-बद्रीप्रसाद दाहाल
यतिखेर नेपाली रत्नाकरहरू वाल्मीकि बन्ने अभियानमा न्वारानदेखिको बल झिकेर लागेका छन् । जनता–जनार्दनको आँखामा फुलो पारेर सत्ताको कुलो सोझ्याई आपूm र आफ्ना
ज्ञातिजनको चुलो बाल्न राष्ट्रढुकुटीलाई दुलो पार्ने ठूलो कसरत नै उनीहरूको रणनीति छ । वाल्मीकिबारे एउटा सुनेको मिथक यस प्रकारको छ, ‘यिनी ब्राह्मणको कुलमा जन्मिएर पनि डाँकुहरूको सङ्गतमा लागेर यात्रुहरूलाई लुट्ने, कुट्ने र उस्तै प-यो भने मार्नेसमेत गर्दथे । हिंसा नै उनको स्वभाव भइसकेको थियो । एकदिनको कुरा हो– सप्तर्षिहरू त्यही बाटो हुँदै गइरहेका थिए, अनि वाल्मीकिले स्वभावअनुसार आफ्नो काम गर्न आँटेपछि सबै ऋषिहरू मिलेर उनलाई समाते । दयामय ऋषिहरूले आपूmले गरेका दुष्कर्मको फल आफँैलाई आइलाग्छ भनेर रत्नाकरलाई भने । तिनै ऋषिहरूको दयाबाट रत्नाकरमा आसुरी भाव समाप्त भएर सात्विक भाव पैदा हुन थाल्यो । आपूmले गरेको दुष्कर्म परिवारका अन्य सदस्यको भागमा नजाने ज्ञात भयो उनलाई । अनि ऋषिहरूले दिएको ‘मरा’ भन्ने मन्त्र अविरल जप्न थाले । यो मन्त्र जप्दाजप्दै उनको शरीरमा धमिराले गुँड लगाएछ । उनी त माटोले ढाकिएर नदेख्ने बन्दा पनि तपस्यामै लीन भएको देखेर भगवान् ब्रह्मालाई दया जागेछ । अनि ब्रह्माले पूर्वहत्यारा डाँका रत्नाकरलाई आदिकवि भएस् भन्ने ठूलो वरदान दिएपछि ‘वल्मीकि’ अर्थात् धमिराको माटे ढिस्कोबाट पुन: जन्मिएकैले उनको नाम वाल्मीकि रहन गएको अरे । यसरी सप्तर्षिको ‘मरा’ अर्थात् सुल्टोमा ‘राम’ भन्ने मन्त्रबलले उनको पूर्वदुष्कृत्य लोकजनमाझ छायामा पर्न गएको थियो । जसबाट उनले रामायणजस्तो उपजीव्य ग्रन्थ लेख्न सफल भए ।
हो, यही मिथकलाई माध्यम बनाएर हिजोका नेपाली रत्नाकरहरू आज वाल्मीकि बन्ने कसरतमा लागिरहेका छन् । आजभन्दा सात वर्षअघि सप्तऋषिका प्रतिमूर्ति नेपाली जनताले थुप्रै रत्नाकरका मित्रलाई आफ्ना पूर्वचरित्र सपार भनेर पवित्र मतदान दिई संविधानसभाभित्र पठाएका हुन् । तर ‘नानीदेखिको बानी’ बदलिन कठिनै हुँदोरै’छ । पानी एकछिन् ताते पनि पुन: उसको स्वभावअनुसार चिसो भएझैँ यिनीहरूको व्यहोरामा पनि टसको मस भएन । ‘बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्यो बाङ्गाको बाङ्गै, रातभरि करायो दक्षिणा हरायो’ भन्ने उखानलाई मान गरी संविधानसभालाई नै मारहानमा पारेर ‘चुच्चे ढुङ्गो उही टुङ्गो’मा पुगे । एक–आपसमा हिलो छेप्ने रत्नाकरेहरूको बथानले हाम्रा खेतबारीमा अन्नबाली सिध्याउन आउने पुर्खाकै झझल्को पो दिइरहेका छन् बज्रस्वाँठहरूले । बित्थामा परस्पर गाँड कोराकोर गरेर राज्यसत्तालाई नै थकित, गलित र रकमकलम मिलाउन खप्पीस पूर्वयुरोक्य्राटहरू पो ‘बाघको छालामा स्यालको दाइँ’ मामाको धनमा फुपूको श्राध्द गर्ने भाग्योदय चिठ्ठामा राज्यकोषमार्फत असार पन्ध्र मनाउन थाले । यतिखेर वेश्याहरू सतीगाथाको प्रवचन दिइरहेका छन् भने काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यमा चुर्लुम्महरू शङ्कराचार्य बनेर वेदान्ती प्रवचन छाँटिरहेका छन् । भ्रष्टाचारको रौरव कुण्डमा डुबेका हिजोका बासी कुपात्र आज सदाचारको शिक्षा बाँड्न कम्मर कसेर लागेको अपची दृश्य जनआँखामा ठुङ मार्न आइपुगेका छन् । एक नम्बरका कुँडा–कर्कट भइसकेका फुँडा र डुँडा यतिखेर ठीक–बेठीकको तराजु उचाल्नेमा दरिँदा कुन विवेकीको मुटु कुटुकुटु खाँदैन र ?
भन्छन्, ‘नङ्ग्रा लगाएर हात्ती बाघ हुँदैन, दाह्रा लगाएर बाघ हात्ती हुँदैन’ । यतिखेर यही भनाइविरुद्ध प्रभुकृपावालाहरू मुड्की बजारेर नाचिरहेका छन् । अनि शोषित, उत्पीडित र उपेक्षित नेपालआमाका वास्तविक सन्तति हितोपदेशको यो श्लोक सम्झदै छन्, ‘दुर्जनम् प्रथमं बन्देत्, सज्जनं तदनन्तरम् । मुखप्रक्षालनं पूर्वं गुदप्रक्षालनं यथा ।।’ मतलब– जसरी मुख धुनुभन्दा अगाडि गुदद्वारको धुलाइ अनिवार्य हुन्छ, त्यसै गरी नराम्रा दुष्ट मान्छेलाई पहिला वन्दना वा नमस्कार गर्नुपर्छ अनि पछि मात्र असल वा सत्जनलाई अभिवादन गर्नु श्रेयस्कर हुन्छ । अहिले यही शिक्षा आमजनतामा बाँडिरहेका छन् वाल्मीकिको अभिनय गर्दै कलियुगे रत्नाकरहरूले । जनताजनार्दन हुन् । ‘अति गर्नु अतिसार नगर्नू’ भन्ने उखानको बखान त्यसै भएन । अत: रत्नाकरको अभिनयको नैटङ्कीमा सामेलहरू भर नपरी देवासुर सङ्ग्रामरूपी चुनावी माहोलमा कठपुतलीको नकाबलाई थुतेर फाल्नैपर्छ । दलीय झन्डामा ओत लागेर आउन सक्ने आतापी र वातापीलाई चिन्नैपर्छ । वाल्मीकि बन्ने नटखटमा नखरा गर्नेसित होसियार !
प्रतिक्रिया