आगामी जेठ २३ त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा ‘स्वतन्त्र विद्यार्थी युनियन’को निर्वाचन हुँदै छ । विद्यार्थी सङ्गठनहरू निर्वाचनको प्रचार–प्रसारमा छन् । दुई वर्षको अन्तरमा हुनुपर्ने निर्वाचन झन्डै पाँच वर्षपछि हुन लागेकाले यसपालि यो निर्वाचनका प्रति विद्यार्थीको विशेष चासो र उत्साह पनि छ । अझ कतिपय राजनीतिक दलले यही निर्वाचनले आगामी संविधानसभा निर्वाचनको परिणामको समेत सङ्केत गर्ने भएकाले जसरी पनि निर्वाचन जित्नका लागि बल लगाउन सुझाएपछि त विद्यार्थी ‘जसरी पनि निर्वाचन जित्न’ सबै किसिमका हथकण्डा प्रयोग गरिरहेका छन् । यस क्रममा नयाँ शैक्षिक सत्रका लागि भर्नाको अन्तिम दिन जेठ ३ गते सकेसम्म धेरै भर्ना गर्ने होड चल्यो । यस दिन राजधानीका विभिन्न कलेजमा भर्नाको रमिता देखियो ।
नेपालमा विद्यार्थी आन्दोलनको इतिहास नेपालको प्रजातान्त्रिक आन्दोलन जत्तिकै पुरानो छ र यसले मुलुकमा पटकपटक भएका राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दा फरक पर्दैन । तर, यो परिपक्व भने हुन सकेको छैन । नेपालको राजनीति जुन खालको अन्योलबाट गुज्रेको छ त्यही स्थिति विद्यार्थी आन्दोलनको पनि छ । अनावश्यक र झिनामसिना बहाना र निहुँमा पठनपाठनमा अवरोध सिर्जना गर्ने, विद्यार्थी हकहितभन्दा राजनीति गर्ने र पवित्र शैक्षिक स्थललाई मुठभेडको थलोमा परिणत गर्ने, गुरुवर्गको सम्मान र शिक्षालयको पवित्रताको बेवास्ता गर्नेजस्ता कार्य गरिरहेका छन् जसलाई अत्यन्त दु:खद् मान्नुपर्छ ।
स्वतन्त्र विद्यार्थी युनियनको काम विद्यार्थीको हकहितमा आवाज उठाउनु, शैक्षिक वातावरण कायम राख्न सहयोग गर्नु, शिक्षाक्षेत्रमा विद्यमान कमी–कमजोरी सुधारमा दबाब दिनु तथा प्रभावकारी शैक्षिक प्रणाली स्थापित गर्न विश्वविद्यालय र क्याम्पस प्रशासनलाई सहयोग पु-याउनु हो । तर, हाम्रा विद्यार्थी युनियनहरू राजनीतिक अखडा बनेका छन् । विद्यार्थी हकहित र शैक्षिक क्षेत्रमा सुधारभन्दा उनीहरूको ध्यान क्याम्पसहरूमा हालीमुहाली मच्चाउनेतर्फ केन्द्रित हुने गरेको छ । निश्चय नै विद्यार्थी सचेत हुन्छन् तर हाम्रा विद्यार्थी सङ्गठनहरूले राजनीतिक इसारामा स–साना कुरामा पनि निहुँ झिक्ने र पठनपाठनमा अवरोध उत्पन्न गर्ने काम मात्र गरिरहेका छैनन् बरु शैक्षिक वातावरण बिगार्ने काम पनि गरिरहेका छन् । राजनीतिमा भाग लिन र सक्रिय हुन नचाहने विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्ने गरेका छन् । जसले निजी क्षेत्रका कलेजमा विद्यार्थीको सङ्ख्या बढेको छ र तिनको व्यापार फस्टाएको छ । यसरी विद्यार्थी नै शिक्षालाई व्यापारमा परिणत गर्न सहयोगी बनेका छन् जुन विडम्बनाको विषय हो ।
उच्च शिक्षा हासिल गर्दै गरेका विद्यार्थीले मुलुकको अवस्था र आवश्यकतालाई दृष्टिगत गरी सम्बन्धित पक्षहरूलाई सुझाव र दबाब दिनुपर्छ । विद्यार्थी नेता र विद्यार्थी सङ्घ–सङ्गठनहरूले विद्यार्थीको हित र शैक्षिक वातावरण निर्माणमा सहयोग गरी अनुशासित र मर्यादित जनशक्ति उत्पादनमा सहयोग गर्नुपर्छ । अझ राजनीतिक दलहरू गैरजिम्मेवार र अक्षम सावित भइरहेको अवस्थामा आफूलाई थप जिम्मेवार एवम् सक्रिय बनाउनुपर्छ । तर, विद्यार्थीबाट त्यसतर्फ प्रयास भएको छैन । यस्तै उनीहरू गुणस्तरीय र नियमित पठनपाठनका लागि लड्नुपर्नेमा सोविपरीत राजनीतिक दलका हतियार बन्ने तथा तिनकै इसारा र निर्देशनमा विद्यार्थीले नै क्याम्पसहरूलाई भिडन्तको थलो बनाउने, राजनीतिक दलका नारा बोकेर पठनपाठनमा अवरोध गर्ने र अन्तत: आफ्नै भविष्य बर्बाद गर्नेतर्फ उद्यत् हुनु दुर्भाग्यपूर्ण विषय हो ।
