बाजेको सेकुवाका मजदुरले भने– संस्थालक्षित कारबाहीले हाम्रो बेहाल भयो

बाजेको सेकुवाका मजदुरले भने– संस्थालक्षित कारबाहीले हाम्रो बेहाल भयो


बाजेको सेकुवा रेस्टुरेन्टका ६ वटा आउटलेट बन्द गरिएपछि त्यहाँ कार्यरत मजदुर बिचल्लीमा परेका छन् । लामो समयदेखि आफू कार्यरत रेस्टुरेन्ट बन्द भएपछि आफ्नो रोजीरोटी गुमेको भन्दै त्यहाँ कार्यरत मजदुर आन्दोलनमा उत्रने तयारीमा छन् ।

चर्चित साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले सो प्रकरणमा बाजेका सञ्चालक चेतनाथ भण्डारीको पनि लगानी र संलग्नता रहेको दाबी गरेपछि उपत्यकामा रहेका बाजेको सेकुवाका ६ वटा रेस्टुरेन्टमा प्रहरीले सिल गरेपछि त्यहाँ कार्यरत मजदुर बेरोजगार बनेका छन् ।

आफू काम गर्ने स्थानमा एक्कासि सिल गरिएकोले आफू अन्यायमा परेको त्यहाँ कार्यरत मजदुर बताउँछन् । रेस्टुरेन्ट बन्द गरिएपछि आफूहरूको रोजीराटी गुमेको उनीहरूको गुनासो छ । सरकारले गर्ने छानबिनमा आफूहरूको साथ रहने तर रेस्टुरेन्ट नै बन्द गरेर त्यहाँ कार्यरत मजदुरलार्ई बेरोजगार बनाउन नहुने उनीहरूको माग छ ।

रेस्टुरेन्ट बन्द भएपछि कोठा भाडा, बच्चाको फी र रासनको पैसा तिर्न नसक्दा आफूहरूको बिचल्ली भएको त्यहाँ कार्यरत मजदुरको भनाइ छ ।

एक्कासि रेस्टुरेन्ट बन्द गर्दा महिनाको पाकेको तलबका साथै सञ्चयकोषका जम्मा भएको रकम पाउन पनि अन्योल रहेको उनीहरूको तर्क छ ।

उनीहरूहरूले व्यक्तिलाई कारबाही गर्नुपर्नेमा संस्थालाई लक्षित गरेर कारबाही प्रक्रिया अघि बढाइएकाले आफूहरू बेरोजगार बन्नुपरेको भन्दै असन्तुष्टि जनाएका छन् । बाजेको सेकुवामा २ सयभन्दा बढी मजदुर कार्यरत छन् ।