राष्ट्रकविको स्वास्थ्यमा सुधार, नेपाली राजदूतावासमा सिफ्ट

राष्ट्रकविको स्वास्थ्यमा सुधार, नेपाली राजदूतावासमा सिफ्ट


राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको छ । उनका छोरा इन्दीवरका अनुसार भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएपछि पूर्णतया स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको हो । राष्ट्रकवि घिमिरे बिहीबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

‘उनको सानो आन्द्राबाट भएको रक्तश्राव रोकिनुको साथै निमोनिया पनि पूर्णरुपमा निको भएको छ’–छोरा इन्दिवरले भने, ‘चिकित्सकको सल्लाहमा पुनः एक हप्तापछि उनको स्वास्थ्य परीक्षण गर्ने तय भएकाले अहिले नेपाल नआई दिल्लीमा नै बस्नु भएको छ ।’

घिमिरेका अनुसार राष्ट्रकवि घिमिरे अहिले भारतस्थित नेपाली राजदूतावासमा बसेका छन् । मेदान्त अस्पतालबाट उपचार गराएर आएका राष्ट्रकवि घिमिरेको पुनः सानो आन्द्राबाट रक्तस्राव हुन थालेपछि पुनः गत जेठ २१ गते उनी मेदान्त अस्पताल भर्ना भएका थिए । राससका अनुसार यसअघि उनलाई जेठ ९ देखि १९ गतेसम्म मेदान्त अस्पतालमै उपचार गराइएको थियो ।

उनको चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरेको थियो । राष्ट्रकवि घिमिरे गत वैशाख २८ गतेदेखि सानो आन्द्राबाट निरन्तर रक्तस्राव भएपछि अस्वस्थ भएका थिए । शुरुमा धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार गराएका घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि भारत लगिएको थियो ।