विद्यालयमा खस्यो पहिरो

विद्यालयमा खस्यो पहिरो


गएराति खसेको पहिरोले बाग्लुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चारवटा कक्षाकोठामा क्षति पुगेको छ । चारकोठे पक्की भवनको तीन कोठा र अर्को ‘ट्रस्ट’ भवनको एउटा कोठा पहिरोमा परी पुरिएको विद्यालयले जनाएको छ । कोठासँगै प्रवेशद्वार र पर्खालमा पनि क्षति पुगेको प्रधानाध्यापक शंकर थापाले बताए ।

पहिरोका कारण करिब रु. ५० लाखबराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । पढाइ प्रभावित हुने गरी कक्षाकोठा नै पुरिएपछि विद्यालयले दुई दिनका लागि विद्यार्थीलाई बिदा दिएको छ । ‘प्रहरी मुचुल्का र क्षतिको प्रारम्भिक विवरण सङ्कलन गर्ने काम भएको छ,’ प्रअ थापाले भने, ‘विद्यालयलाई ठूलो क्षति पुगे पनि पठनपाठनका लागि वैकल्पिक व्यवस्था गरिनेछ ।’

क्षति पुगेका कक्षाकोठामा कक्षा ११ को विज्ञान र व्यवस्थापन विषयको पढाइ हुँदै आएको थियो । दुईकोठे ‘ट्रस्ट’ भवनमा रहेको स्रोतकेन्द्रको कार्यालयमा पनि पूर्ण क्षति भएको छ । शनिबार दिनभरको वर्षापछि राति साढे १० बजे आएको पहिरोले विद्यालय पुरेको विद्यालयका शिक्षक नवीनप्रताप जीसीले बताए । विद्यालयमाथिको पाखो धस्सिएर पहिरो खसेको उनको भनाइ छ ।