विद्यार्थी मुलुकका भविष्य हुन् । विद्यार्थीको काम शिक्षा हासिल गर्नु हो । सबै कुरा बुझेका विद्यार्थीले मुलुकको भविष्य उज्ज्वल बनाउन सक्छन् । यसैले आफ्नो बौद्धिक क्षमता तिखार्नु र भविष्यका लागि योग्य नागरिक बन्नु विद्यार्थीको लक्ष्य हुनुपर्छ । विद्यार्थीको ध्यान यसतर्फ गएन र राजनीतिक दलको भ्रातृ सङ्गठनको सदस्य बनी दलको इसारामा गतिविधि गर्ने काम भयो भने त्यसले विद्यार्थीको भविष्य त अन्धकार हुन्छ नै मुलुकको भविष्य पनि अन्योलमा पर्छ । यो विद्यार्थीले बुझ्नुपर्छ । विद्यार्थी सङ्गठनको राजनीतिमा लाग्नेहरूमध्ये कतिपय कहिल्यै विद्यार्थीभन्दा माथि नजाने पनि देखिएका छन् । राजनीतिकै लागि क्याम्पसमा भर्ना हुने, कहिले एउटा र कहिले अर्को सङ्काय, कलेज र कक्षामा भर्ना भई विद्यार्थी बनिरहने प्रवृत्ति पनि कतिपयमा देखिएको छ । यिनलाई त कसैले संरक्षण गरेको होला, उसैको नुनको सोझो गर्न यसो गरेका होलान्, भविष्य कसैले जिम्मा लिइदिएको होला । तर, जो साँच्चै विद्यार्थी हुन्, जसलाई अभिभावकले शिक्षा आर्जन गर्न र योग्य र सक्षम नागरिक बन्नका लागि दु:खजिलो गरेर उच्च शिक्षा हासिल गर्न पठाएका छन् तिनलाई पर्ने प्रभाव विद्यार्थी नेताहरूले बुझ्नुपर्छ ।
नेपालको हरेक राजनीतिक परिवर्तनमा युवा विद्यार्थीको महत्वपूर्ण भूमिका र योगदान रहेको छ । २००७ सालको क्रान्ति होस् वा २०६२/६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन नै युवा र विद्यार्थी वर्गको सक्रिय सहभागिताकै बलमा सफल भएका हुन् । यस सन्दर्भमा विद्यार्थी जो भविष्यका कर्णधार र भविष्यमा मुलुकको नेतृत्व गर्ने वर्ग हो त्यो अनुशासित, मर्यादित, सभ्य, शिष्ट र जिम्मेवार होस् भन्ने आमअपेक्षाप्रति विद्यार्थी नेताको ध्यान जानु जरुरी छ ।
युवा र विद्यार्थी मुलुकका भविष्य हुन् । अनुशासित, मर्यादित, जिम्मेवार एवम् संस्कारयुक्त युवा र विद्यार्थी मुलुकलाई सही दिशातर्फ डो-याउन सक्षम हुन्छन् भने अक्षम राजनीतिक नेतृत्वको अन्धभक्तका रूपमा तिनकै निर्देशन, नियन्त्रण र एकप्रकारले लाचार छायाकै रूपमा प्रस्तुत हुने युवा र विद्यार्थीको नेतृत्वले मुलुक र जनताका अपेक्षा पूरा गर्न सक्दैन । विद्यार्थी नेताले यो कुरा बुझ्नुपर्छ । विद्यार्थीमा अवश्य पनि राजनीतिक चेतना आवश्यक हुन्छ । तर, पूर्णकालीन कार्यकर्ताकै रूपमा शिक्षण संस्थामा राजनीति गर्ने, पठनपाठनमा अवरोध गर्ने र पढ्न चाहने विद्यार्थीलाई पढ्ने अवसरबाट वञ्चित गर्ने काम भने हुनुहुँदैन । अस्वस्थ प्रतिस्पर्धा र अराजक गतिविधिले कसैको हित गर्दैन, विद्यार्थीले यो कुरा बुझ्नैपर्छ । राजनीति गर्न चाहनेले राजनीति गरे पनि अध्ययन गर्न चाहनेको अधिकारप्रति पनि विद्यार्थी नेताहरू सचेत हुनुपर्छ ।
प्रतिक्रिया