– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
गत चैतमा एक बुधबारे साप्ताहिकमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र हिटलरको कुण्डलीमा समानता रहेको लेख प्रकाशित भएको पढ्न पाइयो । लेखकले आफ्ना विचार राख्ने अधिकार भए पनि ज्योतिर्विज्ञानबारेको धारणा व्यक्तिगत अधिकारसित त्यति सम्बन्ध राख्दैन । नितान्त भिन्न देश, भिन्न संस्कार र भिन्न परिवेशका यी दुई व्यक्तित्वबारे उस्तै शक्ति वा उस्तै विचार प्रवाह हुन सक्छ भन्ने देखाउन खोजिएको रहेछ । राम, बुद्ध, कृष्णका कुण्डलीमा जुन–जुन ग्रह जहाँ बसेका थिए, त्यहीँ–त्यहीँ अरूको कुण्डलीमा बस्दैमा ऊ राम, बुद्ध वा कृष्ण हुन सत्तैmन । यसमा युग वा समय कारक हुने हुँदा लेखकको तर्क विज्ञानसम्मत ठहर्दैन । लेखकले लग्नलाई लिएर जुन तर्क राखेका छन्, त्यो ज्योतिर्विज्ञानको अध्ययन गर्ने व्यक्तिले विश्वास गर्न मिल्दैन ।
हरेक व्यक्तिको भावी गुण जाहेर गर्ने नवमांश कुण्डली हो । लग्न भनेको शरीराकृति मात्र हो । तुला लग्नको अर्थ शुक्रको लग्न हो, यसले व्यक्तिलाई पातलो अग्लो बनाउन सक्छ । तर, नवमांशमा शुक्र शनि, मंगल या सूर्यको राशिमा रहेछ भने उुसको अग्लाइ नहुन पनि सक्छ । लग्नका हिसाबले पनि यी दुवै कुण्डलीको सप्तम भावबाहेक अरू कुनै भाव र ग्रहको समानता पाइँदैन । श्री रेग्मीको मकर राशि भएर चौथोमा निच वृहस्पति, सिंहको भएर एकादश वक्री शनि बसेका छन् भने हिटलरको कुण्डलीमा चन्द्रमा धनु राशिको भएर केतु र वृहस्पतिसहित तृतीय, नवौँमा राहु र दशममा कर्कटको भएर मार्गी शनि बसेका छन् । शनि वक्री हुने नरम र मार्गी हुने कडा मिजासका हुन्छन् । लग्न बनाउने सूर्य र राशि बनाउने चन्द्रमा भएकाले जब दुईजनाको राशि नै अलग भएको तथा हिटलरको वृहस्पति बलियो र रेग्मीको कमजोर भएकाले एउटै योग नबनेको प्रस्टै देखिन्छ । चन्द्र, गुरु सम्बन्धलाई गजकेसरी योग भनिन्छ, जो प्रबल राजयोग सिद्ध मानिन्छ । हिटलरको तुलनामा रेग्मीको राजयोग नितान्त कमजोर र दीर्घकालीन पदासीन हुन नसक्ने देखिन्छ ।
नवमांशमा हिटलरको धनु र रेग्मीको मीन रहेको छ । राशि र नवमांश एउटै भए सबल शरीर हुनेछ । हिटलरको राशि र नवमांश एउटै भएकाले शरीर र मन धेरै बलियो भएको देखिन्छ । रेग्मीको तुला लग्न, मकर राशि र मीन नवमांश रहेकाले शरीर र मन अस्थिर तथा दुर्बल बनाउँछ । हिटलरको कुण्डलीमा शनिले सूर्यलाई पूर्ण दृष्टिले हेरेको छ, जसले उनलाई कट्टर राष्ट्रवादी बनाएको छ भने रेग्मीको शनिले लग्नमा देखेकाले कुनै पनि कार्यमा सफलता दिन नसक्ने देखिन्छ । दशमस्थान भनेको कर्म या राज्य स्थान हो । त्यहाँ शनि वा मंगल बसे स्वत: बलि हुन्छन् । हिटलरको चाहिँ शनि र मंगलको परस्पर सम्बन्ध सूर्य, बुध र बक्री शुक्रसाथ भएकाले शरीरसमेत असमयमै समाप्त बनाएको देखिन्छ । रेग्मीको शनिले पपुलर बनाउँछ भने हिटलरको अलोकप्रिय । राजनीतिमा शनि, सूर्य र मंगल बलि भएनन् भने काम लाग्दैन । फेरि हिटलरको पतन सन् १९२० पछि मंगल महादशाको बेला र खिलराजको उत्थान शनि महादशाको समयमा