विद्यार्थी राजनीति : हामी कता जाँदै छौँ ?

विद्यार्थी राजनीति : हामी कता जाँदै छौँ ?


nisedhनेपालको वर्तमान नेतृत्व देखेर हैरान भएकाहरूलाई यस्तो सकस यी पुराना पुस्ताका नेताहरू रहुन्जेल त हो, नयाँ पुस्ता राजनीतिमा आएपछि सबै ठीक हुन्छ भन्ने लागेको हुन सक्छ । विगत केही वर्षदेखि मुलुकको लथालिङ्ग अवस्थालाई हेर्दा यस्तो लाग्नु स्वाभाविक नै हो । तर, अहिले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर मुलुकका क्याम्पसमा जे–जस्ता गतिविधि भए र हुँदै छन् ती हेर्दा भविष्यको राजनीति पनि खासै गतिलो होला भनेर अपेक्षा गर्न सक्ने अवस्था भने देखिएको छैन । नेपालका अधिकांश राजनीतिकर्मीको राजनीति विद्यार्थी जीवनकालबाटै सुरु हुने गरेको छ । अहिले विभिन्न कलेजमा युनियनको चुनावको नाममा जे–जे भइरहेको छ त्यो पनि राजनीति नै हो या भनौँ भविष्यमा उच्च राजनीतिक नेतृत्वकै लागि हो । विद्यार्थी राजनीति अहिले मूलत: दुईवटा उद्देश्यबाट केन्द्रित भएर अगाडि बढेको देखिन्छ, एक–राजनीतिमा ‘करियर’को स्थापना र दोस्रोचाहिँ नेताहरूका लागि युवाशक्तिको प्रयोग । झट्ट हेर्दा विद्यार्थी विभिन्न राजनीतिक दलसँग सम्बद्ध रहेर राजनीतिमा सक्रिय छन् । तर, दलमा मात्रै सक्रिय नभई केन्द्रमा भएका दलहरूभित्रैको गुटबन्दी, फुट र मनमुटावसँगै विद्यार्थी पनि विभाजित छन् । सबै दलभित्र नेतापिच्छेका फरकफरक गुटबन्दीबाट विद्यार्थी मुक्त छैनन् । अहिलेको राजनीतिको चरम विकृतिलाई पन्छाउनका लागि नयाँ पुस्ताले केही न केही गर्ने अपेक्षा गरिएको थियो तर स्ववियु निर्वाचनका लागि रातारात यहाँ जे गरियो यसले भविष्यका बारेमा चिन्तित नेपालीलाई झनै निराश बनाइदिएको छ । यही जेठ २३ गते मुलुकका विभिन्न क्याम्पसमा हुने निर्वाचनका लागि जेठ ३ गतेसम्म भर्नाको अन्तिम मिति तोकिएको थियो । उक्त दिन मात्र नभएर राति १ बजेसम्म पनि रसिद काटेर राजधानीका विभिन्न क्याम्पसमा भर्ना लिइएको छ । विद्यार्थी भर्नाका लागि राजनीतिक दलहरूले पैसा जुटाएको र कुनै दलले पैसा जुटाउन ढिलो गरेका कारण भर्नामा ढिलाइ भएको कुरा सार्वजनिक भएको छ । चुनावका लागि विद्यार्थी भर्नाको प्रतिस्पर्धामा नेकपा माओवादी (दुवै) पक्षका क्रान्तिकारी विद्यार्थी अग्रपङ्क्तिमा पुग्न सफल भएका छन् । एमालेसम्बद्ध अनेरास्ववियु प्रतिस्पर्धामा दोस्रो भएको छ ।
सामान्यतया विद्यार्थी कलेजमा भर्ना हुने भनेको अध्ययनका लागि हो, तर धेरै कुरामा फरक तरिकाले अगाडि बढिरहेको हाम्रो मुलुक अब यो घटनापछि यस्तो देश बन्न पुग्दै छ जहाँ विद्यार्थी पढ्नका लागि नभएर चुनावमा भोट हाल्नका लागि क्याम्पसमा भर्ना हुन्छन् । रातारात विद्यार्थी खोजेर आफैँले पैसा जुटाएर राजनीतिक दलहरूले केवल भोटका लागि भर्ना गरेका विद्यार्थीले के पढ्लान्, के सिक्लान् र यो मुलुकका लागि भविष्यमा के गर्लान् अनुमान गर्न सकिन्छ । यसलाई विद्यार्थी राजनीतिका नाममा युवा जोस, जाँगरको दुरुपयोगभन्दा खासै फरक पर्दैन । अध्ययनका क्रममा नयाँनयाँ अनुसन्धान, खोज र सिर्जनामा व्यस्त बनाउनुपर्ने युवालाई विद्यार्थी–विद्यार्थीबीचका टकराव र झडपमा सामेल गराइनु आफैँमा नकारात्मक कार्य हो । एक–अर्कामा प्रतिस्पर्धा मात्रै हुनुलाई भविष्यका लागि बढ्दो आत्मविश्वास या नेतृत्वसँग जोडेर हेर्न सकिन्छ तर भोटै हाल्नका लागि र भोलि त्यस्तै परे लडभिड गर्नका लागि नै कसैलाई आफ्नो समूहमा सामेल गराइनछ भने त्यो दुरुपयोगबाहेक