– शिवजी श्रेष्ठ
एमाओवादी पार्टी प्रवेशको कार्यक्रममा अभिनेत्री रेखा थापाले राजेश हमालको ‘यो हात… सलाम हो… खै … केलाई फलाम हो’ भन्ने शैलीमा ‘लालसलाम’ गर्दै जब हात उठाउँदै थिइन्, मञ्चमै रहेका प्रचण्ड, बाबुराम भट्टराईहरू मुसुमुसु मुस्कुराइरहेका थिए । सो दृश्यले लगभग २३ वर्षअघिको एउटा मिल्दोजुल्दो दृश्यलाई सम्झाइदिएझैँ लाग्थ्यो– जब सिन्धुपाल्चोकमा पञ्चायतकालभरि अखण्ड बन्दुकका राजनीति गरेका बन्दुकेकाजी अर्थात् नेत्रविक्रम थापा त्यतिखेरको जल्दोबल्दो नेपाली काङ्गे्रस प्रवेशको कार्यक्रम हुँदै थियो । भनिन्छ, अन्तिम मौकामा कुरा नमिलेपछि त्यो कार्यक्रम असफलतामै सम्पन्न भएको थियो ।
अहिले नेकपा एमाओवादी प्रवेशका समाचारको लहर चलेको छ । अन्य पार्टीका नेता–नेतृदेखि चलचित्रका अभिनेत्रीसम्म हावामा मुठी उठाएर ‘रातो’ सलाम गर्दै प्रचण्डको हातबाट रातो रबिरले रङ्गिँदै पार्टी प्रवेश गरेका दृश्यले तिनै समाचारको पुन: स्मरण गराइदिएको छ । जब ०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो, ०४७ सालभरि र उप्रान्तसम्म भ्रातृ संस्था अर्थात् नेपाली काङ्गे्रस प्रवेशका समाचार रेडियो नेपालले सुनाइरह्यो । त्यतिखेर एउटा किस्सा चलेको थियो– समाचारमा भनिएअनुसार सङ्ख्या नेपालको जनसङ्ख्याभन्दा पनि बढी नेपाली काङ्गे्रसमा प्रवेश गरिसके । भनिन्छ पटक–पटक क्रान्ति र आन्दोलनको सफल नेतृत्व गर्दा पनि ‘नभुलिएको धार’ त्यही मातृसंस्था प्रवेशको व्यापकतासँगै भुत्तिन (बिग्रिन) थालेको हो । जसको परिणाम नेपाली काङ्गे्रसले तत्कालै भोग्न थाल्यो, जुन क्रम अहिलेसम्म यथावत् छ । नेपाली काङ्गे्रसका स्वर्गीय नेता बलबहादुर राईले ०४६ को सफल जनआन्दोलनपछि भन्नुहुन्थ्यो, ‘हामीले विकट परिस्थितिमा पनि पार्टीको हाड र छाला बचाएका छौँ, अब मासु भर्ने काम तिमीहरूको ।’ तर मासु यसरी भरियो कि, ‘राम्रो पनि, नराम्रो पनि’ जसरी आए पनि भर्ने काम भयो, जसले पार्टीको स्वरूप मात्र होइन सैद्धान्तिक सोच पनि बिगार्दै गयो ! भन्दै ।
अहिले नेकपा एमाओवादी पनि नेपाली काङ्गे्रसको त्यही ०४७ सालकै बाटोमा हिँडेको देखिन्छ, जहाँ लोकमानसिंह कार्कीदेखि उर्मिला अर्याल, रेखा थापा अनि सेना, प्रहरीका पूर्वउच्चाधिकारीहरू पनि अटाउँदै गए । यीमध्ये हिजो नेपाली काङ्गे्रसमा जस्तै कति राम्रा आए कति नराम्रा । एउटा भुल्न नसक्ने यथार्थ– राम्रा र नराम्रा (आस्थाका आधारमा) एकै ठाउँमा अटाउन अलि गाहै्र हुन्छ । राम्रा अटाउनका लागि नराम्राले ठाउँ पाउनुहुन्न, त्यसरी नै नराम्रा अटाउन राम्राले ठाउँ छाड्नुपर्ने हुँदोरहेछ । सायद त्यही भएर जब–जब मोतीप्रसाद पहाडी, शरत्सिंह भण्डारी, गोविन्द चौधरीहरू काङ्गे्रसमा प्रवेश गर्दै गए, दुर्गा सुवेदी, नगेन्द्र ढुङ्गेलहरू बाहिरिँदै गए । जब तिनीहरूले ०४६ अघिसम्म काङ्गे्रसमा आउनुपर्ने आवश्यकता देखेनन्, तबसम्म दुर्गा सुवेदीहरू काङ्गे्रसका प्राण थिए । तर, शरत्सिंह भण्डारीहरू काङ्गे्रसका लागि ‘त्रास’ थिए । काङ्गे्रसले टाउको गन्ने र धेरै टाउको बनाउने खेलमा यी यथार्थ बिर्सियो, जसरी अहिले एमाओवादीले बिर्सिरहेको छ ।
