कर्णाली प्रदेशको पहिलो छुवाछूत मुक्त गाउँपालिका बन्यो बाँफीकोट

कर्णाली प्रदेशको पहिलो छुवाछूत मुक्त गाउँपालिका बन्यो बाँफीकोट


रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूतमुक्त स्थानीय तह घोषणा भएको छ ।

जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि मंगलबार औपचारिक कार्यक्रम गरेर बाँफीकोटलाई छुवाछूतमुक्त गाउँपालिका घोषणा गरिएको हो ।

बाँफीकोट गाउँपालिकामा ७० प्रतिशतभन्दा बढी छुवाछूतको अन्त्य भएपछि घोषणा गरिएको आयोजकले बताएका छन् । यहाँका सार्वजनिक धारा, मन्दिर, विद्यालय, स्वास्थ्यचौकीलगायतका सार्वजनिक स्थानमा कुनै पनि छुवाछूत नरहेको गाउँ कार्यपालिका सदस्य एवम् दलित अगुवा मनबहादुर बादीले बताए ।

यसका साथै गैरदलित र दलितबीच पनि वैवाहिक सम्बन्ध हुने गरेको र सबैका चुलो, घरआँगनमा पनि आवतजावत हुने गरेकाले सद्भावयुक्त गाउँपालिका घोषणा गरिएको बादीको भनाइ छ । मंगलबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावतले कर्णाली प्रदेशको पहिलो रूपमा बाँफीकोट गाउँपालिकालाई छुवाछूत तथा सद्भावयुक्त गाउँपालिका घोषणा गरेका हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै यसबाट अब कर्णाली प्रदेशमा अन्य स्थानीय तहले पनि सिको गर्नुपर्ने र जातकै नाममा हुने विभेदको अन्त्य गर्नुपर्ने बताए । समाजमा रहेका यस्ता कुसंस्कारको अन्त्यका लागि सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षता रहेको सो कार्यक्रममा प्रदेश सभा सदस्य रातो कामी, सीता नेपाली, गोपाल शर्मा, देवी ओलीको पनि सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति, रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा, उपप्रमुख इन्दिरा बिएम, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतको पनि सहभागिता रहेको थियो ।

रासस