सामुहिक बलात्कारमा संलग्नलाई जनही ११ वर्ष कैद

सामुहिक बलात्कारमा संलग्नलाई जनही ११ वर्ष कैद


राजविराज । १५ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नपा–६ का १७ वर्षीय किसुनदेव चौधरी र शम्भुनाथ नपा–५ का १८ वर्षीय दीपेन्द्र मण्डललाई अदालतले आइतबार जनही ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश लोकजंग शाहको इजलाशले आरोपितहरुलाई ११ वर्ष कैद सजायको फैसला गर्नुका साथै जनही १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

दुवै आरोपितका विरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७४ जेठ १४ गते साुमहिक बलात्कारको उजुरी दिएकी बालिकाले जिल्ला अदालतमा प्रेमी किसुनदेवको पक्षमा बयान परिवर्तन गर्दै दीपेन्द्रले मात्र बलात्कार गरेको बताएकी थिइन् । प्रेमीको पक्षमा पीडित होस्टाइल भएपनि अदालतले दुवै आरोपितलाई जनही ११ वर्ष कैद र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

शम्भुनाथ मन्दिरमा लाग्ने एकमहिने मेलाबाट ०७४ जेठ १३ गते फर्किरहेकी बालिकालाई एक्लो पारी आरोपितहरुले शम्भुनाथ नपा–५ मोहनपुरस्थित विद्यालयनजिक पोखरीको डिलमा लगेर बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् । पीडितको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा ०७४ जेठ १४ गते स्वास्थ्य परिक्षण गरिएको थियो । प्रहरीले आरोपितहरुलाई ०७४ जेठ १४ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतको आदेशमा आरोपित चौधरी ०७४ असार ५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् भने मण्डल ३० हजार धरौटीमा तारेखमा रिहा भएका थिए ।