प्रत्येक टाउकोको मूल्य हुँदोरहेछ, जसको अनुभूति गिरिजाबाबुले आफ्नो जीवनको अन्त्यतिर गर्नुभएको थियो । आत्मकथाको एक प्रसङ्गमा गिरिजाबाबुले तत्कालीन राजा महेन्द्रसँगको प्रसङ्ग जोड्नुभएको छ । बीपी, गणेशमान सिंहलाई जेलबाट छुटाउने क्रममा भएको वार्ताको प्रसङ्गमा महेन्द्रले ‘हेर गिरिजा सबैको मूल्य हुन्छ, बाख्राको यति, भेडाको यति भने जसरी मान्छेको पनि मूल्य हुन्छ’ भनेर मातृकाप्रसाद काइरालाको यति, टंकप्रसाद आचार्यको यति भनी अन्य नेताको पनि मूल्य बताउँदै गए, तर एउटा मान्छेको मूल्य छैन, त्यो हो– बीपी कोइराला भन्दै उहाँको फोटो देखाएको प्रसङ्ग छ । आखिरी समयमा महसुस गर्नुभएको यस यथार्थलाई गिरिजाबाबुले ०४७ सालतिरै गरिदिनुभएको भए यसरी अवसर छोपेर भित्रिन खोजेकाहरूको टाउकोको मूल्य हुँदै पार्टीभित्र वा बाहिर यथास्थानमा राखिने थिए होलान्, तब नेपाली काङ्गे्रस अझ भनौँ देशकै यो हविगत हुने थिएन होला ।
सायद अब यो हविगतको अर्को पात्र बन्ने पालो एमाओवादीको होला, जहाँ अहिले बाहिरियाहरू भित्रिने क्रम चलेको छ, अनि जनयुद्धमा पार्टीको आदेशमा लडेकाहरू बाहिरिने क्रम पनि बढेको छ– सायद एमाओवादीका दुर्गा सुवेदीहरू । सबैभन्दा अचम्ममा चाहिँ यो पार्टी प्रवेश गर्नेहरूको एउटै तरिका देखिन्छ, जो आफू राजनीतिक रूपमा जन्मेका, हुर्केका, अनि त्यही पार्टीका आधारमा हैसियत बनाएकाहरू उनै पार्टीलाई सत्तोसराप गर्दै गरेका भेटिन्छन् । यहाँ एमाओवादी नेतृत्वले बुझ्नैपर्ने कुरा यी नवप्रवेशीहरू कुनै अवसरको आशामा दौडिएका हुन सक्छन् । एमाले पार्टीका सचिव शङ्कर पोखरेलको मनन गर्न योग्य कुरा– ‘यी नवप्रवेशीहरू आफ्नो पार्टीमा विवाद भएर होइन, अवसर हेरेर आएका हुन् ।’
यी मनभरि पुरानै पार्टीका आस्था बोकेर नयाँ पार्टीमा अवसरको खोजीमा आएका हुन्छन् । एकताका जब एमालेको अल्पमतको सरकार बन्यो हिजो नेपाली काङ्गे्रसलाई मातृसंस्था मान्दै प्रवेश गरेकाहरू बाहिरिँदै एमाले प्रवेश गर्ने क्रम सुरु भयो । डोल्पामा पञ्चायत व्यवस्थामा हुर्किएर काङ्गे्रसमा प्रवेश गरेका मोतीप्रसाद पहाडी फेरि एमाले भइदिए । अनि मनमोहन अधिकारी प्रधानमन्त्री थिए, सुनसरीको बबियामा पार्टी प्रवेशको कार्यक्रममा मनमोहनको हातबाट टीका लगाएर नेपाली काङ्गे्रस छाडी एमालेमा प्रवेश गरेका एकले भाषण दिए, भाषण टुङ्ग्याउँदै गर्दा अन्तमा ‘जय नेपाल’ भनिदिए । सभामा हाँसोको लहर चल्यो, ती कार्यकर्ताले जवाफ दिए, ‘भर्खर काङ्गे्रस छाडेको, धङधङी त बाँकी नै छ नि ।’ सायद ती पनि अवसरकै खोजीमा गए, पछि अवसर चहार्दै फर्किए पनि ।