अरू केही होइन । विश्व समुदायमा समय अत्यन्त प्रतिस्पर्धी भइरहेको बेला हाम्रा युवा भोट हालेर कसैलाई जिताउनका लागि कलेज भर्ना भइरहेका छन्, यो हाम्रा लागि एउटा दु:खद वास्तविकता हो । राजनीतिप्रति वितृष्णा बढ्दै गएको बेला विद्यार्थी नेताहरूले सबैलाई मान्य हुने मूल्य–मान्यतासहितको राजनीति गर्न सक्नुपथ्र्यो । अहिले विद्यार्थी नेताहरूबाट सर्वसाधारणले गरेको अपेक्षा पनि त्यही नै थियो, तर उनीहरूले यो अवसरलाई सदुपयोग गरेर राजनीतिमा मूल्य स्थापित गर्नुभन्दा नेताहरूलाई पनि माथ गर्ने खालको कार्य गर्न सफल भए । अचम्म त के छ भने यत्तिका चलखेल हुँदा क्याम्पस प्रशासनले केही गर्न सकेन । जसका कारण त्रिभुवन विश्वविद्यालयले निर्वाचनका लागि तय गरेको आचारसंहिता कागजमा सीमित बन्न पुग्यो ।
जति समय अघि बढ्दै गयो उति नै कम गुणस्तरका नेता उत्पादन भइरहेका बेला नयाँ र फरक भिजन दिन सक्ने नेतृत्वको खाँचो यो मुलुकलाई छ । त्यसका लागि युवाहरूले राजनीतिलाई फरक ढङ्गले हेर्नु आवश्यक छ । गर्न खोजे नसकिने पनि केही छैन भन्ने कुराको उदाहरण केही दिन अघि कैलालीका कलेजका विद्यार्थीले जनाएको प्रतिबद्धता र उनीहरूले गरेको कार्यले पनि पुष्टि गरेको छ । सात वर्षअघि विद्यार्थी चुनावका बेला रगताम्मे बनेको कैलाली बहुमुखी क्याम्पसमा यसपटक विद्यार्थी भर्नाका क्रममा कुनै लफडा भएन । कारण, सबै विद्यार्थी नेताले सँगै बसेर आफ्नै प्रकारको आचारसंहिता निर्माण गरे र मूल्य–मान्यतासहितको प्रतिस्पर्धामा जानका लागि आफैँले आफ्नो नियम बनाए । संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमले आयोजना गरेको सहकार्यका लागि संवाद कार्यक्रममा कैलालीका विभिन्न क्याम्पसका विद्यार्थी नेताहरूले आफूहरू मूल्यसहितको राजनीतिमा अघि बढ्नका लागि मानसिक रूपले तयार रहेको बताए । अनेरास्ववियु, नेविसङ्घ, क्रान्तिकारीदेखि मधेसी विद्यार्थी फोरम हुँदै अग्रगामी विचार समूह र थरुहट विद्यार्थी युनियनसम्ममा आबद्ध युवा नेताहरूले अबको राजनीति शक्तिको आडमा नभई सिद्धान्तको आडमा अघि बढे मात्रै दिगो हुने बताए । चुनावमा प्रतिस्पर्धा हुनैपर्छ तर त्यो प्रतिस्पर्धा सिद्धान्तमा रहेर गरिने र कैलालीका विद्यार्थी नेताहरूले त्यसप्रकारको मूल्यमान्यता स्थापित गर्ने उनीहरूको भनाइ थियो । यदि नेताहरूले माथिबाट अनावश्यक दबाब दिएनन् भने कैलालीमा यसपटक हुने विद्यार्थी निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने देखिन्छ ।
प्लेटोले आदर्श राज्यको परिकल्पना गर्दै राजनीति गर्नेले विवाहसमेत गर्न नहुने बताएका थिए । विवाह गरे परिवार हुने र परिवार भए उच्च मूल्यमान्यताको राजनीतिलाई बाधा पुग्ने उनको ठम्याइ थियो । वास्तवमा राजनीति गर्ने कुरा त्यति सहज होइन, मुलुकको भविष्यसँग जोडिएको हुनाले राजनीतिलाई महान् कार्यका रूपमा लिइन्छ । तर, हामीकहाँ भने सबैभन्दा सहज र जे गरे पनि हुने कार्य नै राजनीति बन्न पुगेको छ । हामीकहाँ राजनीति मूल्य, मान्यता र सिद्धान्तमा अडिग रही मुलुकका लागि गरिने कार्य नभएर अफ्नो व्यक्तिगत र पार्टीगत स्वार्थ पूरा गर्नका लागि गरिने कार्य बनेको छ । जसका कारण राजनीति बद्नाम मात्र छैन, मुलुक नै प्रतिदिन धराशायी बन्दै गएको छ । यसलाई मर्यादित बनाउने अभिभारा युवाहरूमा छ । त्यसको जग विद्यार्थी राजनीतिदेखि नै सुरु हुने हुँदा कमसल नेता उत्पादन गर्ने कार्य बन्द गर्नका लागि युवाहरू सचेत हुन जरुरी छ ।