भएको देखिन्छ । जन्मकालमा शुक्र वक्री भएमा शीघ्र उन्नति गराएर चाँडै पतन पनि गराउँछ । शेरबहादुर देउवाको कुण्डलीमा यस्तो योग छ । तर, रेग्मीको शुक्र अत्यन्त सबल रहेको छ भने हिटलरको शुक्र वक्री छ । शुक्र ग्रहलाई मन्त्रीको रूपमा हेरिन्छ । सूर्य, मंगल दुवैको उच्च र स्वगृही छन् । रेग्मीको वृहस्पति अत्यन्त कमजोर रहेकाले यो पद एक वर्ष पनि टिक्दैन । हिटलर लामो समय राष्ट्रपति भएका थिए । सप्तममा बुध र शुक्र बलि हुँदैनन् । तसर्थ, दुवैलाई एउटै कोटिमा राख्नु उचित देखिँदैन । माओत्सेतुङ र महात्मा गान्धी दुवैको सिंह राशि भए पनि गान्धीको भन्दा माओको वृहस्पति र शनि बलियो रहेको छ । स्टालिनको सूर्य र चन्द्रमा बलि छन् । गान्धीको रुद्र योग, माक्र्सको राजराजेश्वर र हिटलरको भेरी योग बनेका छन् । तर, खिलराजको यस्तो योगै पर्दैन । कुण्डलीमा समानता पाउन एकै दिन र एकै समयमा जन्मनुपर्छ । त्यसरी जन्मँदैमा पनि पारिवारिक अवस्थिति, देश, काल र समयका कारण समान पद वा दायित्व प्राप्त हुन सक्दैन । हिटलरकै युगमा जन्मेका भए पनि रेग्मी हिटलर बन्न सक्ने कुनै आधार देखिँदैन ।
पत्रिकामा लेख छपाउनुपूर्व लेखक महोदयले ज्योतिषमा राजयोगबारे पढेको भए राम्रो हुन्थ्यो । डा. नारायणदत्त श्रीमालीको योग चन्द्रिका वा योग दीपिकामा राजयोगबारे राम्रो वर्णन गरिएको छ । अब हिटलर पराजित नेता हुन् भने रेग्मी कर्मचारीबाट आएका व्यक्ति हुन् । तैपनि रेग्मीले राजीनामा नै गर्ने सम्भावना प्रबल छ । उनले चुनाव गराउन किमार्थ पनि सक्दैनन् । शनिले लग्नमा देख्नुको अर्थ हो उनका सहयोगी गतिला हुने छैनन् । अरूको सल्लाह मान्न रेग्मीलाई गाह्रो पर्नेछ । उनलाई कर्मचारीतन्त्रले टेरपुच्छर लाउने छैन । उनीमा लोकप्रियताको लालसा बढी देखापर्नेछ । पदमा रहेपछि कतिपय अलोकप्रिय काम पनि गर्नुपर्छ । तर, त्यही कुराबाट डराएर रेग्मीले राजीनामा गर्नेछन् । आउने असारदेखि नै उनलाई हटाउने खेल सुरु हुनेछ । उनलाई असार, साउन, कात्तिक र पुस महिना अनिष्टदायक हुनेछन् । वास्तवमा उनी माघमा पदासीन भएका भए आफ्नो मिसनमा सफल पनि हुन्थे । तर, चैत १ गते नियुक्त भएका जो मकर राशिका लागि अकारक महिना पनि भएकाले उनीबाट चुनाव सम्पन्न हुने छैन र भएमा त्यो काम पनि लाग्ने छैन । ज्योतिष पढेको मानिसको सल्लाह लिन सकेको भए उनीबाट राज्यले ठूलो उपलब्धि लिन सक्थ्यो । कतिपय ठूला योगमा जन्मेका व्यक्तिले पनि दम्भ राखेको हुँदा पद गुमाउनुपरेका थुप्रै घटना छन् । प्रचण्ड, माधव नेपाल, ज्ञानेन्द्र पनि त्यही श्रेणीका व्यक्ति हुन् । जसले पदासीन भएर राज्यलाई केही दिन सक्थे । ज्योतिषमा साइतको ठूलो महत्व छ । साइत भनेको समय हो । राम्रो साइतमा राम्रो काम गरियो भने परिणाम पनि राम्रै आउँछ, पद मात्रै हेर्ने गरियो भने २/४ महिनाका लागि मात्र हुनेछ । प्रत्येक महत्वपूर्ण काममा साइत हेराएर गर्ने हो भने सफल नहुने कुरै छैन । आशा गरौँ, मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले यो कुरालाई मनन गर्नुहुनेछ ।
प्रतिक्रिया