इंग्ल्यान्डको युवा टिम ट्युनिसियामाथि हाबी

इंग्ल्यान्डको युवा टिम ट्युनिसियामाथि हाबी


फिफा विश्वकप फुटबल ‘समूह ‘जी’ अन्तर्गत इंग्ल्यान्ड र ट्युनिसियाबीच दोस्रो खेल भएको थियो । उक्त खेलमा इंग्ल्यान्डले ट्युनिसियालाई २–१ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । लिग चरणको पहिलो खेलमा राम्रो शुरुवात गरेको इंग्ल्यान्डलाई विश्वकप २०१८ को दाबेदारको रूपमा हेरिएको छैन । यसअघिका विश्वकपमा जहिले पनि इंग्ल्यान्डलाई विश्वकपको दाबेदारको रूपमा हेरिन्थ्यो ।

युुवा खेलाडीका साथ मैदानमा उत्रिएको इंग्ल्यान्डले ११औँ मिनेटमा गोल गरेर अग्रता लिएको थियो । उक्त गोल इंग्ल्यान्डका कप्तान तथा स्ट्राइकर हेरी केनले गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा ३३औँ मिनेटमा ट्युनिसियाले पेनाल्टी प्राप्त गरेको थियो । सोही पेनाल्टीको सदुपयोग गर्दै ३५औँ मिनेटमा फरजानी सासीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । यसरी पहिलो हाप बराबरीमा टुङ्गिएको थियो ।

दोस्रो हाफको निर्धारित समयमा दुवै टिमले विजयी गोल गर्ने प्रयास गरे पनि असफल भएका थिए । त्यसपछि थपिएको इन्जुरी समयमा पुनः इंग्ल्यान्डका कप्तान हेरी केनले गोल गर्दै आफ्नो टिमलाई विजयी बनाएका थिए । केनले इंग्ल्यान्डले प्राप्त गरेको कर्नर किकको सदुपयोग गर्दै हेडद्वारा उत्कृष्ट गोल गरेका थिए । खेल बराबरीमा सकिने प्रायः निश्चित भएको अवस्थामा केनले चमत्कारी रूपमा गोल गर्दै इंग्ल्यान्डको खातामा ३ अंक लेखाएका थिए ।

खेल शुभारम्भ हुनु पहिले ट्युनिसिया विजयी हुने अनुमान लगाइएको थियो । इंग्ल्यान्डको युवा टिममाथि ट्युनिसिया हावी हुने फुटबल विशेषज्ञहरूले धारणा राखेका थिए । सोहीअनुरूप ट्युनिसियाले प्रदर्शन गरे पनि इंग्ल्यान्डले कडा टक्कर दिँदै विजय आफ्नो नाममा लेखाएको थियो । यो विजयसँगै बेल्जियम र इंग्ल्यान्ड शीर्ष स्थानमा रहेका छन् ।