई प्रश्रय दिने, बहुलगानीका सम्भावना बढाइने छ ।

महानगरबासीका चाहनालाई आत्मसात् गर्दै हरेक वर्ष कुनै न कुनै विकासका नयाँ अवधारणा अघि सार्ने नीतिमा उल्लेख छ । त्यस्तै राससका अनुसार आउँदो वर्षलाई पूर्वाधार विकास वर्ष मानेर काम गर्ने, रानीपोखरी, धरहरा, काष्ठमण्डपलगायत सांस्कृतिक सम्पदाको पुनःनिर्माण महानगरको केन्द्रीय भवन (बागदरबार) को पुननिर्माण गरिने, सार्वजनिक पूर्वाधार निर्माणमा गुणस्तरियता अभिवृद्धि तथा प्रदूषण नियन्त्रणलाई विशेष रुपमा अघि सारिएको छ ।