जब एमाओवादी शान्तिप्रक्रियामा आए, संविधानसभामा सबैभन्दा ठूलो दल भए, जनतामा त्राससँगै एउटा आश पनि थियो– परिवर्तनको । तर, दुर्भाग्य तिनले देशलाई परिवर्तन होइन, आफैँलाई परिवर्तन गरिदिए– जहाँ लोकमानदेखि रेखा थापासम्म अटाउन सक्ने भए । सबै अट्नु राम्रो हो, तर बाहिरियालाई अटाउँदा पार्टीका लागि रगत दिएका भित्रियाहरू नअट्नुचाहिँ शुभसङ्केत होइन । प्रचण्डले मनन गर्नुपर्ने कुरा– यसरी नै प्रवेश गरेकाहरूबाट ऐतिहासिक नेपाली काङ्गे्रस पार्टीको धार भुत्तिँदै गयो र यो अवस्थामा आइपुग्यो । त्यो रोग तपार्इंको पार्टीमा नहोला भन्न सकिन्न । तपाईंको पार्टीमा एमाले नेतृ उर्मिला अर्याल प्रवेश गरेको कुरा तपार्इंकै पार्टीका महिला नेतृ शशि श्रेष्ठले थाहा पाइनन्, यो उनको प्रतिक्रिया तपाईंको पार्टीभित्र भोलि हुनसक्ने क्रिया–प्रतिक्रियाको सूचक हुनसक्छ । अर्को कुरा पार्टी प्रवेशको कार्यक्रममा तपाईंको बडी ल्याङ्ग्वेज र प्रस्टोक्तिले तपार्इंमा डगमगाएको आत्मविश्वास या खडेरीको सङ्केत गरेको छ । आफ्नै पार्टीमा प्रवेश गरेकी एक अभिनेत्रीसँग तिनको अघि नाच्नुलाई त ‘आफैँ होइन, बादल र किरणले भनेर नाचेको’ भन्न भ्याउनुभयो । त्यो दिन धेरै टाढा छैन, जब तिनै अभिनेत्रीलाई ‘मैले आफैँ पार्टी प्रवेश गराएको होइन बाबुराम र प्रकाशले भनेर गराएको हुँ’ भनेर भन्ने दिन । बिनाआत्मविश्वास गरेका निर्णयहरूको परिणाम प्रत्युत्पादक नै हुनसक्छ ।
कमरेड प्रचण्ड, तपार्इंका कार्यकर्ताले उठाएको एउटा प्रश्न– नवप्रवेशीहरूसँग पद विभाजनको मात्रै छलफल भएको छ, तर आस्था र सिद्धान्तका कुरा भएका छैनन् ! सुन्दा यो सामान्य लाग्ला, तर यो मननीय छ । कार्यकर्ताको ठम्याइलाई हल्का रूपमा नलिनुहोस् । मेरा एक मित्र सँगै कलेज पढेका थिए– बैतडीका गोपाल सिंह, उनी ०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात ओखलढुङ्गामा ०४७ वैशाखको काङ्गे्रसको पहिलो आमसभामा भाषण गर्दै ‘बैतडीमा एक सामन्त चन्द छन्, जो पञ्चायती किसान सङ्गठनका केन्द्रीय अध्यक्ष थिए, ती सामन्तका दिन अब गए’ भनेर भने । तर, भाषण सकेर उदयपुरको बाटो हुँदै काठमाडौं आइपुग्दा नपुग्दै नेपाली काङ्गे्रसको केन्द्रीय कार्यालय (त्यतिखेर बागबजार)मा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्षबाट चन्दले काङ्गे्रसपार्टी प्रवेश गरे । अनि मेरा ती नेविसंघका पुराना सदस्य मित्रले विरक्तिएर आफूलाई पार्टी राजनीतिबाटै अलग्याए । सायद, त्यसैको परिणाम नेपाली काङ्गे्रसले भोग्दै गयो, भोगिरहेको छ । प्रचण्डजी, यस्ता प्रवृत्तिबाट सिक्नुहोस् र आफूलाई बचाउनुहोस् । पद र अवसरको ‘ललिपप’ देखाएर आएकाहरू भोलि पद र अवसरको ‘ललिपप’सँगै बिलाएर जान्छन् ।
अनि, माओवादी कार्यकर्ताले पनि बुझ्नैपर्ने कुरा– नेपाली राजनीतिका शिखरपुरुष बीपी कोइरालाले भन्नुभएको थियो, ‘प्रजातन्त्र प्राप्तिपछि सुकिला लुगा लगाउनेहरूकै हालिमुहाली चल्नेछ र त्यसको विरुद्धमा कार्यकर्ताले पुन: एकपटक लड्नुपर्नेछ ।’
प्रतिक्रिया